नबिल बैंकको नाफा २ अर्ब २३ करोड

सुदर्शन सापकोटा
काठमाडौं, साउन २४ 
नबिल बैंकले आर्थिक बर्ष २०६९/७० मा खुद नाफा ३१.०७ प्रतिशतले बढाएर दुई अर्ब २३ करोड १५ लाख रुपैयाँ कमाएको छ। दुई अर्ब रुपैयाँ नाफा कटाउने नबिल पहिलो बाणिज्य बैंक हो। अघिल्लो बर्ष बैंकले एक अर्ब ७० करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो।  
बैंकले खुद ब्याज आम्दानी, कमिसन तथा छुटमा आधारित आम्दानी र वैदेशिक मुद्रा किनबेचबाट आम्दानी बढाएका कारण नाफा बृद्धि भएको हो। २९ बर्ष पुरानो नबिल बैंकले खुद ब्याज आम्दानी १८ प्रतिशत बढाएर ५३ करोड ५२ लाख रुपैयाँ गरेको छ। 
बैंकले कमिसन तथा छुटमा आधारित आम्दानी ७.९५ प्रतिशतले बढाएर ३९ करोड ३० लाख रुपैयाँ र वैदेशिक मुद्रा किनबेचको आम्दानी ९.३९ प्रतिशतले बढाएर ४८ करोड ९० लाख रुपैयाँ गरेको छ।
'सम्पति र दायित्वको उचित व्यवस्थापनबाट गत बर्षको नाफा राम्रो देखिएको हो,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बिहीबार नागरिकसँग भने, 'ब्याज आम्दानी, कमिसन आम्दानी र वैदेशिक मुद्रा कारोबारबाट हुने आम्दानी बृद्धि भएकाले नाफा बढेको हो।' उनले खराव ऋणबाट केही रकम उठेको (राइटब्याक) कारणले नाफालाई बढाएको जानकारी दिए। 
वैदेशिक संयुक्त लगानीको पहिलो बैंक नबिलको नाफामा सबैभन्दा वढी योगदान ब्याजले गरेको छ। अघिल्लो बर्ष नाफामा ७४.५ प्रतिशत हिस्सा रहेको ब्याजको हिस्सा यो बर्ष ७५.९ प्रतिशत पुगेको छ। बैंकको नाफा कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड) फराकिलो भएका कारण पनि बृद्धि भएको हो। अघिल्लो बर्ष ५.०१ प्रतिशत रहेको स्प्रेड यस बर्ष ५.२२ प्रतिशत पुगेको छ। 
'ब्याज आम्दानी स्प्रेडका कारणले मात्र नभइ खराव अवस्थामा परिणत भएका ऋणहरु उठेकाले पनि भएको हो,' ज्ञवालीले भने, 'यसपाली बैंकको खराव अवस्थामा परिणत भएको ४९ करोड रुपैयाँभन्दा वढी ऋण उठेको छ।' उनले लगानी वातावरणमा सुधार हुन सके बैंकहरुको ब्याज बाहेकका आम्दानीहरु पनि बढ्ने जानकारी दिए। 

चुक्ता पुँजी दुई अर्ब ४३ करोड  ६८ लाख रुपैयाँ रहेको बैंकको बैंकको प्रति सेयर आम्दानी ९१ रुपैयाँ २४ पैसा छ। बैंकको मूल्य आम्दानी अनुपात १९.८९ गुणा रहेको छ। प्रति सेयर नेटवर्थ तीन सय १४ रुपैयाँ रहेको बैंकले गत बर्ष लगानीकर्तालाई ६० प्रतिशत लाभांस वितरण गरेको थियो। बैंकले ४० प्रतिशत नगद लाभांस र बाँकी २० प्रतिशत वोनस सेयर वितरण गरेको थियो। 
नाफा बृद्धि भएका कारण बैंकले लगानीकर्तालाई दिने लभांस दर सुधार हुने संभावना छ। चुक्ता पुँजी तोकिएको सीमाभन्दा माथि र पुँजी कोष अनुपात १३.२९ प्रतिशत रहेकाले बैंकको नगद लाभांसको हिस्सा बढी हुने अवस्था छ। 
'बैंकको तत्काल चुक्त पुँजी बृद्धि गर्ने योजना छैन,' ज्ञवालीले भने, 'पुँजी कोष अनुपात पनि सीमाभन्दा माथि नै छ। लाभांस कस्तो खालको र के कति वितरण गर्ने भन्ने टुङ्गो भने सञ्चालक समितिले नै गर्ने छ।'
ज्ञवालीले यसापालीको नाफालाई कायम राख्दै कारोबार वृद्धि गर्नु आगामी दिन थप चुनौतीपूर्ण रहेको बताए। उनले लगानी वातावरण नभएका बेला पनि अहिलेको बृद्धि राम्रो भएको भन्दै आगामी दिनमा बैंकले ग्राहक सेवामा सुधार गरेर लैजाने जानकारी दिए। 'ग्राहक सेवामा सुधारसँगै अहिलेको जति बृद्धि आगामी दिनमा पनि गर्न सकिन्छ,' उनले भने,'थप बृद्धि गर्न नयाँ योजना र सेवा सुविधाहरु विस्तार गर्नु पर्ने हुन्छ। जुन हामी गर्दैछौं।' 
विदेशी कम्पनी एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर लगानी रहेको बैंकमा उद्योगपति विनोद चौधरीको परिवारको नाममा करिव ५ प्रतिशत लगानी छ। बैंकका सरकारी स्वामित्वका दुई बैंक राष्ट्रिय वाणिज्य बैंकको ९.६७ प्रतिशत र एनआइडिसी डेभलपमेन्ट बैंकको ५ प्रतिशत सेयर स्वामित्व छ। नेपाल ट्रस्टको पनि ०.५९ प्रतिशत सेयर स्वामित्व छ। 

No comments:

Post a Comment

thanks for comment