भारु बेच्दा मनिचेन्जरको बट्टादर बढ्यो

काठमाडौं, पुस २५ 
बजारमा भारतीय मुद्रा सहज हुन थालेपछि त्यसलाई सोझै औपचारिक प्रणालीमा ल्याउन नेपाल राष्ट्र बैंकले मनि चेन्जर कम्पनीहरुलाई सहुलियत दिएको छ। बाणिज्य बैंकहरुसँग मात्र सटही गर्दै आएका मनि चेन्जरहरुले बढी मूल्यमा राष्ट्र बैंकलाई नै बेच्न पाउने भएका हुन्।
लामो समयदेखि अभाव हुँदै आएको भारतीय मुद्रा (भारु) निर्वाचनको समयदेखि भने सहज हुन थालेको छ। निर्वाचनको अवधिमा नेपाल–भारतको सीमा बन्द गरिएकाले खर्च नभएर भारु आपुर्ति सहज भयो भने निर्वाचनमा भाग लिन भारतमा रहेका नेपालीहरु पैसा बोकेर नेपाल फर्किएकाले पनि भारु प्रशस्त भएको हो।
साथै चुनावताका सीमा बन्द गरिएकाले सीमावर्ति क्षेत्रका वासिन्दा किनमेलका लागि भारत जान नपाएकाले भारुको बचत भएको हो। सीमा भन्सारमा बस्ने सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिएका कारण सुन लगायतका बस्तुहरुको अवैध निर्यात भएको छ। सुनलगायतका बस्तुहरु भारत जाने र त्यसको बद्लामा भारु भित्रिएका कारण पनि आपुर्ति सहज भएको हो।
बजारमा प्रशस्त भारु हुन थालेपछि सोझै राष्ट्र बैंकले किन्न व्यवस्था गरिएको हो। अहिले मनि चेन्जरहरुले बाणिज्य बैंकहरुलाई प्रति एक सय भारु बराबर साढे सात पैसा बट्टदर पाउँथे। अबदेखि राष्ट्र बैंकमा सोझै बुझाए प्रति एक सय भारु बराबर १५ पैसा बट्टादर दिइने व्यवस्था मिलाइएको हो।

'बजारमा छरिएको भारु सोझै राष्ट्र बैंकको पहुँचमा आओस् भनेर मनि चेन्जरलाई बढी बट्टादर दिएर आकर्षित गर्न खोजिएको हो,' राष्ट्र बैंक विदेशी विनिमय व्यवस्था विभागका एक उच्च अधिकारीले बिहीबार नागरिकसँग भने, 'यो व्यवस्थापछि बढीभन्दा वढी भारु राष्ट्र बैंकको पहुँचभित्र आउने छ।'
केही अघिसम्म अभाव भएको भारतीय मुद्रा (भारु) निर्वाचनका कारण नेपाली बजारमा सहज भएको हो। आवश्यक मात्रामा पाउनै छाडेको भारु अभावका कारण सीमावर्ती क्षेत्रमा १ सय ६५ रुपैयाँ माथिसम्म विक्री हुन थालेको थियो। संविधान सभाको निर्वाचनका कारण सर्वसुलभ उपलब्ध हुनुका साथै तोकिएको मूल्य (एक सय भारु बराबर १६० नेपाली रुपैयाँ) मा नै पाइन थालेको छ। 
राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार, भारुको सञ्चिति १५.७ प्रतिशतले बढेर ८६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष भारुको सञ्चिचि ५.६ प्रतिशतले घटेको थियो। 
निर्वाचनको समयमा प्रहरीले अवैध भारुसहित केहीलाई पक्राउसमेत गरेको थियो। 'सीमावर्ति क्षेत्र तथा केन्द्रमा समेत चुनाव खर्चका लागि ठूलै मात्रमा भारुको प्रयोग भएको सुचनाहरु पनि आएको थियो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'तर, यसको आधिकारिकता भने पुष्टी भइसकेको छैन।' बैंकर, व्यवसायीहरु पनि चुनावमा भारतीय मुद्रा राम्रै खर्च भएकाले बजारमा सहज आपुर्ति देखिएको बताउँछन्।
बजारमा भारु सहज देखिएपनि बैंकिङ प्रणालीमा भने यसको प्रभाव त्यति धेरै देखिएको छैन। सटही बट्टादर कम भएकाले पनि मनि चेन्जरहरुले बाणिज्य बैंक नल्याइ सर्वसाधारणलाई केही महँगोमै भारु विक्री गर्दै आएका थिए। सीमावर्ति क्षेत्रमा एक सय भारु एक रुपैयाँसम्म बट्टादर राखेर सर्वसाधारणले विक्री गरिँदै आएको छ। राष्ट्र बैंकले निर्धारित मूल्यभन्दा बढीमा विक्री गर्न नपाइने व्यवस्थासँगै बट्टादर बढाएपछि प्रणालीमा भारु आउने जनाएको छ। 
बैंकरका अनुसार, चुनावमा खर्च भएका भारुहरु स्रोत नखुल्ने भएकाले बैंकिङ प्रणालीसम्म नआइपुग्ने बताउँछन्। 'बिना स्रोत बजारमा आएको भारु बैंकिङ प्रणालीमा आउन सक्दैन, बैंकले स्रोत खोज्छ' एक बैंकरले भने, 'त्यही भएर बजारमा आपुर्ति सहज भएपनि बैंकमा भने पुरानो अवस्थामा सुधार नभएको हो।' 
मनि चेन्जर कम्पनीहरुका अनुसार, विगतमा काउन्टरमा भारु माग्नेको भिड हुन्थ्यो, अहिले भारु बेच्ने आउनेको भिँड छ। रेमिटेन्स कम्पनीहरुका अनुसार, पछिल्लो समय भारुका रुपमा भित्रिने रेमिटेन्स बढेको छ। अघिल्लो बर्ष २५ अर्ब बराबरको भारु रेमिटेन्समार्फत भित्रिएकोमा यसपाली ४० अर्ब नेपाल आएको छ। 

No comments:

Post a Comment

thanks for comment