निर्वाचनले भारु सजिलै पाउन थाल्यो

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १६
केही अघिसम्म अभाव भएको भारतीय मुद्रा (भारु) निर्वाचनका कारण नेपाली बजारमा सहज भएको छ। आवश्यक मात्रामा पाउनै छाडेको भारु अभावका कारण सीमावर्ती क्षेत्रमा १ सय ६५ रुपैयाँ माथिसम्म विक्री हुन थालेको थियो। संविधान सभाको निर्वाचनका कारण सर्वसुलभ उपलब्ध हुनुका साथै तोकिएको मूल्य (एक सय भारु बराबर १६० नेपाली रुपैयाँ) मा नै पाइन थालेको हो। 
…विगतको तुलनामा अहिले भारु सर्वसुलभ रुपमा पाउन थालेको छ, भारु सहज हुनुको मूख्य तीन कारण छन्,' राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक मिनवहादुर श्रेष्ठले आइतबार नागरिकसँग भने, …चुनावका कारण नेपाल–भारतको सीमा बन्द गरिएकाले खर्च नभएर आपुर्ति सहज भएको हो।' उनका अनुसार, निर्वाचनमा भाग लिन भारतमा रहेका नेपालीहरु पैसा बोकेर नेपाल फर्किएकाले भारु प्रशस्त भएको हो।
उनका अनुसार दोस्रो कारण चुनावताका सीमा बन्द गरिएकाले सीमावर्ति क्षेत्रका वासिन्दा किनमेलका लागि भारत जान नपाएकाले भारुको बचत भएको हो। तेस्रो कारण भने अवैध कारोबार हो। …सीमा भन्सारमा बस्ने सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिएका कारण सुन लगायतका बस्तुहरुको अवैध निर्यात भएको छ,' श्रेष्ठले भने, …सुनलगायतका बस्तुहरु भारत जाने र त्यसको बद्लामा भारु भित्रिएका कारण पनि आपुर्ति सहज भएको हो।'

श्रेष्ठले भारतबाट फर्किएका नेपालीले थोरै–थोरै भारु बोकेर ल्याए पनि सबैको जोड्दा त्यो बढी हुने जानकारी दिए। …ब्यापारमा पनि त्यही हो, भारतीय बजारमा सामान खरिद जान बन्द भएकाले त्यो सानो–सानो रकम नेपालमै बचत भएर बस्यो,' उनले भने। 
निर्वाचनको समयमा प्रहरीले अवैध भारुसहित केहीलाई पक्राउसमेत गरेको थियो। …सीमावर्ति क्षेत्र तथा केन्द्रमा समेत चुनाव खर्चका लागि ठूलै मात्रमा भारुको प्रयोग भएको सुचनाहरु पनि आएको थियो,' राष्ट्र बैंक स्रोतले भन्यो, …तर, यसको आधिकारिकता भने पुष्टी भइसकेको छैन।' बैंकर, व्यवसायीहरु पनि चुनावमा भारतीय मुद्रा राम्रै खर्च भएकाले बजारमा सहज आपुर्ति देखिएको बताउँछन्।
बजारमा भारु सहज देखिएपनि बैंकिङ प्रणालीमा भने यसको प्रभाव देखिँदैन। …बजारमा बढी भएको भारु बैंकसम्म आइपुगेको छैन,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले भने, …सम्पति सुद्धिकरणका कारणले पनि भारु बैंकसम्म आइनपुगेको हुन सक्छ।' उनले भुक्तानीका लागि भने भारुको समस्या नरहेको जानकारी दिए।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनका अनुसार बैंकमा भारुको माग कम रहेको जानकारी दिए। उनले पछिल्लो समय भारु अभाव हुन थालेका कारण बैंकहरुले नगदलाई भन्दा डेबिट कार्डहरुलाई प्राथमिकता दिन थालेपछि मागमा कमी आउन थालेको बताए। 
बैंकरका अनुसार, चुनावमा खर्च भएका भारुहरु स्रोत नखुल्ने भएकाले बैंकिङ प्रणालीसम्म नआइपुग्ने बताउँछन्। …बिना स्रोत बजारमा आएको भारु बैंकिङ प्रणालीमा आउन सक्दैन, बैंकले स्रोत खोज्छ' एक बैंकरले भने, …त्यही भएर बजारमा आपुर्ति सहज भएपनि बैंकमा भने पुरानो अवस्थामा सुधार नभएको हो।' 
मनि चेन्जर कम्पनीहरुका अनुसार, निर्वाचनपछि बजारमा एकाएक भारु थुप्रिएको छ। …विगतमा काउन्टरमा भारु माग्नेको भिड हुन्थ्यो, अहिले भारु बेच्ने आउनेको भिँड छ,' सटही काउन्टर व्यवसायी बाबुराम न्यौपानेले भने, …भारु फिर्ता गर्नेको भिड बढेका कारण कमिसन पनि घटेकोे छ।' उनका अनुसार, पहिले भारु लिन आउनेले एक लाख रुपैयाँ साट्दा चार हजारसम्म कमिसन दिन्थे, अहिले फिर्ता गर्दा चार सय रुपैयाँ मात्र कमिसन दिने गरेका छन्। 
रेमिटेन्स कम्पनीहरुका अनुसार, पछिल्लो समय भारुका रुपमा भित्रिने रेमिटेन्स बढेको छ। अघिल्लो बर्ष २५ अर्ब बराबरको भारु रेमिटेन्समार्फत भित्रिएकोमा यसपाली ४० अर्ब नेपाल आएको छ। …भारुको रेमिटेन्स् बढेको छ,' आइएमइका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भने। 



No comments:

Post a Comment

thanks for comment