एभरेष्ट इन्स्योरेन्सको व्यवस्थापन बिमा समितिले लियो

काठमाडौं, असोज २३
बिमा समितिले एभरेष्ट इन्स्योरेन्सको व्यवस्थापन जिम्मा लिएको छ। सञ्चालक समितिले एकल निर्णय गरेर कारोबार बन्द गरेपछि समस्यामा परेको एभरेष्ट इन्स्योरेन्स सुचारु गर्न समितिले व्यवस्थापन आफैले लिएको हो।
बिमा इतिहासमा समितिले कम्पनीको व्यवस्थापन लिएर सुधार प्रकृया थालेको यो पहिलो पटक हो। नियामक निकाय समितिले चार्टर्ड एकाउन्टेण्ट सन्तोष प्रसाइको नेतृत्वमा तीन सदस्यीय टोली एभरेष्ट इन्स्योरेन्स पठाएको छ। टोलीमा समितिका उप निर्देशक कुन्दन सापटकोटा र सहायक निर्देशक ओमवहादुर अधिकारी छन्। समितिले विज्ञ सदस्य सुरजविक्रम शाहीको संयोजकत्वमा विज्ञ भोजराज शर्मालाई सल्लाहकार समूह तोकेको छ। समितिले आवश्यकता अनुसार थप सल्लाहकार नियुक्त गर्न सक्ने जनाएको छ। 
समितिले एभरेष्ट सञ्चालक समितिको गैरजिम्मेवारपूर्ण तथा गैरजवाफदेहीपूर्ण कार्य गरेको तथा सर्वसाधारण ग्राहक (बीमित) को हित गर्न नसकेको भन्दै व्यवस्थापन जिम्मा लिएको हो। 'अध्यक्ष तथा सञ्चालक समितिबाट भएको हानी नोक्सानीको विगो नियमानुसार भराई कम्पनीलाई पूनः सुचारु गर्न नियमनकारी संस्थाको हैसियतबाट बीमा समितिले हस्तक्षेप गर्नुपर्ने वाध्यात्मक परिस्थिति उत्पन्न भएको छ,' समितिका अध्यक्ष फत्तवहादुर केसीले बुधबार पत्रकार सम्मेलनमा भने। 

एभरेष्टले आफुले गर्नु पर्ने कार्य नगरी बीमा व्यवसाय संचालन गर्दा अपनाउनु पर्ने प्रकृया सम्बन्धमा समितिले दिएको निर्देशन उल्लघंन गरेको तथा समितिलाई दिनु पर्ने सूचना नदिएको, उधारोमा बीमा गरेको अरोप लगाइएको छ। 
'समितिबाट गएको व्यवस्थापन र सल्लाहाकार समूहलाई बढीमा छ महिना भित्र साधारण सभामार्फत सञ्चालक समिति गठन गरी व्यवस्थापन हस्तान्तरण गर्न निर्देशन दिइएको छ,' केसीले भने, 'कम्पनीलाई पुग्न गएको हानी नोक्सानीको छानविन गरी विगो असुल उपर गर्न र दोषी उपर आवश्यक कारवाही चलाउने जिम्मेवारी पनि तोकिएको छ।' 
समितिले नयाँ गएको व्यवस्थापन समूह रहेसम्मका लागि रोक लगाइएको अग्नी बिमा कारोबार फुकुवा समेत गरिदिएको छ। एभरेष्टको कुल कारोबारमा अग्नी बिमाको हिस्सा २० प्रतिशत हुन्छ। समितिले ११ महिनादेखि अग्नी बिमामा रोक लगाएको छ। 
समितिले दिइएको निर्देशन पालना नगरेर बिमा व्यवसायमा रोक लगाउनु पर्ने अवस्थ्ाको श्रृजना गराउने कम्पनीका पूर्व अध्यक्ष राजेन्द्रकुमार खेतान लगायत अन्य सञ्चालक सदस्यहरुलाई पनि कारवाही गरेको छ। समितिले अध्यक्ष खेतानसहित सदस्यहरुलाई पाँच बर्षसम्म कुनै पनि बीमा कम्पनीका सञ्चालक समिति लगायत बीमकको अन्य कुनै पनि हैसियतमा रहन रोक लगाएको छ। समितिले अध्यक्ष तथा सञ्चालक र उनीहरुको परिवारको नाममा रहेको सेयर कम्पनीमा पुग्न गएको हानी नोक्सानीको विगो असुल उपर नभएसम्मको लागि रोक्कासमेत राखेको छ। 
समितिले ६ महिनाभित्र कम्पनी सुधार गर्ने गरी व्यवस्थापन लिएको हो। समितिले व्यवस्थापन लिनु पूर्ब कम्पनीको सञ्चालक समिति खारेज गर्दै प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठलाई निलम्बन गरेको छ। एभरेष्टका कर्मचारीहरुले कम्पनी सुचारु गर्न आन्दोलन थालेपछि प्रमुख कार्यकारी श्रेष्ठ एक महिनादेखि बिदामा रहेका छन्।
समितिले बिमा कारोबार सुचारु गर्दै दावी भुक्तानी राफसाफ सुरु गर्ने छ। साथै गत आर्थिक बर्षदेखि हुन नसकेको बार्षिक साधारणसभा पनि गर्ने छ। एभरेष्टले गत चैतदेखि कुनै पनि कारोबार गरेको छैन। निवर्तमान सञ्चालक समितिले कम्पनी नवीकरण नभएको भन्दै नयाँ कारोबार बन्द गरेको थियो। कम्पनीबाट कारोबार हुन छाडेपछि त्यसलाई खुलाउन कर्मचारीले आन्दोलन गर्दा दावी हुक्तानी राफसाफको काम पनि हुन सकेको थिएन।
…समितिले हस्तक्षेप गरेर कारोबार सुचारु गर्ने भएपछि अब कम्पनी सहज रुपमा अगाडि वढ्छ,' एभरेष्ट कर्मचारी युनियनका अध्यक्ष शम्शेर रोक्काले बुधबार नागरिकसँग भने, …अब दावी राफसाफ पनि सुरु हुन्छ।' समितिले एभरेष्टका सबै समस्या सुल्झाउने गरी व्यवस्थापन जिम्मा लिएको हुँदा कम्पनी केही महिनामै सुधार हुने जानकारी दिए।
सञ्चालक समिति र व्यवस्थापन नियोजित रुपमा जसरी पनि कम्पनी बन्द गर्न लागिपरेको भन्दै एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरुले खुलाउनका लागि पहल गर्दै आएका थिए। उनीहरुले निलम्बनमा परेका प्रमुख कार्यकारी र सञ्चालक समिति नै नियोजित रुपमा बन्द गर्न लागेको भन्दै आफूमध्येबाटै एक जनालाई प्रमुख कार्यकारी नियुक्त गर्न सिफारिस समेत गरेका थिए।
अग्नी बिमा कारोबारमा बिमा समितिले रोक लागाएपछि एभरेष्टको सञ्चालकले …किचलो' निकाल्दै कारोबार बन्द गराएका थिए। समितिले भदौ १३ गते एभरेष्टले हिमालयन स्न्याक्सको दावीमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै बिमा रकम भुक्तानी गरेको भन्दै अग्नी बिमा कारोबारमा रोक लगाएको थियो। 

No comments:

Post a Comment

thanks for comment