दसैंले मूल्य बृद्धि बढायो, साउनमा ७.९, भदौमा ८, असोजमा ८.४ प्रतिशत मूल्य बृद्धि

काठमाडौं, मंसिर १० 
तरकारी, माछामासु, खाद्यान्न र रेष्टुरेन्ट तथा होटलको मूल्य बढेपछि समग्र मूल्य बृद्धि ८.४ प्रतिशतले बढेको छ। भदौमा ८ प्रतिशतमा सीमित रहेको मूल्य बृद्धि कर्मचारीको तलव, दसैं र निर्वाचनका कारण उकालो लागेको हो। 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोजसम्मको तथ्यांक अनुसार, खाद्यान्न तथा पेय पदार्थ र सेवा क्षेत्रको मूल्य बढेको छ। साउनमा ७.९ प्रतिशत रहेको मूल्य बृद्धि दर त्यसयता निरन्तर बढिरहेको छ। 
सरकारी खर्चमा सुधार आएको र बैंक तथा वित्तीय संस्थाहरुको कर्जा पनि केही बढेका कारण मूल्य बृद्धिमा चाप देखिएको हो। माछामासुको मूल्य बृद्धि १८.५ प्रतिशत, होटलको खानाको ११.९, तरकारीको १४ र खाद्यान्नको ११.५ प्रतिशतले मूल्य बढेको छ। जुत्ताचप्पल, फर्निसिङ तथा घरायसी उपकरणहरुको मूल्य बृद्धि पनि उकालो लागेको छ। दसैंको मुखमा अमेरिकी डलरको मूल्य सय रुपैयाँ नाघेका कारण वाहिरबाट भित्रिने लत्ताकपडाको मूल्य पनि बढेको छ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा वढी मूल्य बृद्धिको मार तराईमा परेको छ। तराईको मूल्य बृद्धि दर ९.३  प्रतिशत छ।  काठमाडौं उपत्यकाको  ८.४  प्रतिशत  र  पहाडको ७ प्रतिशतले मूल्य बृद्धि भएको छ। यद्यपी यस बर्षको मूल्य बृद्धि दर गत बर्षको भन्दा कमै हो। देशभर गत बर्ष मूल्य बृद्धि १०.५ प्रतिशतले बढेको थियो।

