नेपाल बंगलादेश(एनबी) बैंक: संस्थापन पक्षले एक अर्ब ३० करोड तिर्‍यो

निजी क्षेत्रको पुरानो बैंकमध्येको एक नेपाल बंगलादेश(एनबी) बैंकको वित्तीय अवस्था कमजोर भएपछि नेपाल राष्ट्र बैंकले २६ कात्तिक २०६३ मा व्यवस्थापनमा हस्तक्षेप गरेको थियो । दुई वर्षसम्म राष्ट्र बैंकको विज्ञ समूहले सञ्चालन गरेकोमा पुस मसान्तपछि कर्मचारीको व्यवस्थापनमा बैंक सञ्चालित छ ।

४० वर्षदेखि बैकिङ पेसामा संलग्न गोविन्दबाबु तिवारी अहिले सो बैंकको कायम मुकायम महाप्रबन्धकका रूपमा कार्यरत छन् । राष्ट्र बैंकको दसवर्षे एवं राष्ट्रिय वाणिज्य बैंकको १५ वर्ष अनुभव बटुलेका तिवारी नेपाल बैंगलादेश बैंकमा स्थापनाकालदेखि नै आबद्ध छन् । बैंकको अहिलेको वित्तीय अवस्था एवं नयाँ साझेदार थपिएपछिको योजनाका विषयमा तिवारीसँग गरिएको कुराकानी :



राष्ट्र बैंकको विज्ञसमूहले व्यवस्थापन छाडेको तीन महिना भइसकेको छ । अहिले बैंकको अवस्था कस्तो छ ?

राष्ट्र बैंकको व्यवस्थापन हुँदा पनि बैंक सुधारोन्मुख थियो । अहिले पनि सुधारोन्मुख नै छ । पछिल्लो तीन महिनामा हामीले नकारात्मक पुँजीको मात्रा ५० प्रतिशत घटाएका छौँ । यसैगरी, ३० करोड खराब कर्जा असुली गर्‍यौँ र निक्षेप वृद्धिदर कायम गर्न सफल भयौँ । हाम्रो निक्षेपको ७६ प्रतिशत बचत खातामा छ । यसैगरी, खराब कर्जा पाँच प्रतिशतले घटेको अनुमान छ ।

बैंकको कुन पक्षमा विशेष ध्यान दिइरहनुभएको छ ?
अहिले हाम्रो टार्गेट भनेको पुँजी पर्याप्तता अनुपात सकारात्मक बनाउने र खराब कर्जा अनुपातलाई स्वीकार्य स्तरमा ल्याउने हो ।

यसका लागि के गरिरहनुभएको छ ?

पुँजी पर्याप्तता सकारात्मक पार्नका लागि भर्खरै हामीले हकप्रद सेयर जारी गर्‍यौँ, यसैगरी, खराब कर्जा असुली तीव्र पारेका छौँ । खराब कर्जा असुलीका लागि कानुनी तथा अन्य सबै उपाय अपनाइरहेका छौँ । जेठ महिनासम्ममा खराब कर्जा उल्लेख्य मात्रामा घटाउने कार्ययोजना छ । सोहीअनुरूप सम्पत्ति लिलामीदेखि अन्य उपाय अपनाएरै भए पनि खराब कर्जा घटाउन लागिपरेका छाै । नकारात्मक पुँजी कम गर्नाका लागि नाफा संचितीबाट घटाउनेलगायतका कार्ययोजना हामीले तयार गरेका छौँ ।

संस्थापकहरूले नै लिएको ऋणका कारण बैक संकटग्रस्त भएको भनिन्छ । संस्थापन पक्षको कर्जा असुली कत्तिको भएको छ ?

संस्थापन समूहले लिएको कर्जाले मात्रै बैंकको अवस्था बिगि्रएको होइन । बैंकको अवस्था खराब हुनुमा मुलुकको आर्थिक अवस्था पनि जिम्मेवार छ । विगतमा हाम्रो लगानी गार्मेन्ट क्षेत्रमा उच्च थियो । विविध कारणले गर्दा तयारी पोसाक व्यवसाय धराशायी भएपछि बैंकलाई पनि त्यसको असर परेको हो । संस्थापकहरूले संस्थागत सुशासन कायम गर्न भने सक्नुभएन । आफैं संस्थापक भएका र आफैं ऋण लिनुभयो, यसले गर्दा बैंकको छविचाहिँ बिगि्रयो । संस्थापकहरूको ऋणबाट विगत डेढ वर्षको अवधिमा एक अर्ब ३० करोड जति ऋण असुली भएको छ ।

आर्थिक अवस्था नकारात्मक हुँदा अन्य बैंकलाई पनि असर परेको थियो । तैपनि, अन्यको तुलनामा बंगलादेशको खराब कर्जा किन बढी छ त ?

