बैंक कर्मचारीको तलव तोक्ने तयारी, सरकारी सरह श्रेणी निर्धारण गरेर तलब निर्धारण गर्न निर्देशन दिइँदै

काठमाडौं, पुस ३०
नेपाल राष्ट्र बैंकले सरकारी सरह श्रेणी निर्धारण गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीको न्युनतम (बेसिक) तलव तोक्न निर्देशन दिने भएको छ। तीन वटा वर्गभित्र रहेर कर्मचारीको श्रेणी निर्धारण गर्दै न्युनतम तलव तोक्न चैतसम्ममा निर्देशन दिन लागिएको हो।
राष्ट्र बैंकले तल्लो तह, मध्यम तह र विशिष्ट तह तोकेर यसभित्र श्रेणी निर्धारण गर्न निर्देशन दिन लागेको हो। तल्लो तहमा पियनदेखि म्यासेन्जरसम्म पर्छन्। कनिस्ठ सहायकदेखि सुपरभाइजरसम्मलाई मध्यम र अधिकृतदेखिका कर्मचारीलाई विशिष्ट तहमा राख्दै श्रेणी निर्धारण गर्न निर्देशन दिन लागिएको हो।
राष्ट्र बैंकले तोकेको तीन वटा तहभित्र रहेर बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीहरुको श्रेणी निर्धारण गर्नु पर्ने हुन्छ। बैंक तथा वित्तीय संस्थाले तोक्ने श्रेणी सरकारले निजामति कर्मचारीलाई तोकेजस्तै हुनु पर्ने सर्त पनि निर्देशनमा आउने छ। 
राष्ट्र बैंक स्रोतका अनुसार, मध्यम स्तरका कर्मचारीको श्रेणी खरिदारदेखि नायव सुब्बा सरह हुनु पर्छ। मध्यमस्तरका कर्मचारीको श्रेणी सरकारी शाखा अधिकृत बराबरको हुनु पर्छ भने विशिष्टको अधिकृतमाथिको हुनु पर्छ। सरकारी श्रेणीका कर्मचारी बराबर बैंक तथा वित्तीय संस्थाका कर्मचारीको न्युनतम तलव बैंक तथा वित्तीय संस्थाले तोक्नु पर्ने हुन्छ।
अहिले सरकारी खरदार तहका कर्मचारीको न्युनतम तलव (बेसिक) करिव साढे १४ हजार रुपैयाँ छ। अहिले अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले मध्यमस्तरका कर्मचारीको न्युनतम तलव साढे सात हजारदेखि १५ हजार रुपैयाँसम्म छ। कतिपय बैंकहरुले विभिन्न सुविधाहरुमार्फत कर्मचारीहरुलाई न्युनतम तलवमा थप रकम उपलब्ध गराउँदै आएका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुको माथिल्लो र तल्लो तहका कर्मचारीहरु बीचको तलब सुविधाको अन्तर धेरै फराकिलो हुन  थालेपछि यसलाई नियन्त्रण गर्न नयाँ नीति ल्याउन लागिएको हो। तल्लो तहका कर्मचारीलाई वढी काम लाउने तर त्यो अनुपातमा तलव सुविधा पाउने नगरेको राष्ट्र बैंकको अनुसन्धानमा देखिएको छ। 
राष्ट्र बैंकले यसका लागि बैंक तथा वित्तीय संस्थाबाट सबै तहका कर्मचारीको तलव सुविधालगायतको विवरण संकलन गरिसकेको छ। यसमा आवश्यक अध्ययन गरी राष्ट्र बैंकले नीति ल्याउन लागेको हो।
काम वढी लाउने तर तलव सुविधा राम्रो नदिने गरेको भेटिएछि राष्ट्र बैंकले ठूला र साना कर्मचारीको तलव अन्तर कम गर्ने नीति लिन लागेको हो। …बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तलब सुविधामा हुने गरेको दूरी हटाउन नीति तर्जुमा गरिएको हो,' राष्ट्र बैंकका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, …बजार भाउ र मूल्यवृद्धि सुहाउँदो तलव सुविधा हुने गरी नीर्देशन आउने छ।' उनका अनुसार, कतिपय बैंकले वाँच्न पुग्ने तलव सुविधा समेत दिएका छैनन्। केही बैंकहरुले वार्षिक रुपमा अनिवार्य दिनु पर्ने ग्रेडको रकमसमेत नदिएको पाइएको छ।
