मूल्य बृद्धि १०.३ प्रतिशत पुग्यो

काठमाडौं, पुस २९
बैंक ब्याज घटेपछि उपभोगमा खर्च बढेको र संविधानसभा निर्वाचनले बजारमा ठूलो रकम खर्च भएकाले मूलय बृद्धि दर साढे १० प्रतिशतको हाराहारीमा पुगेको छ। चालु आर्थिक बर्ष सुरु भएदेखि निरन्तर बढ्न थालेको मूल्य बृद्धि मंसिरमा १०.३ प्रतिशत पुगेको हो। 
खाद्यान्न तथा पेय पदार्थको मूल्यका साथै तरकारी, माछामासु, फलफूलको मूल्य धेरै बढेको छ। तरकारीको मूल्य बृद्धि ३६.६ प्रतिशतले बढेको छ भने माछामासुको मूल्य २७.९ प्रतिशतले बढेको छ। फलफूलको पनि १६.८ प्रतिशतले मूल्य बढेको छ। 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार, सबैभन्दा वढी तराईमा मूल्य बढेको छ। तराईमा १०.९ प्रतिशतले मूल्य बढेको छ भने काठमाडौं उपत्यकामा १०.७ प्रतिशत र पहाडमा ८.७ प्रतिशत मूल्य बढेको छ। 
निर्वाचनका कारण सरकारी खर्च बढ्नुका साथै उमेद्वार तथा राजनीतिक दलहरुले पनि चुनाव प्रचार प्रसारमा खर्च गरेका कारण मूल्य बृद्धिमा चाप परेको हो। सरकारले निर्वाचनका लागि १६ अर्ब रुपैयाँ छुट्याएको थियो। निर्वाचन आयोगले प्रति उमेद्वार १० लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो। 
कतिपय उमेद्वारले निर्वाचन आयोगले तोकेको सीमाभन्दा निकै माथि पनि खर्च गरेका थिए। त्यसको असर मूल्य बृद्धिमा परेको हो। निर्वाचनका कारणले बढेको बस्तु तथा सेवाको मूल्य पहिलेकै अवस्थामा फर्किन करिव दुई महिना लाग्ने अर्थशास्त्रीहरु वताउँछन्। यता बैंकको ब्याज दर घटेपछि आम्दानी कम भएको भन्दै सर्वसाधारणले उपभोगमा बचत रकम प्रयोगसमेत गरेका छन्।
चालु आर्थिक बर्षबाटै मूल्य बृद्धि उकालो लाग्न थालेको हो। साउनमा ७.९ प्रतिशत रहेको मूल्य बृद्धि दर भदौमा ८ प्रतिशत हुँदै असोजमा ८.४ प्रतिशत पुगेको थियो। कात्तिकमा १० प्रतिशत रहेको मूल्य बृद्धि मंसिरमा आइपुग्दा १०.३ प्रतिशतमा पुगेको हो। 
राष्ट्र बैंकले खाद्यान्न वाहेकको मूल्य बृद्धि भने सामान्य मात्र वढेको जनाएको छ। लत्ता कपडा तथा जुत्ता चप्पलको मूल्य बृद्धि १३.९ प्रतिशतले बढेकोमा यसपाली मंसिरमा ११.७ प्रतिशतले मात्र बढेको छ।  फर्निसिङ तथा सरायसी उपकरणको मूल्य बृद्धि ८.४ प्रतिशतले बढेको छ। अघिल्लो बर्षको बृद्धि दर १५.६ प्रतिशत थियो।

