एक डलरको मूल्य १००.६० रुपैयाँ

काठमाडौं, भदौ ३
अमेरिकी डलरको मूल्य सय रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको मूल्य एक सय रुपैयाँ ६० पैसा तोकेको छ। सोमबार बैंकहरुले डलर एक सय रुपैयाँ ९० पैसासम्म कारोबार गरेका थिए। 
राष्ट्र बैंकले सोमबारका लागि एक डलरको मूल्य ९८ रुपैयाँ ९५ पैसा तोकेपनि बिहान बजार खुल्ने वित्तकै बैंकहरुले मूल्य बढाएर कारोबार सुरु गरेका हुन्। बैंकहरुले पहिलो कारोबार नै एक सय रुपैयाँमा गरेका थिए। त्यसपछि पनि पटक पटक मूल्य परिवर्तन गर्दै कारोबार भएको थियो।
गत बर्षको असार ९ गते एक डलरको मूल्य अहिलेसम्मकै महँगो ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो। त्यसपछि घट्न थालेको डलरको मूल्य चार महिनायता निरन्तर बढिरहेको छ। दुई महिनायता डलरले हरेक साताजस्तो नयाँ किर्तिमान राख्दै आएको थियो। सोमबार भने डलर पहिलो पटक एक सय रुपैयाँ माथि पुगेको हो।
भारतीय मुद्रा कमजोर भएपछि डलरको भाउ बढेको हो। भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ। 
डलरको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारतीय वित्त मन्त्री र रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) का गभर्नरले नीतिगत पहल गर्ने बताएपनि सुधारको संकेत देखिएको छैन। भारतीय सञ्चार माध्यमहरुका अनुसार, आरबिआइले माग अनुसार डलर पुर्‍याउन सकेको छैन। 
अमेरिकी डलर वलियो भएसँगै एसियाली बजारका मुद्राहरुमा पनि चाप परेको छ। डलरसँगै अन्य विदेशी मुद्राको मूल्य पनि बढेको छ। कतारी रियाल, मलेसियन रिंगिटलगायत पनि बढेका छन्।
डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रलाई भने ठूलो असर गर्छ। मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। गत आर्थिक वर्ष चार सय ३४ अर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। 

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। गत बर्षभरीमा निर्यात ७६ अर्ब ९२ करोड रुपैयाँ भएको छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ। 
भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ। 
गत बर्ष विदेशबाट बस्तु तथा सेवा आयात ५ सय ५६ अर्ब ७४ करोड रुपैयाँको भएको थियो। डलरको मूल्य बृद्धिले ब्यापार घाटा अझ फराकिलो हुने छ। सबैभन्दा वढी असर पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। कुल आयातको २० प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ भित्राउन वढी डलर खर्चिनु पर्ने भएकाले भाउ वढ्न सक्छ। 
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ। 
डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरित्त भार पर्छ। डलर वृद्धिले बजेट घाटा बढ्ने छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत वढी पैसा तिर्नु पर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ। 

No comments:

Post a Comment

thanks for comment