पुँजी बढाउन ८६ संस्थाले सेयर जारी गर्नु पर्ने

सुदर्शन सापकोटा
काठमाडौं, साउन २०
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षभित्रै तोकिएको चुक्ता पुँजी पुर्‍याउनु पर्ने ब्यवस्था गरेपछि आठ वटा वाणिज्य बैंक, ४० वटा विकास बैंक र ३८ वटा फाइनान्स कम्पनीले वोनस र हकप्रद सेयर जारी गर्नु पर्ने भएको छ।
राष्ट्र बैंकको नीति अनुसार वाणिज्य बैंकहरुले २ अर्ब, राष्ट्रियस्तरका विकास बैंकले ६४ करोड, फाइनान्स कम्पनीले २० करोड र क्षेत्रीयस्तरका विकास बैंकले १० करोड चुक्ता पुँजी पुर्‍याउनु पर्छ। यि संस्थासँग नाफाबाट वोनस सेयर जारी गर्ने वा सेयरधनीसँग हकप्रद सेयर जारी गरेर पैसा उठाउनु पर्ने विकल्प छ।
राष्ट्र बैंकले यसअघि जगेडा तथा अन्य पुँजी कोषसमेत गणना गर्दा तोकिएको चुक्ता पुँजी बराबरको रकम पुगे हुने ब्यवस्था गरेको थियो। पुरानो नीतिलाई पुनरावलोकन गर्दै राष्ट्र बैंकले चुक्ता पुँजी बराबरको रकम प्रवर्द्धक/लगानीकर्ताबाटै जुटाउनु पर्ने ब्यवस्था गरेको छ। यो ब्यवस्थासँगै बैंक तथा वित्तीय संस्थालाई पुँजी बढाउन दवाव  सृजना भएको छ। 
अहिले ८ वटा वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छैन।  बैंक अफ काठमाण्डू (बिओके),  एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छैन। 

