ब्याज अन्तर घटाउन बैंकलाई दवाव

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १७
सर्बसाधारणले बैंकमा गर्ने बचतको ब्याज दर दिनदिनै घट्दै गएपछि बचतमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड दर) पनि क्रमस साँघुरो बन्दै गएको छ। राष्ट्र बैंकले आगामी पुसबाट स्प्रेड दर पाँच प्रतिशतमा झार्नु पर्ने निर्देशन दिएपछि बैंकहरुमो घटाउनु पर्ने चुनौती थपिएको हो।
राष्ट्र बैंकका अनुसार, बैंकहरुले औषत ४.८९ प्रतिशत ब्याजमा सर्बसाधारणसँग बचत संकलन गरिरहेका छन्। तर ऋणीलाई भने औषत ११.७८ प्रतिशत ब्याज दरमा लगानी गरिरहेका छन्। यो हिसावले बैंकहरुको स्प्रेड दर ६.८९ प्रतिशत हुन आउँछ। पुँजी लागत र नाफा जोडेर निस्किने आधार दर पनि क्रमशः घट्दै गएको छ।
बैंकहरुले गत भदौमा ६.९४ प्रतिशत स्प्रेड राखेर लगानी गरेका थिए। बैंकहरुले निक्षेपमा औषत ५.०१ प्रतिशत ब्याज दिने गरेको र कर्जामा ११.९५ प्रतिशत ब्याज लिने गरेको राष्ट्र बैंकको मूल्यांकनले देखाएको थियो। भदौमा आधार दर ९.३५ पतिशत थियो भने असोजमा घटेर ९.२३ प्रतिशतमा आधार दर आएको छ। 
चालु बर्षको पहिलो महिना साउनमा स्प्रेड दर ७.०१ प्रतिशत थियो। बैंकहरुले औषत ५.१३ प्रतिशतमा निक्षेप संकलन गरेर कर्जा लगानी १२.१४ प्रतिशतमा गरेका थिए। राष्ट्र बैंकको मूल्यांकन अनुसार स्प्रेड दर पाँच प्रतिशत तल झार्दा बैंकहरुलाई धान्न कठिन हुने बताइ रहेपनि पछिल्लो तीन महिनामा भने सामान्य रुपमा भएपनि स्प्रेड घट्न थालेको छ।

बैंकरहरुले बजार सिद्धान्त विपरित भन्दै स्प्रेड दर लागू गर्न नहुने भन्दै मूल्यांकन विधि सच्याउन पनि राष्ट्र बैंकसँग आग्रह गरिरहेका छन्। राष्ट्र बैंकले भने सञ्चालन खर्च घटाएर स्प्रेड सीमाभित्र ल्याउन भनिरहेको छ।
…सञ्चालन खर्च बढी छ भने त्यसलाई घटाएर स्प्रेड दर तोकिएको सीमाभित्र ल्याउनु पर्छ,' राष्ट्र बैंकका गभर्नर युवराज खतिवाडले नागरिकसँग भने, …हाम्रो उद्देश्य पनि त्यही हो। स्प्रेड धेरै राखेर कुनै बैंक पनि दक्ष (इफिसेन्ट) हुन सक्दैन।' 
बैंकहरुले निक्षेपसँगै कर्जाको ब्याज घटाएका कारण स्प्रेड दर क्रमशः घटेको हो। स्प्रेड दर कम राख्दा सर्बसाधारणले कम दरमा ऋण पाउने सम्भावना रहन्छ। राष्ट्र बैंकले कम दरमा ब्याज पाउन भन्ने उद्देश्यले गत पुसबाट आधार दर पनि कार्यान्वयनमा ल्याएको थियो।
…समाजले पचाउने गरी ब्याज हुनु पर्छ भनेर बजार सिद्धान्त विपरित गएर स्प्रेड दर तोकिएको हो,' गभर्नरले भने, …स्प्रेडका कारणले बैंक धान्न सकिँदैन भनेर कसैले हिसाव निकालेर दिन्छ भने त्यसलाई पुनर्मूल्यांकन गर्न हमी तयार छौं।' उनले बैंकहरुलाई पटक पटक स्प्रेड दर कम गर्न मौखिम रुपमा भनिएपनि नघटेका कारण निर्देशन दिन वाध्य हुनु परेको जानकारी दिए।
राष्ट्र बैंकले गत असोज २४ गते बजार सिद्धान्त विपरित निर्देशन जारी गर्दै स्प्रेड दर पाँच प्रतिशतभन्दा तल हुनु पर्ने निर्देशन दिएको थियो। राष्ट्र बैंकको निर्देशन बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनाबाट कार्यान्वयनमा ल्याउनु पर्छ। राष्ट्र बैंकले स्थानीय मुद्रामा संकलित निक्षेप र ऋण बीचको ब्याज अन्तर पाँच प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्था गरेको हो।
बैंकरहरुले भने बैंकहरुको अन्य खर्च पनि ठूलो हुने तथा असल कर्जामा पनि १ प्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्ने भएकाले मूल्यांक विधि परिमार्जन गर्न आग्रह गरेका हुन्। बैंकहरुले राष्ट्र बैंकलाई मूल्यांकन विधि सच्याउन आग्रह गरिरहँदा आफ्नो सञ्चालन खर्च घटाउने उपाय पनि खोज्न थालेका छन्।
…ब्याज नियमित नभएका पुराना कर्जाको ब्याज घटाएर स्प्रेड दर कम गर्ने उपायतिर लागेका छौं,' एक बैंकरले भने, …उठ्न कठिन हुने ऋणको ब्याज पुरानै अवस्थामा राख्दा पनि स्प्रेड धेरै देखिएको हो।' ती बैंकरका अनुसार, समस्यामा भएका ऋणको ब्याज कम गर्दा स्प्रेड दर कम हुन्छ। …ऋण विग्रिदा एकातिर नोक्सानी व्यवस्थामा ठूलो रकम गइरहेको हुन्छ भने यसले स्प्रेड पनि वढाउँछ,' ती बैंकरले भने, …तत्काल केही स्प्रेड घटेपनि यसले लामो समय धान्न सक्दैन। मूल्यांक विधि सच्याउनुको विकल्प छैन।'
बैंकरका अनुसार, सरकारी बैंकसहित पुराना बाणिज्य बैंक तथा स्थानीय बैंक र वित्तीय संस्थाहरुले दुर्गम स्थानमा पनि सेवा पुर्‍याइरहेका छन्। दुर्गममा गएका बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन खर्च भौगोलिक विकटताका कारणले पनि बढी हुन्छ। …त्यस्ता शाखाहरु पाँच प्रतिशत स्प्रेडमा टिक्न नसक्ने भएर बन्द गर्नु पर्ने अवस्था आउन सक्छ,' ती बैंकरले भने।
बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा कम दिने र कर्जामा वढी लिएको भन्दै जनगुनासो बढ्न थालेपछि राष्ट्र बैंकले यसलाई नियन्त्रण गर्न स्प्रेड दरको सीमा आफैले तोक्नु परेको जनाएको छ। राष्ट्र बैंकले केही वर्षअघि खुला बजार सिद्धान्त अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याज दर आफै तोक्न स्वतन्त्र छाडिदिएको थियो। 

No comments:

Post a Comment

thanks for comment