बैंकर–व्यवशायी छुट्याइँदै, व्यवशायीले बैंक सञ्चालक समितिमा बस्न नपाउने

सुदर्शन सापकोटा
काठमाडौं, पुस २३
नेपाल राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्याउन नीतिगत रुपमै पहल सुरु गरेको छ। बैंकर र व्यवसायी एउटै व्यक्ति हुँदा सुशासनमा समस्या आउने भन्दै यसलाई सुधार गर्न राष्ट्र बैकले मध्यकालिन नीतिमार्फत शंवोधन गर्न लागेको हो।
राष्ट्र बैंकले आन्तरिक रुपमा छलफल गरेर बैंकर र व्यवसायी छुट्याउन दुई वटा 'मोडालिटी' बनाएको छ। तर ब्यापक छलफल भइनसकेकाले यसलाई अन्तिम रुप भने दिन सकेको छैन। राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत नै बैंकर र व्यवसायी छुट्याइने जनाएको थियो।
राष्ट्र बैंकले तयार पारेको मोडालिटी अनुसार, सञ्चालकले निश्चित रकमभन्दा वढी ऋण कुनै पनि संस्थाबाट लिन पाउने छैनन्। दोस्रोमा अहिले निश्चित रकमभन्दा वढी ऋण लिएकाहरुले बैंकको सञ्चालकमा बस्न नपाउने मोडालिटी तयार पारिएको छ।
'बैंक र व्यवशाय एउटैले चलाउँदा संस्थामा सुशासनको समस्या आउँछ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'व्यवशाय गर्नेले बैंकमा बस्न मिल्दैन। दुईमध्ये एक छान्नु पर्छ।' उनका अनुसार, राष्ट्र बैंकले ऋणका आधारमा बैंकमा व्यवसायी बस्ने/नबस्ने मोडालिटीमा तयार पारिएको हो। 

