सिभिल बैंकसँग एक्सिस र सिभिल मर्चेन्ट गाभिने

काठमाडौं, असोज २२ 
'क' वर्गको बाणिज्य बैंक सिभिल बैंक लिमिटेडले दुई वित्तीय संस्था आफूसँग गाभ्ने भएको छ। बैंकले एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्थालाई आफूसँग गाभ्ने भएको हो। 
तीन संस्था आपसमा गाभिनका लागि सोमबार साँझ सम्झौता भएको छ। सम्झौतापत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ, एक्सिस बैंकका अध्यक्ष विदुर धमला र सिभिल मर्चेन्टका सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन्। 
मर्जरपछि बैंकको नाम सिभिल बैंक लिमिटेड नै रहने छ। नयाँ बैंकको सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पनि सिभिल बैंककै हुने छन्। अहिले सिभिलको अध्यक्षमा तामाङ र प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन छन्। 
सिभिल बैंकसँग मर्जर हुँदा एक्सिस र सिभिल मर्चेन्टको प्रति सेयर मूल्यांकन ६९ रुपैयाँ गरिएको छ। सिभिल बैंकले गत आर्थिक बर्ष मात्र प्राथमिक सेयर निस्कासन गरेको थियो। सिभिलको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ छ। प्रति सेयर ६९ रुपैयाँको अनुपातमा मर्जर हुँदा नयाँ बैंकको चुक्ता पुँजी दुई अर्ब ६१ करोड रुपैयाँ पुग्ने छ। 
एक्सिस डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ७१ करोड ८१ ल्ााख र सिभिल मर्चेटको चुक्ता पुँजी १६ करोड ६५ लाख रुपैयाँ छ। सिभिल बैंकको मुख्य कार्यलयसहित २० शाखाहरु छन्। एक्सिसको १० वटा शाखा छ भने सिभिल मर्चेन्टको दुई वटा शाखा छन्। मर्जरपछि शाखा संख्या ३२ पुग्ने छ। मर्जरपछि ग्राहक संख्या करिव ७० हजारको हाराहारीमा पुग्ने छ।
बैंकले मर्जरपछि खाइपाइ आएको तलव नघट्ने गरी कर्मचारी समायोजन गर्ने नीति लिएको छ। सिभिलमा अहिले तीन सय, एक्सिसमा एक सय र सिभिल क्यापिटलमा ३५ जना कर्मचारी कार्यरत छन्।'बाणिज्य बैंकमा मर्ज हुने भएकाले कर्मचारीको बाणिज्य बैंकिङ अनुभव र उनीहरुले गरिरहेको कामको आधार समायोजन गरिने छ,' सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले मंगलबार नागरिकसँग भने, 'समायोजन गर्दा दुई संस्थाको माथिल्लो व्यवस्थापनमा रहेका कर्मचारीहरु बैंकको मध्यम स्तरमा आउने छन्।'

नेपाल राष्ट्र बैंकले मर्जर सम्वन्धि नीतिगत व्यवस्था गरेपछि अहिलेसम्म ४३ वटा बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभिएर १८ वटा संस्था बनिसकेका छन्। डेढ दर्जन संस्थाले मर्जरका लागि राष्ट्र बैंकको स्वीकृति पर्खेर बसेका छन्। 
एक्सिस डेभलपमेन्ट बैंक यसअघि पनि मर्जर भएको थियो। बनेपाको पशुपति विकास बैंक र नारायणघाटको उद्यम विकास बैंक मर्जर भएर एक्सिस डेभलपमेन्ट बैंक बनेको हो। एक्सिससँग एक अर्ब ५७ करोड रुपैयाँ सर्वसाधारणको निक्षेप छ।
असार मसान्तसम्मको वित्तीय विवरण अनुसार, सिभिल बैंकसँग १५ अर्ब ६३ करोड रुपैयाँ निक्षेप छ। गत बर्ष १२ करोड १२ लाख रुपैयाँ नाफा गरेको बैंकको पुँजी कोष अनुपात १५.४१ प्रतिशत रहेको छ। बैंकको खराव कर्जा ०.५ प्रतिशत छ। बैंकले १२ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
एक्सिस डेभलपमेन्ट बैंके एक अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत बर्ष दुई करोड तीन लाख रुपैयाँ नाफा गरेको बैंकको खराब कर्जा ३.७७ प्रतिशत छ। बैंकको पुँजी कोष ४१.२३ प्रतिशत रहेको छ। सिभिल मर्चेन्टसँग ६६ करोड २५ लाख रुपैयाँ निक्षेप छ भने कर्जा लगानी ५४ करोड २५ लाख रुपैयाँ गरेको छ। कम्पनीले गत बर्ष एक करोड ३२ लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीको खराव कर्जा ६.०९ प्रतिशत छ भने पुँजी कोष ३१.३२ प्रतिशत रहेको छ। 


No comments:

Post a Comment

thanks for comment