अरू बैंकलाई पनि यसको असर परेको थियो, नपरेको होइन । फरक के मात्रै भयो भने, अरू बैंकले खराब कर्जा घटाउने थोरै समय लिए, हामीलाई धेरै समय लाग्यो । हाम्रो अवस्था पनि सुधारोन्मुख छ ।

तपाईंहरूलाई मात्रै समय किन लाग्यो त ?

अन्य बैंकको तुलनामा हामीले गार्मेन्टमा उच्च लगानी गरेकाले रिकोभरीका लागि समय लागेको हो ।

राष्ट्र बैंकको व्यवस्थापनमा बैंकमा कस्ता परिवर्तन भए ? जुन स्तरको सुधार अपेक्षित थियो, भयो त ?

जुन उद्देश्यले लिएर व्यवस्थापन राष्ट्र बैंकले सम्हालेको थियो, त्यो उद्देश्य प्राप्त भए/नभएको मूल्यांकन राष्ट्र बैंकले नै गर्ने हो ।

नयाँ लगानीकर्ता थपिएपछिको पुँजी संरचना कस्तो छ ?

बंगलादेशको बैंक एसिया र केही नयाँ लगानीकर्ता थपिएका छन् । अहिलेको संरचनाअुनसार बैंक एसियाको १५ प्रतिशत, साविकको लगानीकर्ता आइसिएफसीको १० प्रतिशत, क्यापिटल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्राइभेट लिमिटेडको आठ प्रतिशत, मनास्लु इन्भेस्टमेन्टको आठ प्रतिशत, संस्थापन समूह एनबीको १० प्रतिशत र बाँकी ४९ प्रतिशत सर्वसाधारण सेयरधनीको छ ।

सर्वसाधारण थपिएपछि बैंकको योजना कस्तो छ ?

नयाँ लगानीकर्ता थपिएपछि हामी उत्साहित भएका छौँ । हाम्रो साझेदार बैंक एसियाको बृहत भिजन छ । अन्य मुलुकमा शाखा स्थापना गर्ने, रेमिट्यान्स बिजनेसमा जाने, नेटबर्क विस्तार गर्नेलगायतका योजना छन् । तर, अहिलेको मुख्य योजना भनेको पुँजी पर्याप्तता सकारात्मक बनाएर खराब कर्जा प्रतिशत तल झार्नु हो ।

उद्यमीहरूले देशमा लगानीको वातावरण बिगिँर्दै गएको भनिरहेका छन्, तैपनि बैंक अफ एसियाले नेपाली बैंकमा लगानी किन गर्‍यो होला त ?

शान्ति-प्रक्रियापछि लगानीको वातावरण सुधि्रएको मेरो अनुभव छ । मुलुक शान्ति-प्रक्रियामा प्रवेश गरेपछि केही सकारात्मक परिवर्तन भएका छन् । यसैले गर्दा उनीहरू नेपालप्रति आकषिर्त भएका हुन् । जलविद्युत्, कृषि तथा उद्योग क्षेत्रमा नेपालको पर्याप्त सम्भावन भएकाले नै एसियाले लगानी गरेको हो । यसैगरी, एसिया बैंकले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । कृषिको उच्च सम्भावना भएकाले उनीहरू नेपालप्रति आकषिर्त भएका हुन् ।

बैंकको ग्राहकमुखी योजना कस्ता छन् त ?

विगत १५ वर्षदेखि सञ्चालित बैंकको राम्रो ग्राहक आधार छ । हामीसँग एक लाख सात हजार निक्षेपकर्ता छन् । विभिन्न आरोह-अवरोहका बाबजुद हामीप्रति ग्राहकको विश्वास नघटेको मैले पाएको छु । ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा दिन हामी सधैं प्रयत्नशील रहनेछौँ । हामी निकट भविष्यमा एटिएम संख्या, सेफ डिपोजिट लकर थप्दै छाँ । सदैव समय-सापेक्ष बैंकिङ सुविधा उपलब्ध गराउने बैंक प्रतिबद्ध रहने ग्राहकहरूलाई विश्वास दिलाउँछु ।

No comments:

Post a Comment

thanks for comment