धितो मूल्यांकनकर्तामाथि पनि अनुसन्धान सुरु

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १२
ऋण दुरुपयोगमा बैंकरहरु मात्र पक्राउ परिरहेका बेला केन्द्रिय प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी) ले कमसल धितोलाई अधिक मूल्यांकन गरेर ऋण दुरुपयोग गर्न सघाउने मूल्यांकनकर्ता (भ्यालुएटर) लाई पनि अनुसन्धानभित्र ल्याउने भएको छ। भ्यालुएटरले व्यक्तिगत प्रभावमा परेर कमसल धितोलाई अधिक मूल्यांकन गरेको फेला पर्न थालेपछि सिआइबीले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएको हो।
सिआइबीले अहिलेसम्म दुई जना भ्यालुएटरलाई पक्राउ गरी अनुसन्धान पनि थालिसकेको छ। सिद्धार्थ डेभलपमेन्ट बैंकबाट जम्को पब्लिकेशनको नाममा प्रवाह भएको कर्जाको भ्यालुएटर सरकारी इन्जिनियरसहित किस्ट बैंकका भ्यालुएटर पक्रउ परिसकेका छन्।
सिआइबीका अनुसार, बैंकिङ कसुरका रुपमा राष्ट्र बैंकले पठाएको कर्जाका सबै फाइलमा धितोभन्दा अधिक मूल्यांकन गरी कर्जा लगानी भएको पाइएको छ। …ऋण दिने कर्मचारीसहित भ्यालुएटरहरु पनि ऋण दुरुपयोगका मूख्य दोशी हुन्,' सिआइबीका प्रवक्ता तथा प्रहरी उपरिक्षक इश्वरवावु कार्कीले बुधबार नागरिकसँग भने, …उनीहरुलाई पनि अनुसन्धान दायरामा ल्याउन आवश्यक छ, त्यही भएर भ्यालुएटरमाथि पनि छानविन सुरु गरेका छौं।'
राष्ट्र बैंकले प्रवर्द्धक, सञ्चालक, कर्मचारी र ऋणीहरुमाथि अनुसन्धान गर्न निर्देशन दिएको छ। अनुसन्धानका क्रममा भ्यालुएटरहरुको पनि मिलमतो देखिएपछि सिआइबीले उनीहरुलाई पनि अनुसन्धान दायरमा ल्याएको हो। 