बैदेशिक ब्यापार
चालु बर्षको पहिलो तीन महिना (साउन–असोज) को निर्यात ब्यापार ११.३ प्रतिशतले बढेको छ। गत बर्षको तुलनामा भने यो बृद्धि दर कमै हो। गत बर्ष असोजमा निर्यात १४.९ प्रतिशतले बढेको थियो। असोजसम्म कुल २३ अर्ब सात करोडको बस्तु तथा सेवा निर्यात भएको छ। 
बैंक ऋण अपेक्षा अनुसार विस्तार नभएका कारण बस्तु तथा सेवाको आयात पनि घटेको छ। अघिल्लो बर्ष असोजमा ३६.१ प्रतिशतले बढेको आयात यसपाली जम्मा ११.३ प्रतिशतले बढेको छ। असोजसम्म कुल १५१ अर्ब ८६ करोडको बस्तु तथा सेवा आयात भएको छ।
निर्यातको तुलनामा आयात उच्च रहेकाले कुल बस्तु व्यापार घाटा ११.३ प्रतिशतले बढेको छ। भदौसम्म १२.८ प्रतिशतले बढेको थियो। असोजमा कुल व्यापा घाटा १२८ अर्ब ७९ करोड पुगेको छ। 
कुल ब्यापार घाटामध्ये भारततर्फको १४.२ प्रतिशतले बढेको छ। भारतवाहेकका मुलुकको व्यापार घाटा ५.९ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार, कुल वस्तु निर्यातमध्ये भारततर्फ १८.२ प्रतिशतले बढेको छ। भारतमा खासगरी जिङ सिट, जुस, अलैची, आयुर्वेदिक औषधि, जुक्ता चप्पललगायत निर्यात बढेको छ। भारत बाहेकका मुलुकमा पनि निर्यात १.२ प्रतिशतले बढेको छ। अन्य मुलुकमा उनी गलैचा, तयारी गलैचा, पश्मिना र जडिवुटीको निर्यात बढेको छ। 
शोधनान्तर बचत
देशबाट वाहिरिने भन्दा भित्रिने रकम बढी भएकाले शोधनान्तर बचतमा रहेको छ। असोजसम्म शोधनान्तर बचत ५२ अर्ब ७४ करोड भएको छ। गत साउनमा १६ अर्ब ९ करोड बचतमा रहेको शोधनान्तर भदौसम्म आइपुग्दा ३३ अर्ब पुगेको थियो। अघिल्लो बर्षको असोजमा शोधनान्तर दुई अर्ब पाँच करोड रुपैयाँ बचत थियो।
असोजमा बैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा (रेमिटेन्स) को बृद्धि दर समेत बढेको छ। अघिल्लो महिनासम्म बृद्धि दर घटिरहेको थियो। दसैंका कारणले पनि रेमिटेन्सको बृद्धि दर बढेको को। अघिल्लो असोजमा २८.८ प्रतिशत रहेको रेमिटेन्सको बृद्धि दर यसपाली ३८.२ प्रतिशतमा उक्लिएको छ। असोजसम्म १३५ अर्ब ३ करोड  रुपैयाँ रेमिटेन्स भित्रिएको छ। 
भदौसम्म कुल विदेशी मुद्राको सञ्चितिमा पनि १३.८ प्रतिशतले बढेर ६०६ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चितिमध्ये  राष्ट्र बैंकमा रहेको सञ्चिति १२.२ प्रतिशतले बढेर ५०८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। बैंकिङ क्षेत्रमा अमेरिकी डलरमा सञ्चिति ९.६ प्रतिशतले बढेर ६ अर्ब १५ करोड पुगेको छ।
असोजसम्म सरकारले वैदेशिक नगद ऋण १ अर्ब १९ करोड रुपैयाँ प्राप्त गरेको छ। सरकारले नगद अनुदान १३ अर्ब ३९ करोड प्राप्त गरेको छ। अघिल्लो बर्ष असोजमा सरकारले ४४ करोड ९२ लाख ऋण र तीन अर्ब ६६ करोड अनुदान पाएको थियो। 
चालु बर्षको असोजमा सरकारी खर्चमा केही सुधार देखिएको छ।सरकारी खर्च ७.२ प्रतिशतले बढेर ५७ अर्ब ११ करोड रुपैयाँ पुगेको हो। अघिल्लो बर्ष यतिबेला सरकारी खर्च ५३ अबै २९ करोड भएको थियो।  खर्च सामान्य बढेका कारण सरकार ३२ अर्ब ६२ करोड बचतमा रहेको छ। भदौमा सरकारी बचत ३५ अर्ब ४४ करोड रुपैयाँ थियो। गत बर्ष असोजमा सरकार जम्मा १० अर्ब ९४ करोड बचतमा थियो। सरकार बचतमा हुँदा विकास निर्माण प्रभावित हुन्छ
बैंकिङ निक्षेप–कर्जा
असोजमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.२ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाले ४९ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। अघिल्लो बर्ष असोजमा २४ अर्ब ९७ करोड निक्षेप बढेको थियो। 
कुल निक्षेपमध्ये बाणिज्य बैंकको ३.९ प्रतिशत, विकास बैंकको ४.८ प्रतिशत र वित्त कम्पनीको ३.३ प्रतिशतले बढेको छ। लगानी योग्य पुँजी बढेर ब्याज दर घट्न थालेपछि बाणिज्य बैंकको निक्षेप बृद्धि दर विकास बैंकको भन्दा कम भएको हो। बाणिज्य बैंकको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीहरुले बढी ब्याज दिन्छन्।
असोजमा बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार २.७ प्रतिशत अर्थात ३१ अर्ब ११ करोड रुपैयाँले बढेको छ। अघिल्लो बर्ष कर्जाको विस्तार ५.४ प्रतिशत अर्थात ५१ अर्ब ७९ करोडले बढेको थियो। बाणिज्य बैंकहरुको कर्जा २.३ प्रतिशत, विकास बैंकको ३.६ प्रतिशत र वित्त कम्पनीको २.२ प्रतिशतले बढेको छ। 
बैंक तथा वित्तीय संस्थाहरुले दुई महिनामा निजी क्षेत्रमा ३७ अर्ब ६६ करोड कर्जा लगानी गरेका छन्। यो अघिल्लो बर्षको तुलनामा ४ प्रतिशतले बढी हो। बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा दिएको कर्जामध्ये औद्योगिक उत्पादनमा १० अर्ब पाँच करोड कर्जा लगानी बढाएका छन्। 
कृषि कर्जा पनि एक अर्ब ७० करोड रुपैयाँले बढेो छ। अघिल्लो बर्ष ४ अर्ब ८५ करोड कृषिमा लगानी भएको थियो। निर्माण क्षेत्रको कर्जा ४ अर्ब ८५ करोड, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रको कर्जा ४१ करोड र थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३ अर्ब २२ करोडले बढेको छ। 

No comments:

Post a Comment

thanks for comment