अर्थतन्त्र मन्दीमा

काठमाडौं, कात्तिक ७  
सरकारी खर्च निकै घट्नुका साथै बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा गिरावट आएपछि अर्थतन्त्रमा मन्दी छाएको छ। ५.५ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले बजेट ल्याएपनि खर्च निकै कम गरेको र बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी विस्तार गर्न नसक्दा अर्थतन्त्रमा मन्दी छाएको हो।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको भदौसम्मको आर्थिक प्रतिवेदनले सरकारी खर्च २९.४ प्रतिशतले घटेर १९ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो बर्ष सरकारी खर्च २१.४ प्रतिशतले बढेको थियो। खर्च घटेका कारण सरकार ३५ अर्ब ४४ करोड रुपैयाँ बचतमा छ। सरकारी खर्च नहुँदा विकास निर्माणका कामहरु अवरुद्ध हुन्छन्।
अघिल्लो बर्ष भदौसम्म २५ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेका मुलुकका बैंक तथा वित्तीय संस्थाले यसपाली त्यसको आधा मात्र लगानी गर्न सकेका छन्। चालु बर्षको भदौसम्म कर्जा विस्तार १२ अर्ब ७५ करोड रुपैयाँ मात्र भएको छ। बैंकहरुले ऋणको ब्याज घटाउँदा पनि लगानी विस्तार हुन सकेको छैन। 
निर्वाचन आँगनमै आइसकेकाले निजी क्षत्रका गतिविधि सुस्ताएको छ। सरकारको ध्यान पनि विकास निर्माणबाट हटेको छ। सरकारले खर्च र निजी क्षेत्रले लगानी विस्तार घटाउँदा अर्थतन्त्रमा मन्दी छाएको हो। 
गत बर्ष निजी क्षेत्रमा १६ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी भएकोमा यसपाली जम्मा १० अर्ब ८२ करोड मात्र भएको छ। त्यसमा पनि औद्योगिक उत्पादनमा दुई अर्ब ६७ करोड मात्र कर्जा लगानी भएको छ। अघिल्लो बर्ष औद्योगिक उत्पादनमा पाँच अर्ब ३९ करोड रुपैयाँ लगानी भएको थियो। कृषि कर्जा पनि ४६ करोडले घटेको छ। अघिल्लो बर्ष दुई अर्ब १० करोड कृषिमा लगानी भएको थियो।

