निक्षेप बढेको बढै, ऋण लगानी भने ठप्पै

काठमाडौं, मंसिर १२
बाणिज्य बैंकहरुसँग सातामै सात अर्ब रुपैयाँ निक्षेप थपिए पनि ऋण लगानी भने ठप्पै भएको छ। निर्वाचनका कारणले बैंकहरुले ऋण लगानी गर्न नसकेका हुन्। दसैंको मुखमा पनि खासै बढ्न नसकेको कर्जा निर्वाचनका कारण ठप्पै भएको हो। 
नयाँ आर्थिक बर्ष सुरु भएपछि बाणिज्य बैंकहरुले ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेका छन्। तर ऋणको माग आउन नसकेका कारण कर्जा विस्तार सुस्त छ। लगानी योग्य पुँजी (तरलता) अत्याधिक बढेपनि ऋण लगानी भने जम्मा ३२ अर्ब रुपैयाँ मात्र भएको छ।
बैंकरले निक्षेप बढेर तरलता बढ्न थालेपछि धमाधम ब्याज दर घटाए पनि ऋण विस्तार गर्न सकेका छैनन्। 'अहिले ऋणको माग नै आएको छैन,' एक बैंकरले नागरिकसँग भने, …माग आएमा बैंकहरुलाई ऋण दिन कुनै समस्या छैन।'
राष्ट्र बैंकका अनुसार गत सातासम्म बाणिज्य बैंकहरुसँग निक्षेप १० खर्ब ६६ अर्ब पुगेको छ। अघिल्लो साता निक्षेप १० अर्ब ५९ अर्ब रुपैयाँ थियो। ऋण लगानी सात खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। दसैंको मुखमा बाहिरिएको निक्षेप प्रणालीमा फर्किन थालेकाका कारण पनि तरलता थप बृद्धि भएको हो। 

'चुनावअघि ऋणको माग आएको थिएन, अब चुनाव सकियो लगानी  वातावरण बनेमा ऋण बढ्न सक्छ,' ती बैंकरले भने, 'अहिले तरलता व्यवस्थापन गर्न बैंकहरुलाई सजिलो छैन।' बैंकरका अनुसार, योजना बनाएर बसेको व्यवसायीहरुले पनि निर्वाचन पर्खिएर बसेका कारण लगानीका लागि ऋणको माग गरेका थिएनन्। अब नयाँ सरकार बनेसँगसँगै लगानी बढ्न थाल्ने उनले जानकारी दिए। 
निर्वाचनका कारण सरकारले पनि विकास निर्माणमा गर्ने खर्च रोकेर राखेको छ। पछिल्लो तथ्यांक अनुसार, सरकारी खर्च करिव ७ प्रतिशतले मात्र बढेको छ। अघिल्लो बर्षको तुलनामा यो बृद्धि दर निकै कम हो। सरकारी खर्च नहुने र बैंक ऋणको माग पनि हुन छाडेका कारण यसले आर्थिक विकासलाई प्रभावित गर्छ। सरकारले चालु बर्ष ५.५ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य राखेको छ। 
लगानी योग्य पुँजी अत्याधिक बढेपछि अधिकांस बाणिज्य बैंकहरुको कर्जाको ब्याज दर १० प्रतिशतभन्दा तल झारेका छन्। बैंकहरुले पैसा तिरेर उठाएको निक्षेप लगानी हुन नसकेपछि बैंकहरुले खर्च घटाउन ऋणको ब्याज चार बर्षअघिकै हाराहारीमा झारेका हुन्। 
बैंकहरुले उपभोक्ता कर्जा, गाडी, घर तथा व्यक्तिगत कर्जाको ऋण घटाएका हुन्। यस वाहेक छोटो अवधिको व्यापारिक तथा व्यवसायिक कर्जाको ब्याज पनि घटाएका छन्। गत आर्थिक बर्षको अन्त्यदेखि नै कर्जा विस्तार खासै हुन नसकेर लगानी योग्य पुँजी वढी हुन थालेकाले बैंकलाई ब्याज दर घटाउन दवाव परेको हो।
तरलता अत्याधिक बढ्ने तर ऋणको माग नआउने भएपछि बैंकहरुको पुँजी लागत बढ्न थालेको छ। वढ्दो पुँजी लागतलाई घटाउन ब्याज सस्तो बनाएर लगानी आकर्षित गर्न बैंकहरु प्रतिस्पर्धा गर्न थालेका हुन्। नेपाल राष्ट्र बैंकले बढ्दो तरलतालाई व्यवस्थापन रिभर्स रिपो र आउट राइट सेलसमेत गरेको थियो।
बैंकहरुबीच अन्तर बैंक सापटी एक प्रतिशतभन्दा निकै कममा कारोबार हुन थालेको नै पाँच महिना नाघिसकेको छ। रिभर्स रिपोको दर पनि एक प्रतिशतभन्दा कम छ। महँगोमा उठाएको निक्षेप सस्तोमा सरकारी ऋणपत्रमा लगानी गर्नु पर्ने भएपछि बैंकहरुले उपभोक्तालाई नै लक्षित गर्दै ब्याज दर १० प्रतिशत तल झारेका हुन्।

No comments:

Post a Comment

thanks for comment