१५ दिनमा सवा २६ अर्ब बजारबाट झिकिँदै

काठमाडौं, मंसिर १७
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्याधिक लगानी योग्य पुँजी (तरलता) थुप्रिएपछि आगामी १५ दिनभित्र चार चरणमा २६ अर्ब २५ करोड रुपैयाँ नगद आफूतिर तान्ने भएको छ। राष्ट्र बैंकले १९ अर्बको रिभर्स रिपोसहित ऋणपत्र जारी गरेर बढी भएको तरलता आफूतिर तान्न लागेको हो।
राष्ट्र बैंकले मंगलबार १९ अर्बको रिभर्स रिपो जारी गर्दै छ। अहिलेसम्मकै ठूलो रकमको रिभर्स रिपोको अवधि पनि सात दिनबाट बढाएर १४ दिन पुर्‍याइएको छ। राष्ट्र बैंकले सरकारका लागि सात अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण पनि उठाइ दिँदैछ। 
सरकारले चालु आर्थिक बर्ष ४४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। कात्तिक अन्तिममा सरकारले तीन अर्बको आन्तरिक ऋण उठाइसकेको छ। आन्तरिक ऋण उठाने तालिका अनुसार, राष्ट्र बैंकले आगामी १५ दिनभित्र ६ अर्बको विकास ऋणपत्र, एक अर्बको राष्ट्रिय बचतपत्र र २५ करोडको वैदेशिक रोजगार बचतपत्र निस्कासन गर्दैछ। 
…बजारमा अधिक तरलताको स्थिति रहेकाले एकैचोटी ठूलो परिमाणमा तरलता खिंच्न लागिएको हो,' राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले सोमबार नागरिकसँग भने, …यसबाट तरलता व्यवस्थापन हुन्छ र सरकाले पनि सस्तो दरमा नै ऋण पाउँछ।'
राष्ट्र बैंकले चालु आर्थिक बर्षमा ४५ अर्बको रिभर्स रिपो जारि गरेर अधिक तरलतालाई आफूतिर तानिसकेको छ। साथै साढे आठ अर्बको आउट राइट सेलमार्फत पनि तरलता तानिसकेको छ। 
सरकारले आन्तरिक रुपमा ऋण उठाउन टे्रजरी विलहरु राष्ट्र बैंकमार्फत जारी गर्छ। सरकारले जारी गरेका टे्रजरी विलमध्ये केही राष्ट्र बैंकले आफैसँग राख्छ। यस्तो टे्रजरी विल ब्याज दर तथा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले मौद्रिक औजारका रुपमा प्रयोग गर्छ। अहिले सरकार करिव ३३ अर्ब रुपैयाँ बचतमा छ। 
…नियमित तालिका अनुसार ऋणपत्र जारी गर्न लागिएको हो,' थापाले भने, …सरकार बचतमा रहेपनि चालु बर्षभित्र उठाउनु पर्ने ऋण अधिक तरलता भएका बेला उठाउँदा सस्तो ब्याजमै पाइने छ। यसले गर्दा सरकारले ब्याजको भार धेरै पर्दैन।'

राष्ट्र बैंकले बजारलाई ब्याज दर निर्धारण गर्न खुला गर्दै पुस ४ गते विकास ऋणपत्र जारी गर्दैछ। यो ऋणपत्र ४२० करोड रुपैयाँ प्रतिस्पर्धि र १८० करोड अप्रतिस्पर्धि सुचीमा राखेर विक्री गरिने छ। यो ऋणपत्रको अवधि सात बर्षको हुने छ।
अघिल्लो पटक जारि गरिएको तीन अर्बको विकास ऋणपत्रमा २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। यो ऋणपत्र अधिकतम ३.२५ प्रतिशतसम्मको ब्याज दरमा विक्री गरिएको थियो। यसअघि राष्ट्र बैंक आफैले ब्याज दर तोकेर ऋणपत्र विक्री गर्ने गरेको थियो। अघिल्लो पटकको ऋणपत्र ९ प्रतिशतमा विक्री गरिएको थियो। बजारलाई ब्याज दर खुला गरेर विक्री गर्दा सरकारले निकै कममा ऋण उठाउने अवशर पाएको थियो।
राष्ट्र बैंकले मंसिर २५ गते राष्ट्रिय बचत पत्र विक्री गर्ने योजना बनाएको छ। सर्वसाधारणमा छरिएको पुँजी संकलन गरेर विकास निर्माणमा लगाउने उद्देश्यले जारी गर्न लागिएको विकास ऋणपत्रको अवधि पाँच बर्षको हुने छ। यसमा सर्वसाधारणले ८ प्रतिशत ब्याज पाउने छन्।
सरकारले पुस १ गते वैदेशिक रोजगार बचतपत्र जारी गर्ने छ। विदेशमा रहेका नेपालीहरुलाई लगानीको अवशर दिएर विकास निर्माणमा सहभागी गराउने उद्देश्यले सरकारले तीन बर्षदेखि वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको छ। पाँच बर्ष अवधिको यो ऋणपत्रमा लगानीकर्ताले नौं प्रतिशत ब्याज पाउने छन्।
राष्ट्र बैंकका अनुसार गत सातासम्म बाणिज्य बैंकहरुसँग १० खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। निक्षेप संकलनको अनुपातमा ऋण भने लगानी हुन सकेको छैन। बैंकहरुले सात खर्ब ८८ अर्ब ऋण लगानी गरेका छन्। 

No comments:

Post a Comment

thanks for comment