दसैंमा ऋण लगानी १५ अर्ब बढ्यो, निक्षेप पाँच अर्बले घट्यो

काठमाडौं, कात्तिक ५
दसैंको अवधिभरी बाणिज्य बैंकहरुको कर्जा लगानी विस्तारमा सुधार आएको छ। बैंकहरुले दसैं सुरु भएसँगै कर्जा विस्तार १५ अर्बले बढाएका हुन्। निक्षेप संकलन पनि १९ अर्ब रुपैयाँले बढेको छ।
अघिल्लो बर्षको दसैंको तुलनामा भन्दा यसपाली कर्जा विस्तार निकै कम भएपछि नयाँ आर्थिक बर्ष सुरु भएयता भने दसैंकको एक महिनाको अवधिमा कर्जा बढेको हो। अघिल्लो बर्ष दसैंअघि कर्जा ४० अर्बले बढेको थियो। एक साता अघिको तुलनामा कर्जा चार अर्बले बढेको छ। यो अवधिमा निक्षेप भने पाँच अर्बले घटेको छ।
'विस्तारै कर्जा विस्तारमा सुधार देखिएको छ,' कमर्ज एन्ड ट्रष्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नागरिकसँग भने, …उपभोक्ता कर्जाको माग बढेर गएको छ। तर अघिल्लो बर्षजस्तो कर्जा भने गएको छैन।'
राष्ट्र बैंकका अनुसार ३१ बाणिज्य बैंकसँग निक्षेप १० खर्ब ४२ अर्ब रुपैयाँ संकलन भएको छ। अघिल्लो साता निक्षेप १० खर्ब ४७ अर्ब रुपैयाँ थियो। दसैंमा खर्च गर्नका लागि बचत रकम झिकिने भएकाले निक्षेप घटेको हो। यसैबेला पहिलो त्रैमासिक (साउनदेखि असोज मसान्तसम्म) को कर तिर्ने बेला भएकाले पनि निक्षेप घटेको हो। कर्जा लगानी सात खर्ब ७५ अर्ब पुगेको छ। अघिल्लो साता सात खर्ब ७१ अर्ब कर्जा लगानी भएको थियो। यो कर्जा लगानी दसैंअघि गएको हो।

बैंकरका अनुसार तिहार मुखैमा आइसकेकाले कर्जा लगानीमा अझ सुधार आउने देखिएको छ। उपभोक्ता तथा व्यापारिक कर्जाको माग विस्तारै बढ्दै गएको छ भने प्रतितपत्र (एलसी) पनि  खुल्न सुरु भएको छ। 
बैंकरले निक्षेप बढेर तरलता बढ्न थालेपछि धमाधम ब्याज दर घटाए पनि ऋण विस्तार हुन सकिरहेको थिएन। लगानी योग्य पुँजी अत्याधिक बढेपछि अधिकांस बाणिज्य बैंकहरुको कर्जाको ब्याज दर १० प्रतिशतभन्दा तल झारिसकेका छन्। बैंकहरुले पैसा तिरेर उठाएको निक्षेप लगानी हुन नसकेपछि बैंकहरुले खर्च घटाउन ऋणको ब्याज चार बर्षअघिकै हाराहारीमा झारेका हुन्। 
बैंकहरुले उपभोक्ता कर्जा, गाडी, घर तथा व्यक्तिगत कर्जाको ऋण घटाएका हुन्। यस वाहेक छोटो अवधिको व्यापारिक तथा व्यवसायिक कर्जाको ब्याज पनि घटाएका छन्। गत आर्थिक बर्षको अन्त्यदेखि नै कर्जा विस्तार खासै हुन नसकेर लगानी योग्य पुँजी वढी हुन थालेकाले बैंकलाई ब्याज दर घटाउन दवाव परेको हो।
'तरलता बढ्ने तर ऋणको माग नआउने भएपछि ब्याज दर घट्न थालेको हो,' भट्टराईले भने, …ब्याज दर चार बर्षअघि कै अवस्थामा आइपुगेको छ।' चार बर्षअघि बैंकको ब्याज दर ८/९ प्रतिशतको हाराहारीमा थियो। अहिले बैंकहरुले ९.९९ प्रतिशत तल ब्याजमा ऋण दिन थालेका छन्।
कतिपय बैंकले नियमित तालिका अनुसार ब्याज घटाएका छन् भने अधिकांसले दसैंतिहारलाई लक्षित गर्दै स्किम (विशेष योजना) मार्फत ऋण घटाउन थालेका हुन्। पुराना र ठूला बैंकले धमाधम ब्याज घटाउन थालेपछि नयाँ आएका बैंकहरुलाई प्रतिस्पर्धामा टिक्न ब्याज घटाउनु पर्ने बाध्यता भएको छ। प्रतिस्पर्धि हुनका लागि नयाँ र साना बैंकले पनि ब्याज दरमा उच्च कटौती गरेका छन्। 
तरलता अत्याधिक बढ्ने तर दसैंको मुखमा पनि ऋणको माग नआउने भएपछि बैंकहरुको पुँजी लागत बढ्न थालेको छ। वढ्दो पुँजी लागतलाई घटाउन ब्याज सस्तो बनाएर लगानी आकर्षित गर्न बैंकहरु प्रतिस्पर्धा गर्न थालेका हुन्। नेपाल राष्ट्र बैंकले बढ्दो तरलतालाई व्यवस्थापन रिभर्स रिपो र आउट राइट सेलसमेत गर्न थालेको छ। 
बैंकहरुबीच अन्तर बैंक सापटी एक प्रतिशतभन्दा निकै कममा कारोबार हुन थालेको नै चार महिना नाघिसकेको छ। रिभर्स रिपोको दर पनि एक प्रतिशतभन्दा कम छ। महँगोमा उठाएको निक्षेप सस्तोमा सरकारी ऋणपत्रमा लगानी गर्नु पर्ने भएपछि बैंकहरुले उपभोक्तालाई नै लक्षित गर्दै ब्याज दर १० प्रतिशत तल झारेका हुन्।
बैंकरका अनुसार, नेपाल राष्ट्र बैंकले कुल निक्षेपमध्ये ६० प्रतिशतभन्दा बढी संस्थागत निक्षेप लिन नपाइने ब्याज गरेका कारण पनि ब्याज दर घटेको हो। अहिले बैंकहरुले एक बर्षे मुद्दति निक्षेपमा सात प्रतिशतसम्म मात्र ब्याज दिइरहेका छन्। बचत खाताको ब्याज अझ तल छ।  

No comments:

Post a Comment

thanks for comment