समस्याग्रस्त वित्तीय संस्था : सुधारका लागि व्यवसायिक समूह पठाउने तयारी

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक ८
नेपाल राष्ट्र बैंकले लामो समयदेखि समस्याग्रस्त घोषणा गरिएका वित्तीय संस्थाहरुमा सुधारको संकेत नदेखिएपछि व्यवसायिक व्यवस्थापन समूह नियुक्त गरेर सुधार प्रकृया थाल्ने भएको छ। राष्ट्र बैंकले बजारमा व्यवसायिक ख्याति कमाएका तथा विज्ञहरुको समूह बनाएर संस्था सुधार गर्ने योजना बनाएको हो।
राष्ट्र बैंकले ६ महिनामा सुधार गर्ने गरी समस्याग्रस्त घोषणा गरिएका संस्थाहरु अढाइ बर्षसम्म पनि सुधार हुन नसकेपछि अन्तिम विकल्पका रुपमा व्यवसायिक समूह पठाएर सुधारको प्रयत्न गर्न लागेको हो। 
…विग्रिएका संस्थाका दोशीहरुलाई कारवाही गरिएपनि उनीहरुकै मानिसहरुले व्यवस्थापन चलाएकाले संस्था सुध्रन सकेका छैनन्,' राष्ट्र बैंकका एक अधिकारीले भने, …अन्तिम प्रयासका रुपमा वाहिरका व्यवसायिक व्यक्तिहरुलाई पठाएर सुधार्ने विकल्पमा जाँदैछौं।' राष्ट्र बैंकले समस्याग्रस्त संस्थाहरुलाई अवस्था नसुधि्रएको र सुधारको प्रकृया अविलम्ब नथाले कारवाही गर्ने चेतावनीसहित पत्र पठाइसकेको छ। राष्ट्र बैंकले समस्याग्रस्त संस्थाहरुको वास्तविक अवस्था वुझ्न धमाधम सम्पूर्ण सम्पति तथा दायित्वहरुको मूल्यांकन (डिडिए) पनि गराइसकेको छ। 
…विज्ञापन गरेर प्रतिस्पर्धामार्फत व्यवस्थापन समूह छान्छौं,' ती अधिकारीले भने, …छानिएका व्यवसायिक जनशक्तिलाई सञ्चालक समिति र व्यवस्थापन दुवै जिम्मा दिएर सुधार गर्न लगाउँछौं।' उनले राष्ट्र बैंकको सम्वन्धित विभाग र सञ्चालक समितिले निर्णय गरेपछि प्रकृया अगाडि वढ्ने जानकारी दिए।
राष्ट्र बैंकले नयाँ व्यवस्थापन समूह पठाउनु पूर्व सम्वन्धित संस्थाका अधिकारीहरुलाई सुधारका प्रयत्नका बारेमा जानकारी माग गर्ने छ। आवश्यक ठाउँमा स्पष्टीकरण पनि सोध्ने छ। आवश्यक कानुनी प्रकृया सबै सकेपछि मात्र राष्ट्र बैंकले व्यवस्थापन समूह पठाउने निर्णय गर्ने छ। …पुससम्म हामी सबै प्रकृया सक्छौं,' ती अधिकारीले भने, …अहिलेकै प्रकृयाबाट सुधारमा गएका संस्थाहरुलाई मौका दिने छौं। सुधार नभएकामा व्यवस्थापन समूह पठाउने छौं।' 

राष्ट्र बैंकले एक संस्थामा दुईदेखि तीन व्यक्तिलाई सुधारका लागि पठाउने छ। गएका व्यवसायिक जनशक्तिलाई निश्चित समय सीमा दिएर सुधार गर्न लगाउने योजना छ। लामो समसयसम्म समस्याग्रस्तमा राख्दा बाहिर राम्रो सन्देश नगएको भन्दै राष्ट्र बैंकले अन्तिम विकल्पका रुपमा व्यसायिक व्यक्ति मार्फत सुधार प्रकृया थाल्न लागेको हो। 
…समस्याग्रस्तको अवधि वढ्दै गएकोे छ। लामो समय वित्दापनि संस्था सुधारिएर पुरानो अवस्थामा नफर्किएकाले  एक मौका दिएर छिनोफानो गर्ने नीति हो,' राष्ट्र बैंकका ती अधिकारीले शनिबार नागरिकसँग  भने, …केही संस्थामा सुधार आएका छन्। तर समय धेरै वितिसक्यो।'
राष्ट्र बैंकले एक विकास बैंकसहित सात वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। गोर्खा विकास बैंक, क्रिस्टल फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, हिमालय फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र जनरल फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको छ। गोर्खा विकास बैंकमा राष्ट्र बैंकको टोलीले व्यवस्थापन लिएर सुधार प्रकृया अगाडि बढाइरहेको छ। राष्ट्र बैंकले नेपाल विकास बैंक, युनाइटेड विकास बैंक र सम्झना फाइनान्सलाई खारेजीमा पठाइसकेको छ। 
…एउटा मात्र संस्था समस्याग्रस्त भएको भए तत्काल निर्णय गर्न सकिन्थ्यो,' राष्ट्र बैंक स्रोतले भन्यो, …धेरै संस्था समस्याग्रस्त भएकाले राष्ट्र बैंकले अप्रिय निर्णय (खारेजीमा पठाउँदा) गर्दा बैंकिङ प्रणालीमा असर गर्न सक्छ। त्यही भएर सुधारका विकल्पमा गइएको हो।' 
अहिले संस्था चलाइरहेका व्यवस्थापनले कारवाहीमा परेका प्रवर्द्धहरुको चाहना अनुसार कार्य गर्दा सुधार आउन सकेको छैन। दसैमा पनि कतिपय संस्थाहरुले सर्वसाधारणको निक्षेप फिर्ता गरेनन्। राष्ट्र बैंकले नयाँ समूहलाई सम्पति लिलाम गर्दै ऋण उठाउने र सर्वसाधारणको पैसा फिर्ता गर्न लगाउने छ। 
अहिलेसम्म समस्याग्रस्त संस्थाहरुले असल ऋण मात्र उठाइरहेका छन्। असल ऋण सकिएको र खराव ऋण मात्र बाँकी रहेकाले संस्थाहरुको अवस्था थप विग्रिएर गएको राष्ट्र बैंकका ती अधिकारीले जानकारी दिए। …अहिलेको व्यवस्थापनले सम्पति धितो लिलाम गर्न सकिरहेको छैन,' ती अधिकारीले भने, …नयाँ समूहले संस्था सुधार गर्न सबै खालका कार्यहरु गर्ने छ।'
समस्याग्रस्त घोषणा गरिएका संस्थाका अधिकांस सञ्चालक, प्रवर्द्धक, व्यवस्थापनका अधिकारीहरु बैंकिङ कसुर अभियोग लागेका छन्। यसमध्ये केही प्रहरी थुनामा छन् भने केही धरौटी बुझएर मुक्त त केही फरार छन्।  बैंक सञ्चालक र व्यवस्थापक नै संलग्न रहेको मुद्दाबाट सरकारले करिव १७ अर्ब रुपैयाँ बराबरको विगो सहित अदालतमा मुद्दा दायर गरेको छ। ऋण दुरुपयोग मुद्दाका आरोपीमध्ये आधालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ, ५० जनाभन्दा वढी प्रहरीको फरार सुचीमा छन्।

No comments:

Post a Comment

thanks for comment