बर्डफ्लु संक्रमणको प्रभाव : २५ अर्ब लगानी जोखिममा

सुदर्शन सापकोटा
काठमाडौं, भदौ ६
बर्डफ्लु संक्रमणका कारण व्यावसायिक रूपमा पालिएका कुखुरा धमाधम मारिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूको करिब २५ अर्ब रुपैयाँ लगानी जोखिममा परेको छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तय संस्थाहरूले कुखुरापालन र दाना उद्योगमा न्यूनतम ५० करोडदेखि २ अर्ब रुपैयाँसम्म लगानी गरेका छन्। सबै जोड्दा झन्डै २५ अर्ब हुन्छ। बर्डफ्लुले कुखुराको मासु र अन्डा व्यवसाय चौपट भएपछि बैंकहरूको लगानी जोखिममा परेको हो।
'सबैभन्दा बढी अप्ठेरो त किसानलाई नै परेको छ, बैंकहरूको ठूलो लगानी फसेकाले किसानले ऋण तिर्न नसक्दा बैंकहरू पनि अप्ठेरोमा पर्छन्,' कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढाथोकीले बिहीबार नागरिकसँग भने,'यसमा राज्यले केही राहत दिनुपर्छ।'
नयाँ बैंकहरूले कुखुरा उद्योगमा ५० करोडभन्दा बढी लगानी गरेका छन्। पुराना र ठूला बैंकको लगानी डेढ अर्बभन्दा माथि छ। कृषि क्षेत्रलाई प्रबर्द्धन गर्न खुलेको कृषि विकास बैंकको कुखरा तथा दाना उद्योगमा करिब दुई अर्बको हाराहारीमा ऋण छ। बैंकले आफ्ना अधिकांश शाखाबाट यो क्षेत्रमा ऋण दिएको छ।
निजी क्षेत्रका वाणिज्य बैंकले पनि काठमाडौं वरपर, मकवानपुर, चितवनमा बढी ऋण लगानी गरेका छन्। सरकारले अहिले यिनै क्षेत्रका कुखुरा भटाभट मारिरहेको छ। 
बैंक तथा वित्तीय संस्थाले पछिल्लो पाँच वर्षयता कृषि क्षेत्रअन्तर्गत कुखुरापालन र दाना उद्योगमा लगानी बढाएका हुन्। ऋण दिएको केही समयमै उत्पादन बिक्री गरेर कृषकहरूले पैसा तिर्ने हुँदा बैंकहरूले यसलाई सजिलो लगानी क्षेत्रका रूपमा लिँदै आएका थिए।
राष्ट्र बैंकले कृषि र ऊर्जामा १० प्रतिशत लगानी पुर्‍याउनुपर्ने अनिवार्य व्यवस्था गरेपछि कुखुरापालन उद्योगमा लगानी अझ बढेको थियो। बर्डफ्लु संक्रमणका कारण साउनयता काठमाडौं उपत्यकामा मात्र दस लाख कुखुरा मारिसकेको सरकारी तथ्यांक छ। 

सिभिल बैंकका प्रमुख कार्यकारी किशोर महर्जन कृषकहरू आफैं समस्यामा रहेकाले ऋण उठाउन गाह्रो भएको बताउँछन्। 'चालु आर्थिक वर्षको पहिलो किस्ता (असोज मसान्तमा) उठाउन समस्या छ,' उनले भने,'पुनर्कर्जा वा ब्याजमा सहुलियत नदिने हो भने कुखुरा उद्योग ठूलो समस्यामा पर्ने देखिन्छ।'
सरकारले बर्डफ्लु संक्रमित क्षेत्रका कुखुरा मार्न थालेपछि एउटै कृषकले १० करोड रुपैयाँसम्म गुमाउनुपरेको छ। दस करोडको कुखुरा नष्ट हुँदा सरकारले राहतस्वरुप साढे दुई करोड रुपैयाँसम्म उपलब्ध गराउँछ। बाँकी रकम कृषककै डुब्छ। बैंकबाट लिएको ऋण डुबेका कारण कृषकले तत्काल किस्ता र ब्याज बुझाउन सक्ने अवस्था छैन।
'सरकारले दिने न्यूनतम क्षतिपूर्तिबाट कसैले पनि बैंकको ऋण तिर्न सक्दैन,' महर्जनले भने, 'त्यही भएर भविष्यमा यो क्षेत्रमा लगानी प्रोत्साहित गर्न पर्याप्त क्षतिपूर्ति दिनुपर्छ।' 
केही बैंक तथा वित्तीय संस्था आफैंले राहत स्वरुप ब्याज घटाउन थालेका छन्। सिभिल बैंकले १४ प्रतिशतसम्म उठाउँदै आएको ब्याज आगामी ६ महिनाका लागि १०.७५ प्रतिशतमा झारेको छ। कृषि विकास बैंकले पनि ब्याज दरमा सहयोग गर्ने नीति लिएको छ। क्षमताले भ्याएसम्म कुखुरापालनमा दिएको ऋणको ब्याज अझ घटाउने बैंकहरूले जनाएका छन्।
'बैंकको ऋण त धितोबाट पनि उठ्छ, तर कृषकलाई राहत दिन ब्याज छुट गर्न सकिन्छ,' बुढाथोकीले भने,'सरकारले तत्कालै सहयोग गरे अन्य राहत कार्यक्रम पनि ल्याउन सकिन्छ।' कृषि विकास बैंकले विगतमा पनि अप्ठेरोमा परेका कृषकको ऋण तथा ब्याज मिनाहा कार्यक्रम ल्याएको थियो।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सञ्चालित सरकारको तेस्रो पशु विकास आयोजनाअन्तर्गत राष्ट्रिय रूपमा गरिएको मासुसम्बन्धी एक अध्ययनअनुसार, वार्षिक १ लाख ८९ हजार ७ सय टन मासु खपत हुन्छ। त्यसमध्ये आन्तरिक रूपमा १ लाख ७४ हजार ४ सय टन आपूर्ति हुन्छ। आन्तरिक रूपमा आपूर्ति हुने मासुको ठूलो हिस्सा कुखुराले ओगटेको छ। यसले समग्र कुखुरापालन व्यवसाय नै आर्थिक मारमा परेको छ।
अहिले देशभरका १९ जिल्लामा बर्डफ्लु देखिएको छ। २०६५ माघमा पहिलोचोटि देखिएको बर्डफ्लुको प्रकोप यो वर्ष ह्वात्तै बढ्यो। बर्डफ्लु संक्रमणपछि सरकारले कुखुरा दाना पनि नष्ट गरिरहेको छ। 
'सरकारले निश्चित क्षेत्रका कुखुरा उद्योगलाई रुग्ण उद्योगसरह सहुलियत दिन आवश्यक छ,' महर्जनले भने, '४/५ प्रतिशत ब्याजमा पुनर्कर्जा नदिने हो भने जोखिम अनिश्चित भएको यो क्षेत्रमा भविष्यमा कसैले लगानी गर्दैन।' 

No comments:

Post a Comment

thanks for comment