सेञ्चुरी बैंकका सिइओ गणेशकुमार श्रेष्ठ भन्छन्– अर्को बर्ष १० प्रतिशत लाभांस, पाँच बर्षमा पुँजी पाँच अर्ब

गणेशकुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
सेञ्चुरी कमर्सियल बैंक 
आइपिओको तयारी कस्तो भइरहेको छ?
शाखा प्रबन्धकहरुलाई तालिम दिइसकेका छौं। शाखामार्फत नै सेयर आवेदन पनि प्रत्येक क्षेत्रमा पठाइसकेका छौं। बिक्री प्रबन्धकहरुबाट पनि आवेदन फारम वितरण हुने छ। यसपाली हामीले आफ्ना ३१ शाखा, दुई वित्तीय संस्थाहरु र विक्री प्रबन्धकका माफर्त सेयर विक्री गर्ने छौं। लगानीकर्ताले निकै पैसा हाल्ने तर कम सेयर पर्दा त्यो नरमाइलो हुन्छ त्यही भएर धेरै संस्थामार्फत सेयर विक्री नगर्ने योजना छ। पैसा हालेको अनुपातमा लगानीकर्तालाई राम्रै कित्ता सेयर परोस् भन्ने हामी चाहन्छौं। त्यही भएर धेरै प्रचार प्रसार पनि गरेका छैनौं र सेयर विक्री गर्ने अधिकार पनि धेरै संस्थालाई दिएका छैनौं। 
भनेपछि धेरै लगानीकर्ता सेञ्चुरीमा लगानी गर्ने अवशरबाट वञ्चित हुने भए?
सेयर विक्री पाँचै विकास क्षेत्रबाट हुनु पर्ने नियम छ। हामी १० अञ्चलमा मात्र विस्तार भएकाले ७५ जिल्लाका वाशिन्लाई सेयर विक्री गर्न सक्दैनौं। हामी नपुगेका क्षेत्रका वासिन्दाले हुलाकमार्फत हाम्रो सेयरमा सहभागीता जनाउन सक्छन्। अहिले सेयर बजार पनि बढेको छ। प्रचार प्रसार गर्दा २०–२५ गुणा सेयर आवेदन पर्छ। तर हामी यति धेरै परोस् भन्ने चाहँदैनौं। त्यैपनि ५–१० गुणा परिहाल्छ।

