पाँच प्रतिशत स्प्रेड दर, ब्याज आम्दानी १४ अर्बले घट्ने

सुदर्शन सापकोटा
काठमाडौं, पुस १३ 
नेपाल राष्ट्र बैंकले तोकेको पाँच प्रतिशत स्प्रेड दर कार्यान्वयमा ल्याउँदा बाणिज्य बैंकहरुको कुल ब्याज आम्दानी करिव १४ अर्ब रुपैयाँले घट्ने देखिएको छ। अहिले बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड दर) ६.८९ प्रतिशत रहेको छ।
यसलाई पाँच प्रतिशतमा झार्दा बैंकहरुको ब्याज आम्दानीमा ठूलै रकमले घट्ने देखिएको हो। बैंकहरुले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार, कुल ऋण लगानी सात खर्ब ७६ अर्ब रुपैयाँ गरेका छन्। ऋण लगानीबाट २२ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेका छन्। स्प्रेड दर १.८९ प्रतिशत विन्दुले घटाउँदा आम्दानीमा उच्च कमी देखिएको हो।
'स्प्रेड घटाउनुको विकल्प नभएपछि बैंकहरुको आम्दानीमा ठूलै प्रभाव देखिने निस्चित छ,' एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले शनिबार नागरिकसँग भने, 'अहिलेको आम्दानीलाई पुर्ति गर्नलाई बैंकले केही बर्ष लगानी विस्तार गर्नु पर्ने हुन्छ।' बैंकरका अनुसार, अहिलेको आम्दानीलाई पुर्ति गर्नका लागि बैंकहरुले २ खर्ब ८० अर्ब रुपैयाँ लगानी विस्तार गर्नु पर्ने हुन्छ।
'करिव तीन खर्बको लगानी बढाउन बैंकहरुले राम्रै वातावरण पाए भने पनि चार बर्षभन्दा वढी समय लाग्छ,' ती बैंकरले भने, 'खर्च घटाउन राष्ट्र बैंकले भने पनि त्यो तत्काल सम्भव हुँदैन।' स्प्रेडका कारण पुराना र ठूला बैंकहरुलाई अझ समस्या पर्ने ती  बैंकरले बताए।

राष्ट्र बैंकले आगामी पुसबाट स्प्रेड दर पाँच प्रतिशतमा झार्नु पर्ने निर्देशन दिएपछि बैंकहरुमो घटाउनु पर्ने चुनौती थपिएको छ। राष्ट्र बैंकका अनुसार, बैंकहरुले औषत ४.८९ प्रतिशत ब्याजमा सर्बसाधारणसँग बचत संकलन गरिरहेका छन्। तर ऋणीलाई भने औषत ११.७८ प्रतिशत ब्याज दरमा लगानी गरिरहेका छन्। यो हिसावले बैंकहरुको स्प्रेड दर ६.८९ प्रतिशत हुन आउँछ। 
बैंकरहरुले बजार सिद्धान्त विपरित भन्दै स्प्रेड दर लागू गर्न नहुने भन्दै मूल्यांकन विधि सच्याउन पनि राष्ट्र बैंकसँग आग्रह गरिरहेका छन्। राष्ट्र बैंकले भने सञ्चालन खर्च घटाएर स्प्रेड सीमाभित्र ल्याउन भनिरहेको छ।
बैंकरका अनुसार, कर्मचारी तलव सुविधा मूल्य बृद्धिको अनुपातमा बढाउनु पर्ने, लोडसेडिङका कारण ऊर्जामा खर्च गर्नु पर्ने, स्टेशनरी तथा अन्य प्रशासनिक खर्च बर्षेनी बढ्ने भएकाले बैंकले खर्च घटाउने अवस्था छैन। …पाँच प्रतिशतको स्प्रेडमा चल्नु पर्ने भएपछि ग्रामिण भेगमा भएका शाखाहरुलाई अहिलेको अवस्था चलाउन सकिँदैन,' ती बैंकरले भने, …शाखा घटाउने बाहेक अन्य उपायबाट खर्च नियन्त्रण गर्न सक्ने अवस्था छैन।' स्प्रेड कै कारण बैंकहरुले खर्च नियन्त्रण गर्न नयाँ शाखा सञ्जाल विस्तार गर्न नसक्ने बैंकरहरु बताउँछन्। 
राष्ट्र बैंकले गत असोज २४ गते बजार सिद्धान्त विपरित निर्देशन जारी गर्दै स्प्रेड दर पाँच प्रतिशतभन्दा तल हुनु पर्ने निर्देशन दिएको थियो। राष्ट्र बैंकले स्थानीय मुद्रामा संकलित निक्षेप र ऋण बीचको ब्याज अन्तर पाँच प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्था गरेको हो। बैंकरले भने मूल्यांकन विधि सच्याउन लिखित आग्रह नै गरिसकेका छन्।
बैंकहरुले अहिले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ८० रुपैयाँ मात्र लगानी गर्न पाउँछन्। २० रुपैयाँ तरलताका लागि छुट्याउनु पर्छ, जुन ऋणका रुपमा लगानी गर्न पाइँदैन। …यो २० प्रतिशतलाई खर्च घटाउन दिने  व्यवस्था गरे बैंकहरुलाई स्प्रेड कार्यान्वयन गर्न सजिलो हुने थियो,' ती बैंकरले भने। 
बैंकरका अनुसार, सरकारी बैंकसहित पुराना बाणिज्य बैंक तथा स्थानीय बैंक र वित्तीय संस्थाहरुले दुर्गम स्थानमा पनि सेवा पुर्‍याइरहेका छन्। दुर्गममा गएका बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन खर्च भौगोलिक विकटताका कारणले पनि बढी हुन्छ। …त्यस्ता शाखाहरु पाँच प्रतिशत स्प्रेडमा टिक्न नसक्ने भएर बन्द गर्नु पर्ने अवस्था आउन सक्छ,' ती बैंकरले भने।
बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा कम दिने र कर्जामा वढी लिएको भन्दै जनगुनासो बढ्न थालेपछि राष्ट्र बैंकले यसलाई नियन्त्रण गर्न स्प्रेड दरको सीमा आफैले तोक्नु परेको जनाएको छ। राष्ट्र बैंकले केही वर्षअघि खुला बजार सिद्धान्त अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याज दर आफै तोक्न स्वतन्त्र छाडिदिएको थियो। 

No comments:

Post a Comment

thanks for comment