अधिकांस बैंकको नाफा उच्च

सुदर्शन सापकोटा
काठमाडौं, साउन १९
घरजग्गा ऋणका कारण नाफा प्रभावित हुन्छ भन्ने चर्चा चलिरहँदा बैंकहरुले भने उच्च नाफासहितको हरहिसाव (वासलात) सार्वजनिक गरिरहेका छन्। फराकिलो ब्याज अन्तर र सम्पति लिलाम गरेर बैंकहरुले गत आर्थिक बर्ष आकर्षक नाफा आर्जन गरेका छन्।
अहिलेसम्म पाँच वटा बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको नाफा सार्वजनिक गरेका छन्। सार्वजनिक भएका वासलात अनुसार, सबै बैंकको नाफा उच्च बढेको छ। केही बैंकको नाफा दोब्बरले बृद्धि भएको छ। 
'यसपाली विदेशी मुद्रा किनबेच, छुट तथा कमिसनमा आधारित आम्दानी बैंकहरुको बढेको छ,' एक बैंकरले भने, 'कर्जामा लिने र निक्षेपमा दिने ब्याज अन्तर फराकिलो भएका कारण खुद ब्याज आम्दानीमा पनि बृद्धि भएको छ।'
गत आर्थिक बर्षको सुरुवातदेखि नै बैंकहरुको नाफा उच्च अंकले बढिरहेको छ। गत आर्थिक बर्षको पहिलो त्रैमास असोज मसान्तमा वाणिज्य बैंकको नाफा ४१ प्रतिशतले बढेको थियो। दोस्रो त्रैमास पुसमा ५० प्रतिशत र तेस्रो त्रैमास त्रैत मसान्तमा नाफा ४५ प्रतिशतले बढेको थियो। बैंकरका अनुसार, गत आर्थिक बर्षभरीको नाफा औषतमा ४५ प्रतिशतले बृद्धि हुने छ।
गत आर्थिक बर्षको वासलात सुरुमै सार्वजनिक गरेको सिटिजन्स् बैंक इन्टरनेशनलले ३९ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष बैंकको नाफा २२ करोड ४७ लाख रुपैयाँ थियो। त्यसपछि वासलता सार्वजनिक गरेको सानिमा बैंकले ३० करोड ४९ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष बैंकको नाफा १२ करोड १७ लाख रुपैयाँ थियो। 

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष बैंकको नाफा १७ करोड ७६ लाख रुपैयाँ थियो। सनराइज बैंकले ३१ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष बैंकको नाफा ११ करोड ११ लाख रुपैयाँ थियो। ग्लोबल आइएमइ बैंकले ५५ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ। बैंकको अघिल्लो बर्षको नाफा २६ करोड ५३ लाख रुपैयाँ थियो। 
गत आर्थिक बर्ष नबिलले नाफा दुई अर्ब रुपैयाँ कटाएको छ। बैंकले गत बर्षको वासलता सार्वजनिक गरिसकेको छैन। अघिल्लो बर्ष बैंकको नाफा १ अर्ब ७९ करोड रुपैयाँ थियो। नबिललाई नेपाल इन्भेष्टमेन्ट बैंकले पच्छ्याएको छ। इन्भेष्टमेन्ट बैंकले दुई अर्बको हाराहारीमा नाफा गरेको छ। स्रोतका अनुसार, निजी क्षेत्रका बैंकमा नबिल र इन्भेष्टमेन्टपछि उच्च नाफा एभरेष्ट बैंक, हिमालयन बैंक र नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेका छन्। 
बैंकहरुले गत आर्थिक बर्ष धमाधम धितो सम्पति लिलाम गरेर पैसा उठाएका थिए। कर्जा–निक्षेप अनुपात साँघुरो भएका कारण बर्षको अन्तिममा खासै ऋण विस्तार नभएपनि बैंकले पुरानो ऋण उठाएर नाफा बढाएका हुन्। 
एक बैंकरका अनुसार, सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकहरुले गरेको सञ्चालन मुनाफा बढेको अनुपातमा भने खुद नाफा बृद्धि भने भएको छैन। 'गत बर्षको भन्दा खुद नाफा बढेको देखिन्छ,' उनले भने, 'तर सञ्चालन नाफाको अनुपातमा भने खुद नाफा कमै छ।' बैंकहरुले कतिपय ठूला कर्जाहरु नउठेका कारण ठूलै रकम नोक्सानी व्यवस्था गर्नु परेकाले खुद नाफा अपेक्षाभन्दा कमै छ। 
'शंका लागेका कर्जाहरुमा पनि बैंकहरुले नोक्शानी व्यवस्था गरेका छन्,' ती बैंकरले भने, 'नोक्शानी व्यवस्थामा यथेस्ठ रकम राख्दा पनि लाभांस गत बर्षको भन्दा नघट्ने भएकाले बैंकहरुले जोखिम लिएका छैनन्।' राष्ट्र बैंक स्रोतका अनुसार, अधिकांस बैंकको सञ्चालन मुनाफा बढेपनि एकाध बैंकको यस्तो नाफा घटेको देखिएको छ।  

No comments:

Post a Comment

thanks for comment