सेयर मूल्य बढ्दा मात्र लगानीकर्ताले लाभ लिने कि बैंकबाट पनि केही प्रतिफलको अपेक्षा गर्न सकिन्छ?
हामीले अहिलेसम्म नाफा कमाएर ११ करोड रुपैयाँ सञ्चिति कोषमा राखिसकेका छौं। बैंकको सेयर लिएकाले अहिलेसम्म गरेको नाफामा पनि हिस्सेदारी हुने मौका पाउँछन्। यो बर्ष पनि हाम्रो नाफा राम्रै हुनेछ। पहिलेको र अहिलेको नाफा जोडेर आगामी बर्ष नै लगानीकर्ताले लाभांस पाउने छन्। आउँदो फागुनसम्म बैंकको सेयर सुचिकृत गर्ने योजना छ। बजारमा हाम्रो सेयर राम्रै मूल्यमा कारोबार हुने छ। यसबाहेक हामी खर्च घटाएर काम गरिरहेका छौं। छोटो अवधिमा हामीले ३१ वटा शाखा खेलेका छौं। शाखाबाट राम्रो निक्षेप परिचालन भएको छ। शाखा विस्तार राम्रो भएकाले खब खर्च खास बढ्दैन। हामीले शाखा विस्तार नगरेको भए सेयर निस्कास गर्न नै करिव २ करोड रुपैयाँ थप खर्च गर्नु पर्थियो। सेयर निस्कासन खर्च अरु संस्थामार्फत गर्नुको साटो आफै सहभागी हुँदा शाखा विस्तार गर्ने खर्च उठ्यो। २ करोडमा हामीले करिव ६ वटा शाखा विस्तार गर्‍यौं। लगानीकर्तालाई आउँदो बर्ष नै कतिसम्म दिन सकिन्छ?
आगामी बर्ष हाम्रो ऋण विस्तार करिव २२ अर्ब पुग्छ। पछिल्लो तीन महिनामा हामीले २ अर्ब लगानी विस्तार गरेका छौं। अब ९२ करोड रुपैयाँ पुँजी थपिएपछि लगानी अझ बढ्ने छ। असोज मसान्तमा २ करोड ३९ लाख नाफा गर्‍यौं। असार मसान्तसम्म १६ करोड नाफा गर्ने योजना छ। हामीसँग पुरानै ११ करोड सञ्चिति कोषमा छ। यसपाली १६ करोड भएन १० करोड मात्रै गर्न सकियो भने पनि वाँड्न पुग्ने रकम २१ करोड पुग्छ। यसबाट सजिलै १० प्रतिशत लाभांस वाँड्न सकिन्छ। लगानी सुरक्षा, भोलीका लागि सम्भावना र उचित प्रतिफलका लागि सेञ्चुरीमा लगानी गर्नु एकदमै फाइदाजनक छ।
तपाईहरुको आह्वानपत्र पढ्दा २ अर्बपछि पुँजी बढाउने योजना देखिएन। नियामक निकाय चैं पुँजी पढाउने पक्षमा छ?
अहिले हामीलाई न्युनतम जति पुँजी चाहिने हो त्यो मात्र आह्वानपत्रमा लेखेका हौं। हामी दुई अर्ब पुँजी पुगिहाल्यो भनेर चुप लागेर बस्दैनौं। आउँदो बर्षबाट नै थप पुँजी बढाउन सुरु गर्छौं। नियामक निकायको निर्देशनलाई पनि पर्खिरहेका छौं। दुई अर्ब पुँजीले २२ अर्ब लगानी विस्तार गर्न सकिन्छ। त्यतिले मात्र पुग्दैन। पाँच बर्षमा लगानी ४० देखि ५० अर्ब पुग्नु पर्छ। यो लगानी पुर्‍याउन त पुँजी बढाउनै पर्छ। त्यही भएर आउँदो बर्ष वाँडिने १० प्रतिशत कुल लाभांसमध्ये ५ प्रतिशत वोनस सेयर हुने छ।
पुँजी बढाउने अन्य उपायमा हामीले मर्जर र एक्विजिसनलाई पनि लिएका छौं। मर्जरमा त्यस्ता संस्था लिन्छौं जसको पुँजी धेरै प्रयोग नभएको होस्। यस्ता संस्था सानो भएपनि फरक पर्दैन। यस्ता संस्थाको पुँजी पनि प्रयोग हुने भएकाले बैंकको पुँजी थप वढ्ने छ। आगामी पाँच बर्षमा पुँजी पाँच अर्ब पुर्‍याउने पक्षमा छौं।
बजार बढ्दा सेञ्चुरीमा गरेको लगानीबाट फाइदा लिन सकिन्छ। तर, बैंकको आफ्नै …परफरमेन्स' बाट चैं लाभ उठाउन सकिन्न भन्ने छ नि?
हामी सञ्चालनमा आएताका प्रणालीमा तरलता एकदमै अभाव थियो। पुँजी लागत उच्च थियो।  त्यही भएर हामीलाई सुरुवाती चरणमा पक्कै गाह्रो भएकै हो। त्यो बेला बजार विस्तार गर्न एकदमै अप्ठेरो भएको थियो। यसले गर्दा हाम्रो परफरमेन्स अरुभन्दा केही सुस्त भएकै हो। सुस्त हुनुमा विभिन्न बैंकका संस्कार बोकेर आएका कर्मचारी एउटा संस्थामा आउँदा …टि्वनिङ' मिल्न पनि गाह्रो भयो। अब सबै जना सेञ्चुरी संस्कारमा आइसकेका छन्। अब सेञ्चुरीमा पहिलेको जस्तो अवस्था छैन। हाम्रा केही दौतरी बैंकभन्दा निक्षेप, कर्जा, नाफालगायतमा हामी माथि छौं। बीचतिर खुलेका कतिपय बैंकको हाराहारीमा अहिले हामी पुगिसकेका छौं। शाखा विस्तार राम्रो छ, ऋण लगानी, निक्षेप संकलन बढेको छ। बैंकको परफरमेन्स राम्रो भएर गएको छ।
स्प्रेड दरका कारण आम्दानीमा प्रभाव पर्छ भनिँदै आएको छ। यस्तो बेला बैंकले प्रक्षेपण गरेको लाभंस दिन सकिएला?
पक्कै पनि स्प्रेडका कारण आम्दानी प्रभावित हुन्छ। तर नयाँ बैंकको होइन पुराना बैंकको। हाम्रो स्प्रेड दर अहिले पनि पाँच प्रतिशत हाराहारीमा छ। अघिल्लो असारमा हामी ३.४५ स्प्रेडमा काम गरेर बैंकलाई जोगाएर ल्यायौं। गत असारमा ४.५ को स्प्रेडमा आयौं। अहिले हामी करिव पाँच प्रतिशतको स्प्रेडमा छौं। त्यही भएर हामीलाई स्प्रेडले असर गर्दैन। हामीले प्रक्षेपण गरेको लाभांस पाँच प्रतिशतको स्प्रेडभित्र रहेर दिन सकिन्छ।
बैंक लगानीतर्फ कतारित केन्द्रित भइरहेको छ?
हामी कृषि कर्जामा निकै अगाडि वढेका छौं। रुद्राक्ष, सुन्तलालगायतको खेतीमा समेत लगानी गरेका छौं। यो बर्ष कम्तिमा पाँच सात हजार किसानलाई लगानी गर्ने योजना छ। पाँच बर्षमा ५० हजार किसानमा हाम्रो लगानी पुग्छ।  जडिवुटी, ऊखु खेतिलगायतमा पनि हामी लगानी गरिरहेका छौं। हाम्रो पुँजी लागत कम हुन थालेकाले कर्पोरेट ग्राहकसँग पनि कारोबार विस्तार सुरु गरेका छौं। यसबाट प्रतितपत्र र गैरकोषमा आधारित आम्दानी बढाउन सजिलो हुन्छ।
हामीले अहिलेसम्म साढे ११ अर्ब रेमिटेन्स् भित्राइसकेका छौं। तीन बर्ष नपुगेसम्म भिसा कार्ड प्रयोगमा ल्याउन पाइदैन। फागुनमा तीन बर्ष पुगेपछि भिसा कार्ड पनि सुरु गर्ने छौं। मोवाइल बैंकिङलाई अझ व्यापकता  दिने छौं। अहिले चार वटा देशबाट रेमिटेन्स ल्याइरहेका छौं। अब देशहरु बढाएर प्रत्येक बर्ष कम्तिमा एक अर्ब रेमिटेन्स भित्राउने योजनामा छौं। अब कर्जा विस्तार मात्रै होइन गैर कोषमा आधारित आम्दानीमा पनि लक्षित हुन थालेका छौं।

No comments:

Post a Comment

thanks for comment