दक्ष कर्मचारी अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले माथिल्लो  तहका कर्मचारीलाई तल्लोको भन्दा कयौं गुणा तलव दिन थालेका छन्। अन्य सुविधा पनि तल्लोको भन्दा माथिल्लोको निकै धेरै हुने गरेको छ। यही दूरीलाई कम गर्न नीतिगत व्यवस्था गर्न लागिएको हो। 
राष्ट्र बैंकले खुला बजार सिद्धान्त अनुसार गुणस्तरीय सेवा प्रवाहमार्फत उपभोक्ताको हित संरक्षण  गर्दै बैंक तथा वित्तीय संस्थामा कार्यरत जनशक्तिको श्रमको शोषण हुन नपाओस् भन्ने पृष्ठभूमिमा रहेर निर्देशन दिन लागेको हो। …सवै तहका कर्मचारीको पारिश्रमिक निर्धारण  गर्दा पारदर्शीता कायम हुनु पर्छ,' ती अधिकारीले भने। 
उनका अनुसार, सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नु, लगानीकर्ताको प्रतिफल प्राप्तिमा पारदर्शीता स्थापित गर्नु राष्ट्र बैंकको जिम्मेवारी भित्र पर्छ। …यस क्षेत्रमा प्रत्यक्ष संलग्न सञ्चालनको जिम्मेवारी वहन गर्ने जनशक्तिलाई कार्य सम्पादनको आधारमा पारदर्शी  तलव सुविधा प्राप्त गर्न सक्ने वातावरण तयार गर्नु पनि हाम्रै काम हो,' उनले भने, …यसको सुक्ष्म अनुगमन तथा नियमन गर्नका लागि पनि नीतिगत व्यवस्था आवश्यक छ।' 
केन्द्रीय बैंकले कर्मचारीलाई मनसिक तनाव हुने गरी कार्य घण्टाभन्दा वढी काममा लगाएको भन्दै त्यसलाई व्यवस्थित गर्नसमेत निर्देशन दिन लागेको छ। दैनिक कार्यघण्टा किटान गरी हप्तामा कुल ४५ घण्टाभन्दा वढी कार्यसम्पादन गरेको भएमा प्रति घण्टा आधारभूत तलवको १ प्रतिशतका दरले भुक्तानी गर्नु पर्ने हुन्छ। राजधानी वाहिर जाने कर्मचारीलाई प्रोत्साहन भक्ता दिनसमेत निर्देशन दिइन लागिएको छ। 
नेपालमा अहिले ३१ वाणिज्य बैंक, ९० विकास बैंक र ६९ फाइनान्स कम्पनी सञ्चालनमा छन्। 
…बैंकिङ क्षेत्र अझै पनि पारदर्शी हुन सकेको छैन,' केन्द्रीय बैंकका एक अधिकारीले नागरिकसँग भने, …त्यसमा पनि आन्तरिक वित्त र कर्मचारी भर्ना प्रकृया पारदर्शी हुन सकेको छैन।'  स्रोतका अनुसार, नेपालमा बजार स्वयंमले आफ्नै कार्यसन्चालन प्रणालीलाई स्वनियमन गर्न सक्ने अवस्था नआउन्जेल बैंक तथा वित्तीय संस्थामा भरपर्दो सुशासनको प्रत्याभूति दिन नीतिगत व्यवस्था तय गर्नु परेको हो। 
केन्द्रीय बैंकले …बैंक तथा वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली र आर्थिक प्रशासन विनियमावलीमा आवश्यक परिमार्जन गरी एकरुपता कायम गर्न' भन्दै निर्देशन दिन लागेको हो। 
राष्ट्र बैंकले प्रतिवेदनमा संस्थाको स्तरअनुसार टेलिफोन, पत्रपत्रिका खर्चमा पनि सीमा तोक्ने तयारी गरेको छ। व्यक्तिगत दुर्घटना बीमामा पनि आवश्यक निर्देशन दिने तयारी भइरहेको ती अधिकारीले जानकारी दिए। 

No comments:

Post a Comment

thanks for comment