कार्कीका अनुसार, बैंकिङ कसुर ऐन अनुसार अनुसन्धान भएका कर्जाहरु कमजोर धितोलाई अधिक मूल्यांकन गरेर दिइएको छ। स्वतन्त्र भ्यालुएटरको मूल्यांकनका आधार बैंक तथा वित्तीय संस्थाहरुले ऋण प्रवाह गर्छन्। भ्यालुएटरको मूल्यांकनमाथि बैंकको ऋण समितिले छलफल गर्छ। बैंकहरुले मूल्यांकनको ७० प्रतिशतसम्म ऋण दिन्छन्।
…कमजोर सम्पतिहरुलाई उच्च मूल्यांकन गरिएको छ,' कार्कीले भने, …उच्च मूल्यांकनका आधारमा ऋण लगानी भएका कारण बैंकहरुले पैसा उठाउन नसकेका हुन्।' उनका अनुसार, राष्ट्र बैंकले अनुसन्धानका लागि पठाएको अधिकांस फाइलहरुमा कमजोर धितो राखेर बढी ऋण चलाएको र त्यो ऋण नतिरेर बैंक समस्यामा परेको उल्लेख छ।  …अहिले हामीले राष्ट्र बैंकले पठाएको फाइलमाथि मात्र अनुसन्धान गरिरहेका छौं,' उनले भने, …अनुसन्धानका क्रममा ऋण प्रवाह गर्ने कर्मचारीका साथै भ्यालुएटरहरु पनि दोशी देखिएका छन्।'
सामान्यतया बैंकहरुले धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण प्रवाह गर्छन्। बैंकका कर्मचारी, ऋणीहरुको मिलेमतोमा भ्यालुएटरले एकदमै कमसल धितोलाई पनि उच्च मूल्यांकन गरेर ऋण समितिलाई सिफारिस गर्ने गरेको पाइएको छ। 
…घरजग्गाको मूल्य उकालो लागेका बेला भ्यालुएटरहरुले मिलेमतोमा कमसल धितोलाई उच्च मूल्यांकन गर्ने क्रमले तिब्रता पाएको थियो,' एक पूर्व बैंकरले नागरिकसँग भने, …मूल्य बढिहाल्छ ऋण तिरिहालिन्छ भनेर सबै पक्ष यसमा मिलेर जग्गामा लगानी गरेका थिए।' उनका अनुसार, राष्ट्र बैंकले मूल्य अनियन्त्रित भएर बढेको घरजग्गामा जाने कर्जामा सीमा तोकेपछि …सट्टेवाजहरु' अप्ठेरोमा परेका हुन्।
…घरजग्गामा गएको ऋण अप्ठेरोमा परेका कारण धेरै वित्तीय संस्थाहरु समस्यामा परेका छन्,' ती पूर्वबैंकरले भने, …मिलेमतोमा आफू–आफूबीच लगानी गर्ने बैंकर र भ्यालुएटरका कारण संस्था समस्यामा गएका हुन्।' उनले नियोजित रुपमा ऋण प्रवाह गर्ने बैंकरजति नै भ्यालुएटरको पनि दोश हुन्छ। …भ्यालुएटरले सही मूल्यांकन प्रतिवेदन दिएमा त्यसलाई नाघेर बैंकले लगानी गर्न सक्दैन,' उनले भने, …त्यही भएर भ्यालुएटरलाई पनि कारवाहीको दायरामा ल्याउनु आवश्यक छ।'
सिआइबीमा बैंकिङ कसुरका दर्जनौं मुद्दाहरु छन्। समस्याग्रस्त घोषणा गरिएका वित्तीय संस्थाका अधिकांस सञ्चालक, प्रवर्द्धक, व्यवस्थापनका अधिकारीहरु बैंकिङ कसुर अभियोग लागेका छन्। यसमध्ये केही प्रहरी थुनामा छन् भने केही धरौटी बुझएर मुक्त त केही फरार छन्।  बैंक सञ्चालक र व्यवस्थापक नै संलग्न रहेको मुद्दाबाट प्रहरीले करिव १७ अर्ब रुपैयाँ बराबरको विगो सहित अदालतमा मुद्दा दायर गरेको छ। ऋण दुरुपयोग मुद्दाका आरोपीमध्ये आधालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ, ५० जनाभन्दा वढी प्रहरीको फरार सुचीमा छन्।
राष्ट्र बैंकले समस्याग्रस्त घोषित वित्तीय संस्थाका सञ्चालक, प्रवर्द्धक, ऋणी र कर्मचारीका साथै अन्य वित्तीय संस्थाका प्रवर्द्धक, सञ्चालक रर्मचारीहरुलाई पनि बैंकिङ कसुर ऐन अन्तर्गत अनुसन्धान गर्न प्रहरीलाई सिफारिस गरेको छ। 
राष्ट्र बैंकले समस्याग्रस्त घोषित गोर्खा विकास बैंक, क्रिस्टल फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, हिमालय फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र जनरल फाइनान्सका अधिकारीहरुमाथि अनुसन्धान गर्न सिफारिस गरिसकेको छ। साथै राष्ट्र बैंकको सिफारिसमा सिद्धार्थ डेभलपमेन्ट बैंक, किस्ट बैंकलगायतका अधिकारीहरु माथि पनि अनुसन्धान भइरहेको छ।

No comments:

Post a Comment

thanks for comment