अर्थमन्त्री शंकर कोइराला भन्छन् …स्वस्थ अर्थतन्त्र नयाँ सरकारलाई जिम्मा लगाउँदै छु'

शंकरप्रसाद कोइराला
अर्थमन्त्री
अब कार्यकाल पनि सकिँदैछ। कस्तो अर्थतन्त्र नयाँ आउने अर्थमन्त्रीलाई छाडेर जाँदै छु जस्तो लाग्छ?
आफूले जिम्मा लिएको समयको भन्दा राम्रो अर्थतन्त्र नयाँ आउने अर्थमन्त्रीलाई वुझाउने मेरो चाहना पुरा हुने छ। अहिलेको वृहत्त अर्थतन्त्र हेर्ने हो भने राजश्व वृद्धि राम्रोसँग बढेको छ। विदेशी विनिमय मौज्दात बढेको छ। शोधनान्तर अवस्था एकदमै सहज छ। रेमिटेन्स हाम्रो बजेटको आकार बराबर आइसकेको छ। मूल्य बृद्धि पनि सीमाभित्र छ। पुँजीगत खर्च पनि विस्तारै वढ्दै गएको छ। नयाँ आउने अर्थमन्त्रीलाई स्वस्थ अर्थतन्त्र हस्तान्तरण गर्ने छु। सबल र सक्षम अर्थतन्त्रको साँचो निर्वाचित अर्थमन्त्रीलाई वुझाउन पाउनु गौरवको विषय पनि हो। 
उद्योगमन्त्रीका हिसावले उद्योगी, व्यवसायी र लगानीकर्तामा छाएको निरासाको वातावरणलाई आशावादी दृष्टीकोणमा ढाल्न म सफल भएँ जस्तो लाग्छ। वाणिज्यका क्षेत्रमा उल्लेखनीय प्रगति गर्न नसके पनि आपुर्ति व्यवस्थापनलाई सहज बनाउन सफल भएको छु। नौं महिनाको अवधिमा न मल अभाव भयो, पेट्रोल पम्पमा लाइन लाग्यो। चिनी, खाद्यान्न, तेल, घिउ, नुनजस्ता अत्यावश्यक बस्तुको असहज आपुर्ति भयो। अर्थ, वाणिज्य र उद्योग तिनै क्षेत्रमा मैले आफ्नो छोटो अवधिमा आमुल परिवर्तन गर्न नसके पनि सन्तोष गर्न सक्ने जति काम गरेको छु। राम्रो व्यवस्थापन गर्न सक्यो भने देशको शासन व्यवस्थाले राम्रो प्रतिफल दिन सक्दछ र जनताको विश्वास आर्जन गर्न सक्दछ भन्ने सन्देश दिन म सफल भएँजस्तो लाग्दछ। 


उद्योग, ऊर्जा सचिव भइसकेको हिसावले तपाईसँग अपेक्षाहरु थिए। फेरी, अर्थमन्त्री हुने वित्तिकै सुधारका कुराहरु गर्नु भएको थियो, त्यो त भएन नि? 
सुधार भनेको गन्तब्य होइन, प्रकृया हो, जुन निरन्तर चलिरहन्छ। त्यो निरन्तरता दिने प्रयास मैले गरेको छु। हाम्रो कार्यकाल नै अल्पकालको भएकाले पनि धेरै गर्न सकिएन। फेरी हाम्रो मुल कार्यसुचि निर्वाचन सफल बनाउनु थियो। र अर्को कार्यसुची अर्थतन्त्रलाई सवल र चुस्त बनाउनु पर्नेमा केन्द्रित रहनु हो। छोटो अवधिमा हामीले धेरै राम्रो गर्न नसके पनि अर्थतन्त्रलाई विगारेका भने छैनौं। पद्धति, प्रणाली र प्रकृया सुधारमा यो सरकारको योगदान उल्लेख्य छ जस्तो मलाई लाग्छ। यसको नतिजा केही समयपछि मात्र देखिने छ। 

