निर्वाचन परिणामले सेयर बजार ३४ अंकले बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर ६
संविधानसभा निर्वाचनमा कांग्रेस–एमालेले अग्रता लिएपछि सेयर बजार ३४ अंकले बढेको छ। सात अंक बढेर खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा तीन पटक सर्किट ब्रेकर लागेर बिहीबार कारोबार बन्द भएको छ।
नेप्से परिसुचक ५.६४ प्रतिशत (३३.८८ अंक) ले बढेर ६३४.३ अंकमा पुगेको छ। परिसुचक तीन प्रतिशतभन्दा बढीले बृद्धि भएर सर्किट ब्रेकर लाग्न थालेपछि नेप्सेमा साविकभन्दा कम कम्पनिहरुको कारोबार भएको छ। ५५ वटा कम्पनीका १० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
दिउँसो १२ बजेदेखि ३ बजेसम्म कारोबार हुने नेप्सेमा सर्किट ब्रेकर तीन पटकसम्म लागेका कारणले लगानीकर्ताले करिव २६ मिनेट मात्र सेयर किनबेच गर्न मौका पाए। बजार खुलेको १२ मिनेटमै बजार तीन प्रतिशले बढेपछि नेप्सेमा पहिलो सर्किट ब्रेकर लागेको थियो। सर्किट ब्रेकर लागेपछि कारोबार १५ मिनेटलाई स्थगित गरिएको थियो।
त्यसपछि खुलेको बजार फेरी चार अंकले बढेपछि १२ बजेर २९ मिनेटमा अर्को सर्किट ब्रेकर लागेर  ३० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। त्यसपछि खुलेको बजार १ बजेर १२ मिनेटमा फेरी पाँच प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाउँदै पुरै दिनका लागि कारोबार बन्द गरिएको थियो। अब आइतबार बजार खुल्ने छ। 

'निर्वाचन परिणामले खुला बजार समर्थकहरुलाई अग्रस्थानमा देखाएकाले बजारले सकारात्मक प्रतिकृया जनाएको हो,' सेयर ब्रोकर संघका पूर्वअध्यक्ष अन्जनराज पौडेलले बिहीबार नागरिकसँग भने, …२६ मिनेटमा ५५ कम्पनीको सेयर किनबेच हुँदा पनि १० करोडको कारोबार हुनु उल्लेख्य हो।'
सेयर बजार कात्तिक २५ गतेदेखि नियमित बढ्दै आएको थियो। निर्वाचन हुने/नहुने अन्यौंलताका बीच वैद्य माओवादीले करेको बन्द प्रभावहिन भएपछि लगानीकर्तामा निर्वाचन हुने विश्वास भएको थियो। यही विश्वासपछि परिसुचक लगातार निर्वाचन विदा हुनु अघिसम्म बढेको थियो। 
बिहीबार सबैभन्दा बढी बिमा उपसुचक बढेको छ। यो सुचक ७८ अंकले बढेको छ। यसपछि  जलविद्युत उपसुचक ६५.८९ अंकले बढेको छ। नेपाल टेलिकम सुचिकृत अन्य समूहको उपसुचक ५१.८६ अंकले बढेको छ। बैंकिङ उपसुचक पनि ३८.४२ अंकले बढेको छ। …क' वर्गका कम्पनीहरु सुचिकृत सेन्सेटिभ सुचक ६.०८ प्रतिशतले बढेको छ।
बढेको बजारबाट सबैभन्दा वढी फाइदा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, चिलिमे जलविद्युत् कम्पनी, नागरिक लगानी कोष, हिमालयन बैंक र बैंक अफ काठमाण्डूका लगानीकर्ताले उठाएका छन्। निर्वाचन बिदा सुरु हुनुअघि (गत बिहीबार) सेयर खरिद गरेका लगानीकर्ताले पनि लगानीकर्ताले कमाएका छन्। बिहीबार कारोबार भएका ५५ बढै कम्पनीका लगानीकर्ताले निर्वाचनपछि खुलेको बजारबाट कमाएका छन्। 
विश्लेषकहरुले निर्वाचन परिणामका आधारमा बजार बढेका कारण आइतबारबाटै यसमा सुधार (सच्चिने) आउने बताएका छन्। …बजार आज (बिहीबार) बढेकै आधारमा आइतबार पनि अघि बढ्छ भन्ने छैन,' पौडेलले भने, …निर्वाचन परिणामका कारण बढेकाले आइतबारबाट यसमा सुधार आउने छ।' उनले निर्वाचन परिणाम आउन थालेपनि राजनीतिक गति कता जाने भन्ने टुङगो नभएकाले बजारमा सुधार आउने बताए।
बैंक तथा वित्तीय संस्थाहरुले गत बर्षको नाफाबाट लाभांस घोषणा गर्दा पनि खासै सुधार नदेखिएको बजारमा राजनीतिक कारणले बढेको पौडेलले जानकारी दिए। …चालु बर्षको असोजसम्मको वासलात (व्यालेन्सिट) पनि ठिकै आयो, बजारमा तरलता पनि छ, ब्याज दर पनि घटेको छ,' उनले भने, …त्यै पनि बजार स्थिरजस्तो थियो, राजनीतिमा खुला बजार चाहनेहरुको वर्चस्व बढेकाले सेयर मूल्य उकालो लागेको हो।'
बिहीबार २६ मिनेटमा ५५ कम्पनीका दुई लाख दुई हजार ६९८ कित्ता सेयर किनबेच भएको छ। ५११ वटा कारोबार भएका थिए। सेयर ब्रोकरका अनुसार, बिहीबार बजारमा सेयर बेच्नेभन्दा किन्ने लगानीकर्ताहरु बढी थिए। 

No comments:

Post a Comment

thanks for comment