आयात–निर्यात
चालु आर्थिक बर्षको पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा निर्यात १३.७ प्रतिशतले बढेको छ। आयातको बृद्धि दर पनि  १९.९ प्रतिशत रहेको छ।
मंसिरसम्म ३७ अर्ब ३७ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवाको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो बर्ष मंसिरसम्म निर्यात ३२ अर्ब ८८ करोड रुपैयाँको भएको थियो। आयात भने २७० अर्ब ३५ करोड रुपैयाँको भएको छ। अघिल्लो बर्ष यतिबेला आयात २२५ अर्ब ३९ करोड रुपैयाँको भएको थियो। 
निर्यातको तुलनामा आयात फराकिलो अन्तरले बढेका कारण कुल बस्तु व्यापार घाटा २१ प्रतिशत अर्थात २३२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। कुल वस्तु व्यापार घाटामध्ये भारततर्फको २४.२  प्रतिशत र अन्य मुलुकसँगको १५.४ प्रतिशतले बढेको छ। 
राष्ट्र बैंकका अनुसार, कुल वस्तु निर्यातमध्ये भारतर्फतको १७.४ प्रतिशतले बढेको छ। अघिल्लो बर्ष ४.२ प्रतिशतले बढेको थियो। भारत वाहेकका मुलुकको निर्यात ७.३ प्रतिशतले मात्र वढेको छ। अघिल्लो बर्षको बृद्धि दर १९.३ प्रतिशत थियो।
भारततर्फ जिङ्क सिट, अलैची, जुस, जुत्ताचप्पलको निर्यात बढेको छ। भारतवाहेकका मुलुकमा भने जडिबुटी, उनी गलैचा, तयारी पोशाक, जडिबुटी र पश्मिनाको निर्यात बढेको छ।
कुल आयातमध्ये भारततर्फको २३.२ प्रतिशत र अन्य मुलुकसँगको १४.१ प्रतिशतले बढेको छ। भारतबाट मूख्यगरी पेट्रोलियम पदार्थ, सवारीका साधन र पार्टपुर्जा, धागोलगायतका सामान आयात भएको छ। अन्य मुलुकबाट कच्चा सोयाविन तेल, चाँदी र स्टेशनरीका सामानको आयात बढेको छ। 
सरकारले चालु बर्ष मंसिरसम्म वैदेशिक ऋण वापत १० अर्ब रुपैयाँ र नगद अनुदान वापत १४ अर्ब ९२ करोड प्राप्त भएको छ। अघिल्लो बर्ष ऋण ८३ करोड ५३ लाख र अनुदान ७ अर्ब ६७ करोड प्राप्त भएको थियो। सरकारले मंसिरमा खर्च पनि सामान्य बढाएको छ। सरकारी खर्च १०.३ प्रतिशतले बढेर ९४ अर्ब  ६४ करोड पुगेको छ। अघिल्लो बर्ष २.६ प्रतिशतले सरकारी खर्च घटेको थियो। 
बजेट समयमा आएको तथा संविधान सभा निर्वाचनको तयारीमा भएको खर्चका कारण समग्र खर्चमा सुधार आएको हो। यद्यपी चालु खर्चको तुलनामा विकास खर्चको अंश निकै कम छ। कुल खर्चमध्ये चालु खर्चको अंश ८३ अर्ब रुपैयाँ छ। 
पुँजीगत खर्च १०.३ प्रतिशतले मात्र वढेको छ। मंसिरसम्म विकास निर्माणमा ५ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ। अघिल्लो बर्ष विकास खर्च ०.५ प्रतिशतले बढेको थियो। विकास खर्च खासै बढ्न नसकेका कारण सरकार मंसिरमा ३८ अर्ब ४१ करोड बचतमा रहेको छ। अघिल्लो बर्ष २३ अर्ब १७ करोड बचतमा थियो। 
शोधनान्तर बचत
चालु आर्थिक बर्षको मंसिरसम्म देशबाट बाहिरिनेभन्दा भित्रिने रकम (शोधनान्तर) ६८ अर्ब २ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो बर्ष ३ अर्ब ३० करोड रुपैयाँ बचतमा रहेको थियो। चालु खाता बचत पनि ५० अर्ब ३५ करोड पुगेको छ। अघिल्लो बर्ष चालु खाता १ अर्ब ३४ करोडले बचतमा रहेको थियो। 
मंसिरसम्म वैदेशिक रोजगारमा गएका नेपालीहरुले पठाएको रेमिटेन्सको बृद्धि दर ३५.३ प्रतिशत पुगेको छ। अघिल्लो बर्ष बृद्धि दर जम्मा २२.७ प्रतिशत थियो। मंसिरसम्म २२१ अर्ब १८ करोड रुपैयाँ रेमिटेन्स भित्रिसकेको छ। 
राष्ट्र बैंकले मंसिरसम्म विदेशी विनिमय सञ्चिति १७.३ प्रतिशतले बढेर ६२५ अर्ब ४७ करोड पुगेको जनाएको छ। कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको १४.४ प्रतिशतले बढेर ५१८ अर्ब ३५ करोड पुगेको छ। मंसिरसम्म भारतीय मुद्रा सञ्चिति २१ प्रतिशतले बढेर ९० अर्ब १७ करोड भारु संकलन भएको छ। अघिल्लो बर्ष यतिबेला भारु सञ्चिति  ०.२ प्रतिशतले घटेको थियो। 
निक्षेप तथा कर्जा
मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६.८ प्रतिशत अर्थात ८० अर्ब २६ करोड रुपैयाँले बढेको छ। अघिल्लो बर्ष यतिबेला निक्षेप ४१ अर्ब ३९ करोड रुपैयाँले बढेको थियो।  मंसिरसम्म बाणिज्य बैंकहरुको निक्षेप ६.३, विकास बैंकहरुको १०.५ र वित्त कम्पनीहरुको ६.७ प्रतिशतले बढेको छ। 
कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३.३ प्रतिशतले मात्र बढेको छ। अघिल्लो बर्षको तुलनमा बैंक तथा वित्तीय संस्थाले ३७ अर्ब ४२ करोड रुपैयाँ मात्र वढी लगानी गर्न सकेका छन्। अघिल्लो बर्ष यति बेला कर्जा ८३ अर्ब ३८ करोडले बढेको थियो।
मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा ३३ अर्ब ४३ करोड बढी लगानी गरेका छन्। अघिल्लो बर्ष ६४ अर्ब ५९ करोड बढी लगानी गरेका थिए। बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक उत्पादनतर्फ १४ अर्ब १६ करोड ऋण लगानी गरेका छन्। अघिल्लो बर्ष १६ अर्ब १९ करोड लगानी भएको थियो। पोहोर यतिबेला कृषिमा ६ अर्ब ९१ करोडले ऋण बढेकोमा यसपाली २ अर्ब २९ करोडले मात्र बढेको छ। 
राष्ट्र बैंकले मंसिरमा बाणिज्य बैंकहरुको कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) ६.७३ प्रतिशत रहेको जनाएको छ। बैंकहरुले निक्षेपमा औषत ४.७५ प्रतिशत ब्याज दिन्छन् र कर्जामा औषत ११.४८ प्रतिशत ब्याज लिने राष्ट्र बैंकले जनाएको छ। कात्तिकमा स्प्रेड दर ६.९३ प्रतिशत रहेको थियो। बैंकहरुको आधार ब्याज दर ८.८६ प्रतिशत रहेको छ। अघिलो महिना ९.०३ प्रतिशत थियो। 

No comments:

Post a Comment

thanks for comment