सेन्चुरी बैंक माघ पहिलो साता सेयर निस्कास गर्दै

काठमाडौं, पुस ११
सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ९२ लाख कित्ता सेयर निस्कास गर्न स्वीकृति पाएको छ। नेपाल धितोपत्र वोर्डबाट बिहीबार स्वीकृति पाएको बैंकले माघको पहिलो साताबाट सर्वसाधारणलाई सेयर विक्री गर्ने तयारी गरेको छ।
'हाम्रो तयारी माघ पहिलो साता सेयर निस्कास गर्ने हो,' बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठले बिहीबार नागरिकसँग भने, 'सेयर निस्कासनपछि बैंकको चुक्ता पुँजी दुई अर्ब पुग्ने छ।' राष्ट्र बैंकको व्यवस्था अनुसार बाणिज्य बैंकले चुक्ता पुँजी न्युनतम २ अर्ब पुर्‍याउनु पर्ने हुन्छ।
राष्ट्र बैंकले नयाँ बैंक खोल्न रोक लगाएपछि सेन्चुरी सर्वसाधारणमा सेयर निस्कासन गर्ने अन्तिम बाणिज्य बैंक हो। बैंकले ९२ करोड रुपैयाँ सर्वसाधारणबाट उठाउनका लागि सेयर निस्कास गर्न लागेको हो। बैंकले २ अर्ब चुक्ता पुँजीमध्ये ४१ प्रतिशत सर्वसाधारणलाई छुट्याएको थियो। कृषि विकास बैंकपछि ठूलो रकम सर्वसाधारणमा छुट्याएको सेञ्चुरीले प्रवर्द्धकहरुबाट १ अर्ब ८ करोड रुपैयाँ संकलन गरिसकेको छ। 
चालु आर्थिक बर्ष प्राथमिक सेयर निस्कास गर्न स्वीकृति पाएका कम्पनीमध्ये धेरै कित्ता निस्कास गर्ने सेन्चुरी बैंक हो। अघिल्लो बर्ष मेगा बैंक, कमर्ज एन्ड ट्रस्ट र सिभिल बैंकले ठूलो कित्ता सेयर निस्कास गरेका थिए। गत बर्ष निस्कास गरिएका बैंकहरुको सेयरमा माग गरिएभन्दा निकै गुणा सेयर आवेदन परेको थियो।
बैंकमा प्रवर्द्धकहरुबाट ०.५ प्रतिशतभन्दा वढी सेयर लगानी गर्ने २० जना छन्। एक प्रतिशतभन्दा माथि सेयर चार जनाको छ । तीन बर्षअघि सञ्चालनमा आएको सेञ्चुरी क्रेडिट रेटिङ गराउने पहिलो बाणिज्य बैंक हो। तीन करोडभन्दा माथिका कम्पनीले अनिवार्य रुपमा क्रेडिट रेटिङ गराउनु पर्छ। 

बैंकको सेयर निस्कासन तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट बैंकिङ, ग्रोमोर मर्चेन्ट बैंकर, सिभिल क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ छन्। सेञ्चुरीपछि ठूलो कित्ता सेयर माथिल्लो तामाकोशीको आउने छ। तामाकोशीले वोर्डमा स्वीकृतिका लागि आवेदन दिइसकेको छ। तामाकोशीले दुई अर्ब ५४ करोडको सेयर निस्कास गर्न स्वीकृति माग गरेको छ। 
सेञ्चुरीको अहिले पुँजी कोष अनुपात ११.८२ प्रतिशतमा झरिसकेको छ। ९२ करोड रुपैयाँ थपिएपछि पुँजी कोष २० प्रतिशत माथि पुग्ने छ। बैंकको जगेडा कोषमा १६ करोड २६ लाख रुपैयाँ रहेको  छ। गत बर्ष ६ करोड ६३ लाख खुद नाफा गरेको बैंकले चालु बर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) २ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ।
असोज मसान्तसम्म बैंकले १२ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकले नौं अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराव कर्जा अनुपात ०.६३ प्रतिशत छ भने कर्जा–निक्षेप अनुपात ७०.६८ प्रतिशत रहेको छ। 
बैंकका ३० शाखा, २० एटिएम र ५ शाखारहित बैंकिङ सेवा छन्। बैंकले रमिटेन्स् भित्राउने कार्यपनि गरिरहेको छ। निक्षेपमा बढी ब्याज दिने बैंकमध्ये सेञ्चुरी अगाडि आउँछ। 
धितोपत्र वोर्डमा तामाकोशीसहित १२ कम्पनीले सेयर निस्कासन गर्न स्वीकृति माग गरेका छन्। यि कम्पनीले तीन अर्ब ९४ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर निस्कास गर्न स्वीकृति माग गरेका हुन्। स्वीकृति माग गर्नेमा दुई फाइनान्स कम्पनी, पाँच विकास बैंक, दुई जलविद्युत कम्पनी र दुई अन्य छन्। अन्यमा सिटी होम्स र राजधानी इन्भेष्टमेन्ट फन्ड रहेको छ।

No comments:

Post a Comment

thanks for comment