निर्यात व्यापार पोहोरको भन्दा घटेको छ। बैंक ऋण विस्तार नभएका कारण बस्तु तथा सेवाको आयात पनि घटेको छ। अघिल्लो बर्ष भदौमा २९.७ प्रतिशतले बढेको आयात यसपाली जम्मा १२.१ प्रतिशतले मात्र बढेको छ। भदौसम्म कुल एक खर्ब एक अर्ब ६६ करोडको बस्तु तथा सेवा आयात भएको छ। निर्यात व्यापार अघिल्लो बर्ष ११.९ प्रतिशतले बढेकोमा यसपाली ८.६ प्रतिशतले मात्र बृद्धि भएको छ। 
मूल्य बृद्धि घट्यो
घरायसी उपकरण, फर्निसिङ, कपडा तथा जुक्ता चप्पलको मूल्यमा क्रमशः गिरावट आउन थालेपछि समस्त मूल्य बृद्धि दर घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौको तथ्यांक अनुसार, मूल्य बृद्धि दर ८ प्रतिशतमा सीमित भएको छ।
अघिल्लो बर्ष भदौमा बस्तु तथा सेवाको मूल्य बृद्धि ११.२ प्रतिशत थियो। साउनको तुलनामा भने मूल्य बृद्धि सामान्य बढेको छ। गत साउनमा मूल्य बृद्धि ७.९ प्रतिशत थियो। अघिल्लो बर्षको साउनमा पनि मूल्य बृद्धि दर ११.२ प्रतिशत नै थियो। 
फर्निसिङ तथा घरायसी उपकरणहरुको मूल्य बृद्धि १४.६ प्रतिशतबाट १०.४ प्रतिशतमा सीमित भएको छ। यस्तै लत्ता कपडा तथा जुक्ता चप्पलको मूल्य बृद्धि पनि १५.१ प्रतिशतबाट घटेर ९.८ प्रतिशतमा समेटिएको छ। बस्तु तथा समानहरुको मूल्य बृद्धि ९.९ प्रतिशतबाट घटेर ८.९ प्रतिशतमा झरेको छ। शिक्षा क्षेत्रको मूल्य बृद्धि १२.५ प्रतिशतबाट झरेर ७.८ प्रतिशतमा आएको छ।
भदौमा खाद्यान्न तथा तरकारीको मूल्यमा भने उच्च बृद्धि भएको छ। तरकारीहरुको मूल्य अघिल्लो बर्ष ९.९ प्रतिशतले बढेकोमा यसपाली १८.६ प्रतिशत बढेको छ। माछामासु तथा रेष्टुरेन्ट तथा होटलको खाना र सेवाको मूल्य पनि बढेको छ। माछामासुको मूल्यको बृद्धि दर अघिल्लो भदौमा १२.५ प्रतिशत रहेकोमा यसपाली १७ प्रतिशत पुगेको छ। रेष्टुरेन्ट तथा होटलको खाना र सेवाको मूल्य बृद्धि पनि १२.७ प्रतिशतबाट बढेर १७.९ प्रतिशत पुगेको छ। 
भदौमा सबैभन्दा वढी मूल्य बृद्धि तराइमा भएको छ। तराईको मूल्य बृद्धि ८.७ प्रतिशत छ। काठमाडौं उपत्यकामा ७.८ प्रतिशत र पहाडमा ७ प्रतिशतले मूल्य बढेको छ। यद्यपी अघिल्लो बर्षको भदौको भन्दा यो मूल्य बृद्धि दर कमै हो। अघिल्लो भदौमा तराईको मूल्य बृद्धि ११.२, काठमाडौंको ११.९ र पहाडको १०.५ प्रतिशतले बढेको थियो। 
बैदेशिक ब्यापार
चालु बर्षको पहिलो दुई महिना (साउन–भदौ) को निर्यात ब्यापार खस्किएको छ। अघिल्लो बर्ष ११.९ प्रतिशतले बढेको निर्यात व्यापार यसपाली ८.६ प्रतिशतले मात्र बढेको छ। भदौसम्म कुल १५ अर्ब १६ करोडको बस्तु तथा सेवा निर्यात भएको छ। गत साउनको तुलनामा भदौमा निर्यात व्यापार अझ घटेको छ। एक महिनामा ०.३ प्रतिशतले निर्यात घटेको हो।
बैंक ऋण विस्तार नभएका कारण बस्तु तथा सेवाको आयात पनि घटेको छ। अघिल्लो बर्ष भदौमा २९.७ प्रतिशतले बढेको आयात यसपाली जम्मा १२.१ प्रतिशतले मात्र बढेको छ। भदौसम्म कुल एक खर्ब एक अर्ब ६६ करोडको बस्तु तथा सेवा आयात भएको छ। 
निर्यातको तुलनामा आयात उच्च रहेकाले कुल बस्तु व्यापार घाटा १२.८ प्रतिशतले बढेर ८६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कुल ब्यापार घाटामध्ये भारततर्फको १७.८ प्रतिशतले बढेको छ। भारतवाहेकका मुलुकको व्यापार घाटा ३.८ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार, कुल वस्तु निर्यातमध्ये भारततर्फ १८.५ प्रतिशतले बढेको छ। भारतमा खासगरी जिङ सिट, जुस, अलैची, आयुर्वेदिक औषधि, जुक्ता चप्पललगाय निर्यात बढेको छ। भारत बाहेकका मुलुकमा पनि निर्यात ३४.८ प्रतिशतले बढेकोमा यसपाली ४.८ प्रतिशतमा सीमित भएको छ। अन्य मुलुकमा दालहन, प्रशोधित छाला, हस्तकलाका सामानको निर्यात घटेको छ। 
शोधनान्तर बचत
