नियम विपरित अख्तियारले ऋणी विवरण मागेपछि बैंकहरु अन्यौंलमा

काठमाडौं, मंसिर ३
क्षेत्राधिकार बाहिर गएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋणीको विवरण मागेपछि बैंक तथा वित्तीय संस्थाहरु अन्यौलमा परेका छन्। बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन अनुसार चल्ने भएकाले बैंकहरुले कारोबार विवरण नियामक निकाय राष्ट्र बैंक बाहेकलाई दिन मिल्दैन। अख्तियारले भने आफ्नो कार्यक्षेत्र वाहिर गएर सोझै कर्जा विवरण माग गरेपछि बैंक तथा वित्तीय संस्थाहरु अन्यौलमा परेका हुन्।
अख्तियारमा लोकमानसिंह कार्की नियुक्त हुने वित्तिकै उनले राष्ट्र बैंकमार्फत विवरण माग गरेका थिए। ग्राहकको विवरण हुवहु दिन नमिल्ने कारणले राष्ट्र बैंकले पाँच करोडभन्दा माथिका कर्जा कति छन् भनेर विवरण पठाएको थियो। अख्तियारले अघिल्लो विवरणलाई चिक्त नवुझाएपछि सोझै बैंक तथा वित्तीय संस्थासँग एक करोड माथिका कर्जाको फाइल माग गरेको हो।
अख्तियारले सोझै एक कारोड माथिको ऋणको विवरण मागेको भन्दै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकसँग गुहार माग्न जाँदा त्यहाँबाट पनि निकास निस्किएको छैन। …राष्ट्र बैंकले स्पष्ट रुपमा मार्गदर्शन गर्नु पर्नेमा फाइल विवरण पठाउ/नपठाउ भनेर जवाफ दिन सकेको छैन,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले आइतबार नागरिकसँग भने। 
ती बैंकरका अनुसार, राष्ट्र बैंकका अधिकारीहरुसँग अनौपचारिक कुराकानी हुँदा अख्तियारले भविस्यमा दुःख दिन सक्ने हुँदा फाइल पठाएर सुरक्षित हुन सुझाव दिन थालेका छन्। …औपचारिक रुपमा भने राष्ट्र बैंकले केही पनि वोलेको छैन,' ती बैंकरले भने, …हामीले ग्राहकको सुचना दिन मिल्दैन तर राष्ट्र बैंकले यसमा पहल कदमी नगर्दा हामी अन्यौंलमा परेका छौं।'

राष्ट्र बैंकका उच्च अधिकारीहरु पनि यस बारेमा औपचारिक रुपमा केही वोल्न चाहँदैनन्। …अख्तियारले एकपछि अर्को गरेर हाम्रो कार्यक्षेत्र माथि प्रहार गरिरहेको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले नागरिकसँग भने, …आधिकारिक धारणा राखेको भरमा अख्तियारका अधिकारीहरुले प्रतिशोध साँधेमा अहिलेसम्म कमाएको इज्जत प्रतिष्ठा सबै खरानी हुन्छ।' उनले अख्तियारले बैंक तथा वित्तीय संस्थामा अस्तक्षेप गर्ने कानुनी बाटो नभएपनि उसको …रवाफ' का अगाडि राष्ट्र बैंक …निरिह' बन्नु परेको बताए।
स्रोतका अनुसार अख्तियारले लुम्बिनी बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायत एक दर्जन बैंक तथा वित्तीय संस्थासँग विवरण माग गरेको छ। अख्तियारले पहिलो चरणमा सरकारी स्वामित्व तथा लगानी भएका करिव एक दर्जन बैंक तथा वित्तीय संस्थाहरुसँग विवरण माग गरेको हो। 
अख्तियारले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुको लगानी रहेका बैंक तथा वित्तीय संस्थासँग विवरण माग गरेको हो। कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोष, राष्ट्रिय बाणिज्य बैंक, एनआइडिसी डेभलपमेन्ट बैंकलगायतले सेयर लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुसँग अख्तियारले विवरण माग गर्दै पत्र लेखेको छ। १५ दिनको समय दिँदै अख्तियारले विवरण नपठाउनेलाई कारवाही गर्ने भन्दै चेतावनी पनि दिएको छ।
अख्तियारले अहिले लगानी भएको ऋणको विवरणका अलावा अहिलेसम्म ब्याज तथा जरिवाना मिनाहा गरेका ऋणको विवरण पनि मागेको छ। …अख्तियारले सोझो नियतले विवरण मागेको होइन, बैंकको जनविश्वास नै घट्ने गरी विवरण माग गरेको छ,' ती बैंकरले भने, …राष्ट्र बैंकले बैंकरको प्रतिनिधित्व गर्दै अख्तियारलाई नियम कानुनका बारेमा जानकारी गराउन आवश्यक छ।' 
राष्ट्र बैंक स्रोतका अनुसार, केही समय अघि अख्तियारले एक बैंकका प्रमुख कार्यकारी अधिकृतलाई वोलाएर वयानका नाममा दिनभरी बन्द कोठाभित्र केरकार गरिसकेको छ। …विवरण नदिएको भन्दै अख्तियारले फेरी अरु बैंकका प्रमुख कार्यकारीहरुलाई बयानका नाममा अनावश्यक तनाव दिने भयले हामी ग्रसित भएका छौं,' एक बैंकरले भने, …राष्ट्र बैंकले अख्तियारलाई फाइल पठाउन औपचारिक निर्देशन दिएमा सजिलो हुन्थ्यो।'

No comments:

Post a Comment

thanks for comment