स्ट्यान्डर्ड चार्टर्डले अहिलेको चुक्ता पुँजीमा ७.३१ प्रतिशतको अनुपातमा वोनस सेयर दिएपछि पुँजी २ अर्ब पुग्छ। सबैभन्दा वढी सेयर एनसिसी बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक र लुम्बिनी बैंकले जारी गर्नु पर्छ। एनसिसी बैंकले २६.५ प्रतिशत सेयर जारी गर्नु पर्ने हुन्छ। सिद्धार्थ बैंकले १९.०४ प्रतिशत, लुम्बिनी बैंकले १९.९२ प्रतिशत र कुमारी बैंकले १९.८१ प्रतिशत सेयर जारी गर्नु पर्छ।
एनसिसी बैंकले गत आर्थिक बर्ष ३७ करोड रुपैयाँ नाफा गरेको छ। जगेडा कोषमा केही रकम छुट्याउनु पर्ने भएकाले लगानीकर्ताले नाफाबाट पाउने हिस्सा घट्छ। जसले गर्दा बैंकले नाफाबाट २६.५ प्रतिशत वोनस सेयर दिन सक्दैन। वाँकी पुँजीका लागि बैंकले मर्जरमा जाने योजना बनाएको छ।
'हाम्रो नाफाबाट करिव १८ प्रतिशत वोनस सेयर वितरण गर्न पुग्छ, वोनस सेयर वितरणपछि पुँजी १ अर्ब ७५ करोड हुन्छ,' एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आइतबार नागरिकसँग भने, …वाँकी पुँजी जुटाउन मर्जरमा जाने योजनामा छौं।' उनले मर्जरका लागि आवश्यक छलफल भइरहेको भन्दै पुसभित्र मर्जर सम्झौता गरेर राष्ट्र बैंक स्वीकृतिमा जाने तयारी रहेको जानकारी दिए। 
लुम्बिनी बैंकले पनि नाफाबाट वोनस सेयर वितरण गरेर पुँजी बढाउन सक्दैन। बैंकले पुँजी बृद्धिका लागि प्रवर्द्धकहरुबाट हकप्रद जारी गरेर पैसा उठाउनु पर्ने हुन्छ। लगानीकर्ताको आकर्षण कम भएकाले लुम्बिनीले पनि एनसिसीको जस्तै अर्को संस्थासँग मर्जरमा जानु पर्ने हुन्छ। बैंकले गत बर्ष १२ प्रतिशत वोनस सेयर वितरण गरेको थियो। बैंकले चुक्ता पुँजी २ अर्ब पुर्‍याउन १९.९२ प्रतिशत सेयर जारी गर्नु पर्छ। बैंकको अहिले १ अर्ब ६० करोड चुक्ता पुँजी छ। 
स्ट्यान्डर्ड चार्टड बैंकले चुक्ता पुँजीको ७.३१ प्रतिशतको अनुपातमा सेयर जारी गर्नु पर्छ। बैंकको नाफा उच्च रहेकाले बैंकले वोनस सेयरबाट पुँजी वृद्धि गर्न सक्छ। एभरेष्ट बैंकले पनि चुक्ता पुँजीको ११.९४ प्रतिशतको अनुपातमा सेयर जारी गर्नु पर्छ। बैंकको नाफा अर्ब नाघेकाले एभरेष्टलाई वोनस सेयर वितरण गर्न कुनै समस्या छैन। बैंकको अहिले १ अर्ब ६० करोड चुक्ता पुँजी छ।
कुमारी बैंकले चुक्ता पुँजीको १९.८१ प्रतिशतको अनुपातमा सेयर जारी गर्नु पर्छ। बैंकको नाफाबाट मात्र पुँजी पुर्‍याउन गाह्रो छ। बैंकले गत बर्ष ७ प्रतिशत नगद लाभांस दिएको थियो। सिद्धार्थ बैंकसँग १ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पुँजी छ। बैंकले १९.०४ प्रतिशतको अनुपातमा सेयर जारी गर्नु पर्छ। गत बर्ष ८.४२ प्रतिशत नगद लाभांस वितरण गरेको सिद्धार्थलाई वोनस सेयर वितरणबात्र मात्र पुँजी पुर्‍याउन मुस्किल छ। 
बिओकेले अहिलेको चुक्ता पुँजीको १५.७८ प्रतिशत सेयर जारी गर्नु पर्ने हुन्छ। १ अर्ब ६८ करोड पुँजी रहेको बैंकले गत बर्ष ५ प्रतिशत वोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांस दिएको थियो। मेलम्ची खानेपानी परियोजनाको बैंक ग्यारेन्टी रकम नोक्शानी व्यवस्थामा छुट्याउनु नपरेको खण्डमा बैंकलाई नाफाबाट वोनस सेयर जारी गरेर पुँजी बढाउन गाह्रो हुँदैन।
लक्ष्मी बैंकले पनि पुँजी २ अर्ब पुर्‍याउन १५.३० प्रतिशतको अनुपातमा सेयर जारी गर्नु पर्छ। १ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकले गत वर्ष १० प्रतिशत नगद लाभांस दिएको थियो। बैंकले नाफा बढाएमा वोनस सेयरबाटै पुँजी पुर्‍याउन सक्छ। 
विकास बैंक र फाइनान्स कम्पनीले गत आर्थिक बर्ष नै तोकिएको पुँजी पुर्‍याउनु पर्ने व्यवस्था गरेपनि त्यो पुरा नगरेपछि एक बर्ष समय थप गरिएको छ। थपिएको समयमा ४० वटा विकास बैंक र ३८ वटा फाइनान्स कम्पनीले पुँजी बढाइ सक्नु पर्छ। अधिकांस विकास बैंक र फाइनान्स कम्पनीलाई एक बर्षमा तोकिएको पुँजी पुर्‍याउन नाफाबाट मात्र संभव छैन। यि संस्थाले हकप्रद सेयर पनि जारी गर्नु पर्ने हुन्छ। लगानीकर्ताको आकर्षण हकप्रद सेयरमा नभएकाले अधिकांस संस्थासँग मर्जरमा जानुको विकल्प छैन। 

No comments:

Post a Comment

thanks for comment