बैंकहरुको पुसको क्लोजिङमा, आम्दानी घटेकाले नाफा प्रभावित

सुदर्शन सापकोटा
काठमाडौं, पुस २८
पुसको वासलातदेखि नै नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर निगरानी गर्ने भएपछि बाणिज्य बैंकहरुको नाफा प्रभावित बनेको छ। चालु आर्थिक बर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्मको) हरहिसाव मिलान गरिरहेका बैंकहरुले स्प्रेडदरले आम्दानी घटेका कारण माघमा नाफा प्रभावित भएको वासलात सार्वजनिक गर्दैछन्। 
'पहिले ब्याज अन्तर फराकिलो भएका कारण समस्यामा परेको घरजग्गा ऋणको नोक्शानी व्यवस्था गर्दा पनि राम्रै नाफा हुन्थ्यो,' एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले आइतबार नागरिकसँग भने,'अहिले अधिक तरलताले खर्च पनि बढेको छ र लगानी पनि हुन सकेको छैन। यही बेला स्प्रेड दर कम गर्दा नाफालाई सोझै असर गर्छ।' 
बैंकहरुको नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमास (साउनदेखि असोज) देखि नै प्रभावित हुन थालेको हो। गत बर्ष ४५ प्रतिशत नाफा गरेका बैंकले असोजमा नाफा १३ प्रतिशतले मात्र बढाउन सकेका थिए। लगानी नवढ्ने तर पैसा तिर्नु पर्ने निक्षेप बढेका कारण ब्याज आम्दानी प्रभावित भएको छ। 

बैंकहरुले तरलता बढी भएका कारण निक्षेपको ब्याजसँगै कर्जाको पनि घटाइरहेका छन्। पाँच प्रतिशतभन्दा वढी स्प्रेड हुन नहुने व्यवस्था गरिएपछि ब्याज अन्तर घटेर आम्दानी थप प्रभावित भएको छ। …ब्याज दर क्रमशः घट्दै गएकाले ब्याज आम्दानीको बृद्धि दर पनि घटेको छ,' ती बैंकरले भने। बैंकहरुले गत आर्थिक बर्षको असोज मसान्तमा नाफा ४१ प्रतिशतले बढाएका थिए। पुसमा बृद्धि दर ४५ प्रतिशत पुगेको थियो। 
बैंकरका अनुसार, पोहोर पुसदेखि अहिलेको पुससम्म गणना गर्दा कर्जामा उल्लेख्य बृद्धि भएपनि चालु आर्थिक बर्ष (साउनदेखि पुस मसान्तसम्म) मा भने खासै बृद्धि भएको छैन। …ब्याज अलिअली उठ्दा पनि पोहोरको भन्दा नाफा त बढ्छ, तर बृद्धि दर निकै घट्छ,' ती बैंकरले भने। 
बैंकहरुले चालु आर्थिक बर्ष सुरु भएयता ७९ अर्ब रुपैयाँ निक्षेप बढाएका छन्। कर्जा लगानी भने जम्मा ४९ अर्ब रुपैयाँ मात्र भएको छ। निक्षेप बढ्ने तर कर्जा त्यही अनुपातमा बृद्धि नहुँदा बैंकहरुको पुँजी लागत बढेको छ। राष्ट्र बैंकका अनुसार बाणिज्य बैंकहरुसँग कुल निक्षेप १० खर्ब ९३ अर्ब रुपैयाँ र कर्जा लगानी सात खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।
बैंकहरुसँग निरन्तर निक्षेप बढेपछि उनीहरुसँग लगानी योग्य पुँजी (तरलता) करिव ७० अर्ब रुपैयाँ थुप्रिएको छ। बैंकहरुले कर्जाको ब्याज घटाए पनि ऋणको माग आउन सकेको छैन। बैंकहरुले कतिपय ऋणको ब्याज १० प्रतिशतभन्दा तल झारिसकेका छन्। 
लगानी योग्य पुँजी अत्याधिक बढेपछि बैंकहरुले खर्च घटाउन निक्षेपको ब्याज पनि ब्यापक घटाइसकेका छन्। निक्षेपको औषत ब्याज ४.९८ प्रतिशतमा झरिसकेको छ। केही बैंकले मात्र साढे ६ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। बचत खाताको ब्याज पाँच प्रतिशतको हाराहारीमा झरिसकेको छ। ठूला र पुराना बैंकको ब्याज दर अझ तल आएको छ। नयाँ बैंकहरुले मात्र अन्यको भन्दा केही बढी ब्याज दिइरहेका छन्। 
गत बर्ष घरजग्गा ऋणका कारण नाफा प्रभावित हुन्छ भन्ने चर्चा चलिरहँदा बैंकहरुले नाफा ४५ प्रतिशतले बढाएका थिए। …यसपाली निर्वाचनका कारण मंसिरसम्म लगानी गर्न ठिक्क परेकाहरु पनि पछि फर्के,' ती बैंकरले भने, …निर्वाचनपछि नयाँ सरकार नबनेको र राजनीति कुन तरिकाबाट अगाडि वढ्छ भन्ने टुङगो नलागिसकेकाले लगानीकर्ताले ऋणको माग गरेका छैनन्।' उनका अनुसार, अनिश्चितता भए यो बर्ष नै प्रभावित हुने खतरा पनि छ। उनले सरकारी खर्च नबढेका कारण पनि निजी क्षेत्रका लगानीकर्ताले पुँजी लगाउन हच्केर बसेको जानकारी दिए।
…पोहोर परारजस्तो यो बर्षलाई लिन हुन्न, निर्वाचनलगायतका राजनीतिक घटनाक्रम बढेका कारण लगानीकर्ता ढुक्क नभएसम्म ऋण माग्न आउँदैनन्,' ती बैंकरले भने, …ऋण नगएपछि बैंकले भएकै ऋणलाई चलाउने बाहेक अन्य कारोबार गर्न सक्दैनन्। यसले गर्दा आम्दानी प्रभावित हुन्छ।' 
बैंकहरुले गत आर्थिक बर्ष धमाधम धितो सम्पति लिलाम गरेर पैसा उठाएका थिए। कर्जा–निक्षेप अनुपात साँघुरो भएका कारण बर्षको अन्तिममा बैंकले पुरानो ऋण उठाएर नाफा बढाएका थिए। …यसपाली खर्च बढेको र लगानी घटेका कारण पोहोरको जस्तो बृद्धि गर्न सकिने अवस्था छैन,' ती बैंकरले भने, …असोज राम्रो भएपनि पुसको हरहिसाव प्रभावित हुने छ।'

No comments:

Post a Comment

thanks for comment