दर्जन संस्था मर्जरको तयारीमा

काठमाडौं, पुस २४
राष्ट्र बैंकले पुँजी बृद्धिको संकेत गरेपछि बैंक तथा वित्तीय संस्थाहरुमा पुनः मर्जको चहलपहल सुरु भएको छ। अधिकांस बैंक तथा वित्तीय संस्थाहरुको यसपालीको बार्षिक साधारणसभाले एक आपसमा गाभ्न गाभिने विषयलाई अगाडि वढाउन आफ्ना सञ्चालक समितिहरुलाई अख्तियारीसमेत दिइसकेका छन्।
पुँजी बढाउने संकेत मिलेपछि कतिपय बैंक तथा वित्तीय संस्थाहरु गाभिनका लागि उचित संस्था खोजिदिन राष्ट्र बैंकलाई आग्रह नै गरिसकेका छन् भने कतिपयले मर्जरका लागि प्रकृया अगाडि वढाएका छन्। अघिल्लो बर्ष मर्जर नीति आएपछि कतिपय बैंक तथा वित्तीय संस्थाहरु गत बर्ष आफै मर्जरमा गएका थिए। यसपाली भने थप लगानी गर्नुको साटो मर्जरमा गएर पुँजी बृद्धि गर्ने योजना अनुसार बैंक तथा वित्तीय संस्थाहरुले मर्जरलाई रणनीतिक रुपमा लिएका छन्।

अहिले सेञ्चुरी कमर्सियल बैंक, जनता बैंक नेपाल, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक भित्रभित्रै मर्जरको प्रकृया सुरु गरिसकेका छन्। यसबाहेक लुम्बिनी बैंकले मञ्जुश्री फाइनान्ससँग र ग्लोबल आइएमइले कमर्ज एन्ड ट्रस्ट बैंक नेपालसँग सम्झौतै गरिसकेका छन्। 
लुम्बिनीले मञ्जुश्रीसँगै अन्य केही संस्थासँग पनि मर्जरको कुराकानी गरिरहेको स्रोतले जानकारी दियो। सिभिल बैंकले एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्टसँग मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति नै पाइसकेको छ। प्रभु विकास बैंकले पनि किष्ट बैंकसँग मर्जरको कुराकानी गरिरहेको छ।
राष्ट्र बैंक स्रोतका अनुसार, जनता बैंक नेपालले टुरिज्जम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रकृया अगाडि वढाइरहेको छ। टुरिज्जमलाई प्रति सेयर मूल्य कतिमा लिने भन्ने टुङ्गो लागिनसकेकाले सम्झौता हुन सकेको छैन। एनसिसी बैंकले पनि एपेक्स डेभलपमेन्ट बैंकसँग मर्जर प्रकृया अगाडि वढाएको छ। रोयल मर्चेन्ट, रारा र अपि फाइनान्स गाभिएर एपेक्स डेभलपमेन्ट बैंक बनेको हो। 
एनसिसी बैंकको सञ्चालक समितिमा विवाद आएपछि एपेक्स मर्जर हुने कुरा केही पछाडि सरेपनि विवाद समाधानपछि प्रकृया पुनः सुरु हुने स्रोतले जानकारी दियो। वोर्डको विवादका सम्वन्धमा राष्ट्र बैंकले अघिल्लो साता एनसिसीसँग १५ दिने स्पष्टीकरण मागेको थियो।
सिटिजन्स बैंक पनि मर्जरका लागि 'ख' र 'ग' वर्गका वित्तीय संस्थाहरु खोजिरहेको छ। बैंकले …क' वर्गकावे बाणिज्य बैंकसँग भने मर्जरमा  नजाने निश्चित गरिसकेको छ। शाखा सञ्जाल विस्तार र पुँजी बृद्धिका लागि सिटिजन्सले सानो संस्था खोजिरहेको हो। बैंकले सानो आकारको संस्था मर्जरका लागि आएमा आफूलाई सुचित गरिदिन राष्ट्र बैंकका अधिकारीहरुसँग आग्रह नै गरिसकेको छ। 
सेञ्चुरी कमर्सियल बैंकले पनि पुँजी धेरै प्रयोग नभएको र शाखा सञ्जाल भएको क्षेत्रीय स्तरका विकास बैंक तथा फाइनान्स कम्पनीहरु मर्जरका लागि खोजिरहेको छ। पोखराको सिटी डेभलपमेन्ट बैंकले पनि मर्जरका लागि उचित संस्था खोजिदिन राष्ट्र बैंकसँग आग्रह गरेको छ। 
मेगा, सिद्धार्थ, कुमारी पनि मर्जरमा जाने पक्षमा छन्। प्राइम र माछापुच्छे्र बैंकले विदेशी साझेदार बैंकलाई भित्राउन पहल नै सुरु गरिसकेका छन्। बिओके, आइएलएफसी, आइसिएफसी पनि मर्जरमा जान कुराकानी गरिरहेका छन्। 
राष्ट्र बैंकले मर्जर नीति ल्याएपछि अहिलेसम्म करिव चार दर्जन बैंक तथा वित्तीय संस्थाहरु गाभिइसकेका छन्। कतिपय संस्थाहरु भने राष्ट्र बैंकको 'एक्विजिसन' नीति पर्खिएर बसेका छन्। मर्जरमा जाँदा सेयरधनीलाई कम कर्मचारीलाई वढी फाइदा भएको भन्दै ठूलो जगेडा कोष भएका संस्थाहरुले एक्विजिसन नीति पर्खिएर बसेका हुन्। 
संस्था एक्विजिसन हुँदा आवश्यक परेका कर्मचारी मात्र छानेर वाँकीलाई विदाइ गर्न सकिन्छ। लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, सिटिजन्सलगायतका बैंकहरु संस्था खरिद गर्ने पक्षमा छन्। 
राष्ट्र बैंक स्रोतका अनुसार, क्षेत्रीयस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जरका लागि उचित संस्था खोजिदिन राष्ट्र बैंकलाई आग्रह गर्दै आएका छन्। 'पछिल्लो समय संस्था खोजिदिन भन्दै दिनकै दुई–चार वटा समूह आउने गरेका छन्,' राष्ट्र बैंक स्रोतले भन्यो,'हाम्रो काम मर्जरमा सहजीकरण गर्ने हो। संस्था खोजिदिने होइन। त्यही पनि मिल्दो जुस्दो संस्था आएमा खवर आदन प्रदान गरिदिने गरेका छौं।'

No comments:

Post a Comment

thanks for comment