नेपालमा भारु ५ सय र हजारका नोट चल्ने

सुदर्शन सापकोटा
काठमाडौं, पुस ८
नेपालमा अबदेखि भारतीय ५ सय र एक हजार रुपैयाँ दरका नोटहरु चल्ने भएको छ। नेपालमा १३ बर्षदेखि भारु ५ सयभन्दा बढी दरका नोटहरु चलाउन प्रतिबन्ध लगाइएको थियो। 
नेपाल र भारतबीच आइतबार सम्पन्न वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति (आइजिसी) को बैठकले ५ सय र एक हजार दरका नोटहरु प्रति व्यक्ति २५ हजार रुपैयाँसम्म नेपाल वोकेर ल्याउन पाउने सहमति भएको हो। 
नेपालमा विगत १३ बर्षदेखि भारतीय पाँच सय र हजारका नोट चल्न छाडेको थियो। भारु ठूला नोटहरु चलेपछि भारतमा काम गर्न गएका नेपालीका साथै नेपाल आउने भारतीय पर्यटकलाई पनि सजिलो हुन्छ।  
'निस्चित सीमासम्म पाँच सय र हजारका भारु नोटहरु नेपालमा निर्वाध रुपमा चलाउन दुवै पक्षबीच सहमति भएको छ,' बाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले सोमबार नागरिकसँग भने, 'भारु चलाउने संयन्त्रका लागि दुवै देशको सीमामा सटही काउन्टर राखिने छ।'
भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज म्यानेजमेन्ट (विदेशी मुद्रा विनिमय व्यवस्थापन) ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो। ऐन आउँदा भारतमा एक हजारका नोटहरु चलनचल्तीमा आएको थिएन। 
यो ऐन अन्तर्गत बनेका चार नियमावलीमध्ये एउटामा 'नेपाल र भुटानमा ५ सय रुपैयाँभन्दा ठूला नोटहरु लैजान वा पठाउन प्रतिवन्ध गरिएको छ' भन्ने वाक्यांश परेपछि भारु ठूला नोटको कारोबार बन्द भएको थियो। 
ठूला दरका नोटहरु बढी तस्करी हुने भएकाले भारतीय पक्षले आन्तरिक सुरक्षाका लागि नेपालमा पाँच सयमाथिका नोट लैजान प्रतिबन्ध लगाएको थियो। भारतले प्रतिबन्ध लगाएपछि नेपालमा एक सय दरभन्दा कमका भारु नोटहरु मात्र चल्दै आएको थियो। 
भारतले नेपालमा पाँच सय माथिका भारु लैजान नपाउने व्यवस्था गरेपछि राष्ट्र बैंकले पनि नेपालमा ठूला नोटको कारोबार नगर्न निर्देशन दिएको थियो। राष्ट्र बैंकले आफूले संकलन गरेका ठूला नोटहरु भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) मा नसाटिने भएपछि नेपाभित्रको कारोबार अवैध भएको भन्दै सार्वजनिक सुचना जारी गरेको थियो। 
नेपालमा ठूला दरका भारुका नोटहरु अवैधानिक भएपनि चलचल्तीमा भने छँदैछ। नेपालका सीमावर्ति शहरहरुमा ठूला दरका भारु नोटहरु चल्दै आएका छन्। भारतीय पर्यटकहरु बढी आउने विराटनगर, वीरगञ्ज, भैरहवाका साथै राजधानीका व्यापारिक स्थलहरुमा भारु ५ सयमाथिका नोटहरु चल्दै आएको छ। औपचारिक व्यापार तथा बैंकिङ प्रणालीमा नचल्ने भएकाले यसबाट भारतमा रहेका नेपाली कामदारहरुलाई अप्ठेरो पर्ने गरेको थियो।
'पाँच सय र हजार दरका भारु नोटहरु चल्दा यसको व्यवस्थापन गर्न हामीलाई निकै सहज हुन्छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'साना दरका नोटहरुको आधिकारिकता छुट्याउनभन्दा ठूला दरको छुट्याउन सजिलो पनि हुन्छ।' 
नेपालमा अवैध छ भन्ने थाहा नपाइ पाँच सयभन्दा माथिका भारुहरु बोकेर आउने नेपाली (भारतमा काम गर्न गएका) हरु अवैध भारु कारोबारको आरोपमा पक्राउ पर्दै आएका थिए। कतिपय नेपालीहरुले सीमा क्षेत्रमा नोट साट्न बसेका दलालहरुलाई प्रचलित विनिमय दर (भारु १०० बराबर नेपाली १६० रुपैयाँ) भन्दा कममा बिक्री गर्नु पर्ने वाध्यता पनि थियो।
सहसचिव कोइरालाका अनुसार, नोट सटही गर्न सजिलो होस् भनेर सीमा क्षेत्रमा दुवै देशले पैसा साट्ने काउन्टर खोल्ने सहमति भएको छ। सहमति अनुसार भारतबाट नेपाल जाने वा नेपालबाट भारत जानेले आफ्नो सुविधा अनुसार भारु साटेर लैजान पाउने छ। 
नेपाल राष्ट्र बैंकले निकै बर्षदेखि ठूला दरका भारु नेपालमा चलाउन दिन भारतसँग आग्रह गर्दै आएको थियो। राष्ट्र बैंकले पछिल्लो पटक भारतीय राजदुत, आरबिआइका गभर्नर, डेपुटी गभर्नरलाई आग्रह गरेको थियो। सरकारले पनि भारतीय विदेश मन्त्रालयका अधिकारीहरुलाई ठूला दरका भारु चलाउन दिन आग्रह गर्दै आएको थियो।
आइजिसीको वैठकमा पनि राष्ट्र बैंकले बाणिज्य मन्त्रालयलाई भारुको मुद्दा उठाउन आग्रह गरेको थियो। राष्ट्र बैंकको आग्रह अनुसार बाणिज्य मन्त्रालयले आइजिसी वैठकमा ठूला दरका भारु चलउन दिन आग्रह गरेको थियो।

No comments:

Post a Comment

thanks for comment