'नेपालजस्तो सानो अर्थतन्त्र भएको देशमा ठूलो ऋण लिने आमसर्वसाधारण हुँदैन,' स्रोतले भन्यो, 'त्यही भएर निश्चित रकमभन्दा वढी ऋण लिने बैंकको सञ्चालक बन्न नपाउने व्यवस्था गर्न लागिएको हो।' उनले व्यवशायीलाई बैंक वा ब्यापारमध्ये एक छान्न राष्ट्र बैंकले केही बर्षको समय दिने जानकारी दिए। 
'ऋण लिएको सञ्चालकले ऋण उठाउने नीतिलाई बलियो बनाउन सक्दैन,' स्रोतले भन्यो, 'ऋण लिने भनेको जोखिम उठाउनु पनि हो। जोखिम उठाएको व्यक्तिले संस्था हाँक्दा त्यसको असर तलसम्म पर्छ।' 
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था खोल्न स्वीकृति दिने नीति पुनः ल्याइएमा त्यसमा पनि व्यवसायी र बैंकर छुट्याएर मात्र  दिइने तयारी गरेको छ। राष्ट्र बैंकले संस्थाहरु आपसमा गाभिँदा तथा एकले अर्को किन्दा पनि व्यवसायी र बैंकरबीच फरक गर्ने नीति तयार गरिहेको स्रोतले बतायो। 
गत बैंशाख १४ गते राष्ट्र बैंकको ५८औं वार्षिकोत्सव कार्यक्रममा नै गभर्नर युवराज खतिवडाले आगामी तीन वर्षभित्र बैंकर र व्यवसायी छुट्टिने प्रकृयाले आकार लिने बताएका थिए। त्यसपछि सार्वजनिक कार्यक्रममा यसलाई दोहोर्‍याउँदै आएका गभर्नरले मौद्रिक नीतिमा बैंकर र व्यवसायी छुट्याइने सार्वजनिक गरेका थिए। 
राष्ट्र बैंकले नीतिगत रुपमै बैंकर र व्यवशायी छुट्याउने व्यवस्था गरे पनि सुधारका लागि तीन बर्षसम्मको समय दिने योजना बनाएको छ। 'अर्को वर्ष नै बैंकर व्यवसायी छुट्टिने भन्ने हुँदैन,' राष्ट्र बैंक स्रोतले भन्यो, 'तीन वर्षभित्र छुट्टिने वातावरण तयार हुन्छ।' विगतमा बैंक तथा वित्तीय संस्थाहरुलाई सञ्चालन स्वीकृति दिँदा असावधानि अपनाइएकाले बैंकर र व्यवसायी एउटै भएको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ। 
बैंकरहरु भने सानो अर्थतन्त्र भएको मुलुकमा पैसा भएकैले बैंक तथा वित्तीय संस्था खोल्ने भएकाले उनीहरुलाई अलग गर्दा दीर्घकालिन असर पर्ने बताउँछन्। 'ठूलो पुँजी लगाएर बैंक तथा वित्तीय संस्थाहरु खोल्नु पर्ने हुन्छ, त्यो पैसा व्यवसायीसँगै हुन्छ,' ती बैंकरले भने, 'त्यही भएरु व्यवशायीलाई बैंकबाट अलग गर्न मिल्दैन।'
व्यवशायीहरु भने बैंकर र व्यवशायीमा फरक गरिएमा आगामी दिनमा सरकारले लिने लगानी नीतिप्रति व्यवशायीहरुले विश्वास गर्न नसक्ने बताउँछन्। 'हिजो सबैलाई बैंक खोल्न खुला गरिएको थियो, त्यही भएर व्यवशायीहरुले पैसा हालेर बैंक खोले,' एक बाणिज्य बैंकको सञ्चालकसमेत रहेको ती ब्यवशायीले भने, …आज आएर बैंकर र व्यवशायी फरक हुनु पर्छ भन्यो भने सरकारको नीतिमा आगामी दिनमा भरोसा गर्न सकिन्न।' उनले सरकार तथा राष्ट्र बैंकले दीर्घकालिन असर गर्ने नीतिहरुमा परिवर्तन गरे पुँजी पलायनको खतरा बढ्ने बताए।
राष्ट्र बैंकका अधिकारीहरु भने ऋण उठाउन बसेका (सञ्चालक समिति) ले ऋण लिँदा नैतिक प्रश्नसमेत जान्मिने बताउँछन्।'आफूले अरु संस्थाबाट ऋण लिन अर्कैलाई आफ्नोबाट ऋण दिनु पर्ने वाध्यता हुन्छ,' ती अधिकारीले भने, 'यसबाट सुशासनमा समस्या आउँछ र जनताको अर्बौ निक्षेप बोकेको संस्था अप्ठेरोमा पर्छ।' राष्ट्र बैंकका अनुसार, कतिपय बैंक तथा वित्तीय संस्थामा सामूहिक हितका लागि एक बैंकको सञ्चालकले अर्को बैंकको सञ्चालकलाई ऋण दिएको पाइएको छ।
'ऋण दिएर उठाउने ठाउँ (सञ्चालक समिति) मा बसेको ब्यक्तिले निश्चित रकमभन्दा वढीको ऋण चलाउनु हुँदैन,' राष्ट्र बैंकका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, 'आफूले लिएको ऋण अप्ठेरोमा पर्‍यो भने यसले राम्रो सन्देश जाँदैन। त्यही भएर व्यवसाय चलाउनेले बैंक चलाउन मिल्दैन।' 
निजी क्षेत्रका अधिकांस बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुमा व्यवशायिक घरानाहरुले लगानी गरेर सञ्चालक समितिमा आफै बस्दै आएका छन्। अधिकांस ठूला बैंकका सञ्चालक समिति अध्यक्षमा नाम चलेको उद्योगी व्यापारी आफै छन्। 

No comments:

Post a Comment

thanks for comment