नेपाल बैंकको सबै हकप्रद सेयर विक्री भएन

काठमाडौं, असार २७ 
सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले निस्कास गरेको हकप्रद सेयर पुरै विक्री भएन। बैकले सुरुमा तोकेको समयभन्दा १५ दिन थप गर्दा पनि सबै सेयर विक्री नभएको हो। बैंकले ३ अर्ब ६१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निस्कासन गरेको हो। 
'निस्कासन भएका सबै सेयर विक्री हुन्छ नै भन्ने छैन, केही लगानीकर्ताले खरिद गरेका छैनन्,' बंैकका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले बिहीबार नागरिकसँग भने, 'विक्री नभएको सेयर प्रचलित नियम अनुसार पुनः विक्रीमा राख्ने छौं।' विक्री नभएको सेयर बैंकले अन्य सेयरधनीलाई विक्री गर्नु पर्ने हून्छ। कायम सेयरधनीले पनि किनेनन् भने सर्वसाधारणलाई खुला गरिन्छ। 
बैंकले प्रति एक कित्ता बराबर ९.५ को अनुपातमा हकप्रद निस्कासन गरेको थियो। बैंकको सेयरका लागि सरकार र कर्मचारीले पैसा हालिसकेका छन्। सरकारले आफ्नो भागको १ अर्ब ३७ करोड रुपैयाँ हालिसकेको छ। कर्मचारीहरुले पनि ७७ हजार कित्ता सेयर बराबरको पैसा भुक्तानी गरिसकेका छन्। अन्य संस्थागत तथा व्यक्तिगत लगानीकर्ताका लागि हकप्रद निस्कासन गरिएको हो। 
बैंकको कति प्रतिशत सेयर विक्री नभएको भन्ने बारे अझै यकिन नभएको श्रेष्ठले जानकारी दिए। सबै सेयर विक्री भएको भए बैंकको चुक्ता पुँजी ४ अर्ब पुग्ने थियो। 

बैंकले हकप्रद सेयर निस्कास गर्न ९ वर्षपछि आफ्नो सेयर पुनः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत गरेको थियो। बैंकको ३८ लाख ३ हजार ८ सय २६ कित्ता सेयर सुचीकृत छ। 
बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर स्वामित्व छ। वाँकी सेयर अन्य बंैक तथा वित्तीय संस्था र सर्वसाधारणको छ। उनीहरुको कुल पुँजीमा ४९.९४ प्रतिशत सेयर छ। 
बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३४ अर्ब ५० करोड ऋण लगानी गरी ५६ अर्ब निक्षेप संकलन गरेको छ।। बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीलाई लाभांस ख्वाउने योजना बनाएको छ।
नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सुधार प्रकियामा जाने भएपछि सरकार र राष्ट्र बैंकको अनुरोधमा २०६० फागुन १९ गते सेयर सुचीकरण खारेज भएको थियो। बैंकले गत असोज २५ गते नेप्सेमा ओभर द काउन्टर (ओटिसी) किनबेचका लागि सेयर दर्ता गराएको थियो। नेप्सेमा पनि पहिलो पटक नेपाल बैंककै सेयरमार्फत ओटिसी कारोबार भएको थियो। 
सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न उपलब्ध  गराएको पैसा हकप्रद निस्कासनपछि  मात्रै पुँजीमा देखाउन पाइन्छ। बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। सेयर वाँडफाँडपछि यो रकम चुक्ता पुँजीमा देखाइने छ।  
७६ वर्ष पुरानो बैंकको वित्तीय अवस्था खराव भएपछि विश्व बैंकको ऋण लिएर सुधार प्रकृया थालिएको थियो। सरकार र सर्वासाधारणले पुँजी लगानी गरेपछि बैंकको अवस्था सुधि्रने छ। 
सुधार प्रकृया सकेर विदेशी समूह फर्किएपछि अहिले बैंकको व्यवस्थान राष्ट्र बैंकले हेरिरहेको छ। राष्ट्र बैंकले आगामी पुससम्म व्यवस्थापन हेर्ने गरि चैतमा करार नवीकरण गरेको छ। पुँजी वृद्धिसँगै गैरबैंकिङ सम्पति विक्री गरेपछि राष्ट्र बैंकले व्यवस्थापन छाड्ने योजना बनाएको छ। 
पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने  तयारी गरेको छ। सुधार कार्यक्रम लागु हुनुपूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो। अहिले यो घटेर ४ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक भएको छ।  

No comments:

Post a Comment

thanks for comment