तपाईले युवा स्वरोजगार कार्यक्रमलाई सुधार्छु भन्नु भएको थियो, पेट्रोलियम क्षेत्रमा अनुदान दिनु हुँदैन, स्वचालित मूल्यमा जानु पर्छ भन्नु भएको थियो। उद्योग अन्तर्गत केही ऐनमा परिवर्तन गर्छु भन्नु भएको थियो। यि कुनै पनि गर्न सक्नु भएन नि?
युवा स्वरोजगार कार्यक्रमको उद्देश्य राम्रो छ। हामीले यसमा केही सुधार प्रयास पनि गरेका छौं। ऋणीहरुले यो सरकारले दिएको अनुदान हो ऋण होइन भन्ने हिसावले ग्रहण गरेको अवस्था थियो। यो ऋण हो कर दाताको पैसा हो भन्ने सन्देश दिन हामी सफल भएका छौं। असुलीमा हामीले उल्लेखनीय सफलता प्राप्त गरेका छौं। ऋणीको कार्यसम्पादन हेरेर दोस्रो र तेस्रो किस्ताका ऋण दिने व्यवस्था गरिएको छ। पहिले कति सहकारीले पैसा लगे भन्ने अंक मात्र थाहा हुन्थ्यो। अहिले हामीले ऋणीहरुको विस्तृत विवरण संकलन गरेर वेवसाइटमा राखेका छौं। 
आयाल निगमको हकमा ठिकै भन्नु भयो हामीले स्वचालित मूल्यमा जान सकेनौं। हाम्रो उद्देश्य भनेको स्वचालितमा नै जाने हो। हामीले मूल्य बृद्धि नौ महिनाको अवधिमा दुई पटक गर्‍यौं। नीतिगत हिसावले आयल निगमको एकाधिकार तोड्नु पर्छ र प्रतिस्पर्धामा जानु पर्छ भन्ने हाम्रो चाहना हो। छोटो अवधिमा यो गर्न सम्भव भएन। अब निर्वाचित सरकारले गर्ने छ। २१ बर्ष पुरानो औद्योगिक ऐनलाई नयाँ बनाउनु पर्छ भन्ने मेरो प्रतिवद्धता थियो। यस सम्वन्धि ऐन लामो गृहकार्यपछि सहमति गरेर मन्त्रीपरिषद्सम्म पुर्‍याएका छौं। विदेशी लगानी नीति र ऐनमा पनि अगाडि बढेका थियौं। तर यसका केही विवादहरु निरुपण गर्न वाँकी रहेकाले अगाडि वढाउन सकेनौं। लगानी स्वदेशभित्र ल्याउने मात्र हो की वाहिर पनि लैजाने भन्ने विषयलाई राजनीतिक दलहरुको पनि परामर्शमा टुङ्ग्याउनु पर्ने भएकाले यसलाई अगाडि नवढाइएको हो। गृहकार्य गरेर अन्तिम अवस्थामा भने पुर्‍याएका छौं। 

हामीले ५.५ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्यसहित समयमा बजेट आयो। चार महिनाको अवधिमा विकास खर्च बढेको छैन। बैंकको ऋण पनि गएको छैन। अब हामी ५.५ प्रतिशतमा कसरी पुग्छौं?
साढे पाँचमा पुग्ने भनेको दुई किसिमले हो। एउटा औद्योगिक उत्पादनतर्फ हाम्रो अवस्था धेरै आशाजनक छैन। तर पनि हामीले औद्योगिक वातावरण पहिलेभन्दा विग्रिन नदिएको कारणले र लगानीका लागि थप अवशरको श्रृजना गरेको हुनाले विदेशी लगानी पनि आकर्षित भइरहेको छ। यसले गर्दा औद्योगिक क्षेत्र पनि पहिलेजस्तो उत्पादन घट्ने भन्ने हुँदैन। यो क्षेत्रको योगदान यसपाली वढ्ने अपेक्षा छ। कृषि क्षेत्रमा यसपल्ट भने निकै राम्रो छ। धान वाली उत्पादन १० प्रतिशतले बढेको छ। यसपाली कृषि क्षेत्रको योगदान राम्रो रहन्छ। यसपल्ट साढे पाँच प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल गर्न सक्छौं भन्ने हामीलाई विश्वास छ। 