देशबाट वाहिरिने भन्दा भित्रिने रकम बढी भएकाले शोधनान्तर बचतमा रहेको छ। गत साउनमा १६ अर्ब ९ करोड बचतमा रहेको शोधनान्तर भदौसम्म आइपुग्दा ३३ अर्ब पुगेको छ। अघिल्लो बर्षको भदौको तुलनामा भने यो निकै कम हो। अघिल्लो भदौमा शोधनान्तर ५ अर्ब ५२ करोड रुपैयाँ बचत थियो।
भदौमा बैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा (रेमिटेन्स) को बृद्धि दर केही घटेको छ। अघिल्लो भदौमा ३८.१ प्रतिशत रहेको रेमिटेन्सको बृद्धि दर यसपाली ३४.७ प्रतिशतमा झरेको छ। भदौसम्म ८८ अर्ब ४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। गत साउनमा ४१ अर्ब ८७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।
भदौसम्म कुल विदेशी मुद्राको सञ्चितिमा पनि ९.६ प्रतिशतले बढेर पाँच सय ८४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चितिमध्ये  राष्ट्र बैंकमा रहेको सञ्चिति ९.१ प्रतिशतले बढेर चार सय ९४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। बैंकिङ क्षेत्रमा अमेरिकी डलरमा सञ्चिति २.८ प्रतिशतले बढेर पाँच अर्ब ७७ करोड पुगेको छ।
भदौसम्म सरकारले वैदेशिक नगद ऋण ८९ करोड रुपैयाँ प्राप्त गरेको छ। सरकारले नगद अनुदान सात अर्ब २५ करोड प्राप्त गरेको छ। अघिल्लो ब र्ष भदौमा सरकारले ४९ करोड ऋण र दुई अर्ब ४८ करोड अनुदान पाएको थियो। 
चालु बर्षको भदौमा सरकारी खर्च उच्च विन्दुले घटेको छ। सरकारी खर्च २९.४ प्रतिशतले घटेर १९ अर्ब ७१ करोड रुपैयाँ मात्र भएको छ। अघिल्लो बर्ष यतिबेला सरकारी खर्च २१.४ प्रतिशतले बढेको थियो। खर्च घटेका कारण सरकार ३५ अर्ब ४४ करोड रुपैयाँ बचतमा छ। अघिल्लो बर्ष १३ अर्ब ३५ करोड बचत थियो। सरकारी बचत रकम बढ्दा विकास निर्माणका कार्यहरु सुस्त हुन्छ। 
बैंकिङ निक्षेप–कर्जा
भदौमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १ प्रतिशतले मात्र बढेको छ। बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। अघिल्लो बर्ष भदौमा ६ अर्ब १५ करोड निक्षेप बढेको थियो। 
कुल निक्षेपमध्ये बाणिज्य बैंकको ०.९ प्रतिशत, विकास बैंकको २.७ प्रतिशत र वित्त कम्पनीको ३.२ प्रतिशतले बढेको छ। लगानी योग्य पुँजी बढेर ब्याज दर घट्न थालेपछि बाणिज्य बैंकको निक्षेप बृद्धि दर विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम भएको हो। बाणिज्य बैंकको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीहरुले बढी ब्याज दिन्छन्।
भदौमा बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार १.१ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँले बढेको छ। अघिल्लो बर्ष कर्जाको विस्तार २.७ प्रतिशत अर्थात २५ अर्ब ८९ करोडले बढेको थियो। बाणिज्य बैंकहरुको कर्जा ०.९ प्रतिशत, विकास बैंकको ३.३ प्रतिशत र वित्त कम्पनीको २.३ प्रतिशतले बढेको छ। 
बैंक तथा वित्तीय संस्थाहरुले दुई महिनामा निजी क्षेत्रमा १० अर्ब ८२ करोड कर्जा लगानी गरेका छन्। यो अघिल्लो बर्षको तुलनामा १.१ प्रतिशतले बढी हो। अघिल्लो बर्ष यतिबेला निजी क्षेत्रमा १६ अर्ब ५९ करोड रुपैयाँ कर्जा गएको थियो। 
बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा दिएको कर्जामध्ये औद्योगिक उत्पादनमा दुई अर्ब ६७ करोड कर्जा लगानी गरेका छन्। अघिल्लो बर्ष औद्योगिक उत्पादनमा पाँच अबृ ३९ करोड रुपैयाँ लगानी भएको थियो। कृषि कर्जा पनि ४६ करोडले घटेको छ। अघिल्लो बर्ष दुई अर्ब १० करोड कृषिमा लगानी भएको थियो।
निर्माण क्षेत्रको कर्जा तीन अर्ब २७ करोड, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रको कर्जा ६५ करोड र थोक तथा खुद्रा व्यापारतर्फको कर्जा तीन अर्ब ८७ करोडले बढेको छ।  

No comments:

Post a Comment

thanks for comment