लेनदेन नमिलेपछि मर्जर सम्झौता तोड्दै

काठमाडौं, माघ ४ 
नेपाल राष्ट्र बैंकले मर्जर नीति ल्याएपछि कतिपय संस्था सफस हिसावले गाभिए पनि कतिपयको सम्झौता गरिसकेपछि पनि टुटेको छ। तीन बर्षअघि राष्ट्र बैंकले ल्याएको मर्जर नीतिपछि ४३ वटा संस्थाहरु पासमा गाभिएर १८ वटामा झरिसकेका छन्। तर सम्झौता गरिसकेर टुक्रिएकाको संख्या पनि डेढ दर्जन नाघिसकेको छ। 
'हतारमा सम्झौता गर्ने तर लेनदेनको विषयमा चित्त नवुझाउँदा मर्जर टुक्रिने गरेको छ,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'साना संस्थाहरुमा टुक्रिने समस्या धेरै देखिने गरेको छ।' सम्झौता गरेर पनि राष्ट्र बैंकले नै मर्जर रोकेको चार संस्था बाहेक सबै संस्थाहरु आपसी लेनदेनका कारण मर्जरमा सफल हुन नसकेका हुन्।
कमजोर वित्तीय अवस्था भएका प्रिमियम फाइनान्स र इम्पेरियल फाइनान्स तथा वर्ल्ड मर्चेन्ट वित्तीय संस्था र कुवेर मर्चेन्ट वित्तीय संस्थाको मर्जर भने राष्ट्र बैंक आफैले रोकेको थियो। यस बाहेक सबै मर्जर आपसी लेनदेनका कारण प्रवर्द्धक तथा सञ्चालकहरुबाटै टुक्रिने गरेको छ।
राष्ट्र बैंकले मर्जर नीति नल्याउँदै पाँच वित्तीय संस्थाहरुको मर्जर पनि टुक्रिएको थियो। महालक्ष्मी फाइनान्सको नेतृत्वमा हुन लागेको मर्जर पनि लेनदेनकै कारण रोकिएको थियो। मर्जर नीति आउनु केही साता अगाडि सम्झौता गरेका एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंकको मर्जर पनि लेनदेनकै कारण सफल हुन सकेन।

मर्जर नीति आएपछि भने एक बाणिज्य बैंकसहित डेढ दर्जन वित्तीय संस्थाको मर्जर सम्झौतापछि टुक्रिएको हो। 'खासगरी मर्जरपछि बन्ने नयाँ संस्थामा कसको कति सेयर मूल्यांकन गरिने भन्ने विषयमा विवाद हुँदा मर्जर सफल हुन नसकेको हो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'मर्जरलाई सहजीकरण गर्न हामीले मर्जर नीतिलाई नै शंशोधन गरेका छौं।'
राष्ट्र बैंकले तीन बर्षअघि ल्याएको मर्जर नीतिमा, गाभिने संस्थाहरुले राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि मात्र सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) गरेर मात्र सेयर अनुपात मिलाउनु पर्ने व्यवस्था थियो। डिडिए प्रतिवेदन अनुसार, अनुमान गरेभन्दा फरक परिणाम आउन थालेपछि मर्जकार लागि सम्झौता गरेका संस्थाका अधिकारीहरुले चित्त वुझाउन नसक्दा टुक्रिने गरेको थियो।
पुरानो नीतिलाई शंशोधन गर्दै राष्ट्र बैंकले डिडिए राष्ट्र बैंक आउनु पूर्व पनि गर्न सकिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले गाभिने संस्थाहरुले सेयर अनुपात आपसी समझदारीमा निर्धारण गर्न छुट दिएपछि पछिल्लो समय डिडिए गर्नु अगाडि नै संस्थाहरुले सेयर मूल्यांकन गर्न थालेका छन्। …अब पहिलेजस्तो मर्जर टुक्रिने भन्ने कम हुन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो, …मर्जर हुने संस्थाहरुका अधिकारीहरुको छलफलमा पनि राष्ट्र बैंकले साना साना कुराहरुमा सचेत गराउन थालेको छ।'
पछिल्लो समय मर्जर सम्झौता गरेका किस्ट बैंक र भिवोर विकास बैंकहरु आफ्नो निर्णयबाट पछाडि फर्किएका छन्। किस्ट अहिले प्रभु विकास बैंकसँग मर्जरमा जान छलफलमा छ। यसअघि पशुपति विकास बैंक र लर्डवुद्ध फाइनान्स मर्जरमा जान सहमत भएका थिए। लेनदेनमा कुरा नमिलेपछि लर्डवुद्ध ग्लोबल बैंकसँग मर्ज भयो भने, पशुपति उद्यम विकास बैंकसँग मर्जर भएर एक्सिस डेभलपमेन्ट बैंक बनेको छ।
काठमाडौं फाइनान्स र सिभिल मर्चेन्टले पनि मर्जरका लागि सम्झौता गरेका थिए। लेनदेनमा कुरा नमिलेपछि सिभिल मर्चेन्ट सिभिल बैंकसँग मर्ज हुने प्रकृयामा गएको छ। पब्लिक डेभलपमेन्ट बैंक र सोसियल डेभलपमेन्ट बैंकको पनि मर्जर टुक्रिएर सोसियल ग्लोबल आइएमइसँग मर्ज भयो। राष्ट्र बैंकले प्रिमियम फाइनान्ससँग मर्ज हुन इम्पेरियललाई रोकेपछि उ सिद्धार्थ फाइनान्ससँग मिसिने प्रकृयामा छ। 
यसबाहेक इन्फ्रास्ट्रकचर डेभलपमेन्ट बैंक यति फाइनान्स, मनकामना विकास बैंक र भ्याली फाइन्ान्ससँग मर्ज हुन सम्झौता गरेर पछाडि फर्किएको थियो। इन्फ्रास्ट्रक्चर पछाडि फर्किएपछि बाँकी संस्था मर्ज भएर यति विकास बैंकका रुपमा कारोबार गरिरहेका छन्। अहिले यतिसँग एनडिइपी डेभलपमेन्ट बैंक र प्रोग्रेसिभ फाइनान्स मर्जरको प्रकृयामा रहेका छन्। 

No comments:

Post a Comment

thanks for comment