मनसुनका कारणले धान वाली राम्रो भएको हो, धानका कारणले लक्ष्य प्राप्त हुन्छ भन्नु भयो। तर हामीले बजेट समयमा ल्याएपनि यसले अर्थतन्त्रलाई माथि उकास्ने काम त गरेन नि त्यसो भए?
बजेट समयमा आयो। समयमा अख्तियारीहरु गयो। कार्यक्रमहरु समयमा स्वीकृति भए। राष्ट्रिय गौरवका आयोजनामा व्यवस्थापन सम्झौता गर्ने काम पनि सम्पन्न भयो। पहिलो चौमासिक भनेको आयोजना सुरु गर्ने तयारी समय हो। हामीले मंसिर मसान्तसम्म ठेक्कापट्ठा गरिसक्छौं। विकास आयोजनामा खर्च नभएपनि आवश्यक पूर्वतयारी सवै सकिइसकेको छ। निर्वाचनले गर्दा विकासका कार्यक्रमहरु अलिकति अवरोध आएको हो। पुँजीगत खर्च बढाउने पुर्वाधारका काम सकिइसकेको छ।

अर्थमन्त्रीका हिसावले आम अपेक्षाहरु पुरा गर्न कत्तिको गाह्रो हुने रहेछ?
स्रोत साधनको परिचालन गर्ने निकाय भएकाले अर्थमन्त्रालय प्रतिको आशा अपेक्षहरु अत्यन्तै महत्वकांक्षी हुने रहेछ। अर्थमन्त्रालयका कर्मचारी समूह एकदमै सक्षम छन्। यसलाई सही ढंगले परिचालन गर्न सक्नु पर्छ। हाम्रो ग्राहक भनेको अन्य क्षेत्रगत मन्त्रालय हुन् । ती मन्त्रालयले हामीलाई सहयोग नगरेसम्म अर्थले मात्र केही गर्न सक्दैन। अर्थमन्त्रालयले व्यवस्थापन मात्र गर्न सक्छ। तर अन्य मन्त्रालयको सहकार्य आवश्यक छ। सबैको समुचित सहकार्य भयो भने विकासलाई तिव्रता दिन सकिन्छ भन्ने मैले यहाँ आएपछि वुझेको छु। स्रोत साधनहरु छर्ने परिपाटी थियो। सरकार फेरिएसँगै प्राथमिकता फेरिने प्रवृत्तिले हामी पछि परेका हौं। हाम्रा राष्ट्रिय महत्वका क्षेत्रहरु पुर्वाधार, जलविद्युत्, कृषि र पर्यटनमा राज्यले पाँच बर्षसम्म प्राथमिकतामा राखेर काम गर्न पाउने हो भने यो क्षेत्रमा उल्लेखनीय प्रगति गर्न हामी सक्छौं। 

सचिव हुनु भयो। मन्त्री हुनु भयो। अबको बाटो कता हुन्छ?
यो ठाउँमा पुगिसकेकाले मेरा अरुतिर जाने बाटाहरु सबै बन्द भएका छन्। मन्त्री भएका कारणले मैले अब पढाएर खान सक्ने, परामर्शदाता भएर काम गर्ने वा विदेशी संस्थामा जागिर खाने विकल्पहरु समाप्त भएर गएका छन्। आफ्नो विषयमा केही सोच्नु पर्ने अवस्था भने आएको छ। तर मैले  तत्काल केही धारणा भने बनाएको छैन। देशको लागि कुनै न कुनै भूमिकामा योगदान गरिराख्छु भन्ने मेरो चाहना छ। त्यो उपयुत्त स्थान राजनीति हुन्छ हुँदैन त्यो निर्क्योल हुन भने बाँकी छ। तर म निस्किृय बस्दिन, साहित्य संगीत वाहेक पनि सक्रिय जीवन विताउँछु। 

No comments:

Post a Comment

thanks for comment