समस्यामा बजेट आउनु नै ठूलो उपलब्धि : अर्थमन्त्री

काठमाडौं, असार ३१
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले समयमा बजेट आउनु सबैभन्दा ठूलो उपलब्धि रहेको भन्दै निर्वाचन खर्चका कारण बजेट आकार वृद्धि भएको बताएका छन्। कोइरालाले स्रोत समितिले सुरुमा दिएको सिलिङ निर्वाचनलाई नहेरी तोकेका कारण अहिले आकार वढेको बताए। 
'पछि निर्वाचनलाई समेत तालिकामा राखेर स्रोत समितिले बजेटको सिलिङ ५ सय २० अर्ब तोकिदिएको थियो,' मन्त्री कोइरालाले आइतबार सार्वजनिक भएको बजेटका बारेमा प्रकास पार्न सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भने,'हामीले पछि निर्धारण गरिएको सिलिङभित्रै रहेर बजेट ल्याएका छौं। सिलिङभन्दा वाहिर गएर ल्याएको होइन।'
स्रोत समितिले ५ सय ६ अर्बकोे सिलिङ सार्वजनिक गरेको थियो। मन्त्री कोइरालाले ५ सय १७ अर्ब २४ करोडको बजेट ल्याएका छन्। बजेटमा कर्मचारीको तलव र भत्ता तथा निर्वाचन सुरक्षाका लागि ठूलो रकम छुट्याइएको।
मन्त्री कोइरालाले महँगी वढे अनुसार विगत तीन वर्षदेखि कर्मचारीको तलव नवढाइएकाले कानुनी प्रावधान अनुसार नै यसपाली वृद्धि गरिएको जानकारी दिए। सरकारले बजेटमार्फत कर्मचारीको तलव १८ प्रतिशत र भत्ता १ हजार रुपैयाँले वृद्धि गरेको थियो। 

अर्थमन्त्रीले आयोजना विशेष भएर कार्यक्रमहरु लाइएकाले आगामी तीन वर्षमा नेपाल लोडसेडिङ मुत्त हुने बताए। उनले विगतमा ५ सय ५९ वटा आयोजना केन्द्रीत भएर बजेट आएको भन्दै यसपाली ४ सय ५२ वटा आयोजना केन्द्रीत भएर बजेट ल्याएको बताए।
'जलविद्युत भनेको विकास हो, त्यही भएर यसमा बजेट वढी विनियोजन गरेको छु,' अर्थमन्त्रीले भने,'हामीले गरेको लगानीका कारण नेपाल तीन वर्षभित्र लोडसेडिङ मुत्त हुन्छ।' उनले आर्थिक वृद्धि दर वढाउनका लागि कृषिमा लगानी वृद्धि गरेको बताए। उनले आउँदो वर्षको वृद्धि दर ५.५ प्रतिशत पुर्‍याउन तत्कालै नतिजा ल्याउनका लागि कृषिमा लगानी वढाएको जानकारी दिए।
'जलविद्युतको लगानीले विकास देखिन्छ,' उनले भने, 'कृषिको लगानीले आर्थिक वृद्धि दर वढाउँछ।' चालु आर्थिक वर्ष आर्थिक वृद्धि दर ३.६ प्रतिशत रहेको अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी ५ वर्षसम्म नेपालको वृद्धि दर साढे ४ प्रतिशतभन्दा माथि नपुग्ने सार्वजनिक गरिसकेको छ।
अर्थमन्त्रीले नगरी नहुने न्युनतम कार्यक्रमलाई समेटेर बजेट ल्याइएको बताए।'केही नयाँ कार्यक्रमहरु पक्कै छन् निर्वाचनपछि आउने नयाँ अर्थमन्त्रीलाई स्वीकार्य हुने गरी नयाँ कार्यक्रम समेटिएको छ,' उनले भने।
अर्थमन्त्रीले जलविद्युतमा निजी क्षेत्रलाई मात्र नभइ सरकारले पनि आफ्नो भूमिका बढाएको बताए। यद्यपी निजी क्षेत्रको लगानीलाई भने पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए। उनले पुराना राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राख्दै यसमा नयाँ ४ आयोजना थपिएको बताए। सरकारले लुम्बिनी क्षेत्र विकास कोष, पशुपति क्षेत्र विकास कोष, राष्ट्रपती चुरे संरक्षण कार्यक्रम र भेरी ववइ डाइभर्सनलाई गौरवका आयोजनामा समेटेेको छ। 
अर्थमन्त्रीले व्यापार घाटा कम गर्न कृषिलाई प्राथमिकतामा राखिएको भन्दै औद्योगिक क्षेत्र विस्तारका लागि सहुलियतको व्यवस्था गरिएको बताए। उनले राजश्वमा नगरी नहुने कुरालाई मात्र चलाएको जानकारी दिए। 'तीन वर्षदेखि करको दर परिवर्तन नहुँदा केही विसंगतीहरु आएका थिए,' उनले भने, 'विकास र अन्य खर्च वढेका कारण पनि राजश्वका दरमा केही परिवर्तन गर्नु परेको हो।' सरकारले राजश्व वृद्धिको लक्ष्य २० प्रतिशत राखेको छ। 
सरकारले आयकरको सीमासमेत वढाएको छ। एक व्यक्तिका लागि २ लाख रुपैयाँ र दम्पतिका लागि २ लाख ५० हजार रुपैयाँ सीमा निर्धारण गरिएको छ। योभन्दा वढी आम्दानी गर्नेले मात्र आय कर तिर्नु पर्छ। यसअघि आयकरको सीमा क्रमशः १ लाख ४० हजार र २ लाख रुपैयाँ थियो। 

No comments:

Post a Comment

thanks for comment