कर्जा र निक्षेपको ब्याज घट्दै

काठमाडौं, साउन १०
राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको र तरलता बढेका कारण बैंक ब्याज दर घट्ने भएको छ। सरकारी ऋणपत्र, अन्तर बैंक सापटीसहित बैंक तथा वित्तीय संस्थाहरुले ऋणमा लिने र निक्षेपमा दिने ब्याज दर घट्ने भएको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिबाट अनिवार्य तरलता अनुपात (सिआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) को दर घटाएको छ। सरकारी बजेट खर्च बढेका कारण बैंक तथा वित्तीय संस्थासँग तरलतासमेत बढेको छ। 
'सिआआर र एसएलआर घटाइएको असर ब्याज दरमा पर्छ, लगानीकर्ताले सस्तो ब्याजमा ऋण पाउने छन्,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नागरिकसँग भने, 'स्प्रेड दरका कारण पनि  ब्याज दर घट्ने छ।' 
केन्द्रीय बैंकले सिआरआर  १ प्रतिशत विन्दुले घटाएको छ। वाणिज्य बैंकका लागि ५ प्रतिशत, विकास बैंकका लागि ४.५ प्रतिशत र फाइनान्स कम्पनीका लागि ४ प्रतिशत सिआरआर तोकिएको छ। सिआरआर घटेपछि बजारमा तरलता प्रवाह भएर ब्याज तर तल आउने बैंकरको भनाइ छ। 
'तत्कालिन अवस्थामा सरकारी ऋणपत्रको ब्याज दर र अन्तर बैंक सापटीको दर घट्ने छ,' सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नागरिकसँग भने। 
अहिले बाणिज्य बैंकहरुले निक्षेपमा साढे १० प्रतिशतसम्म र कर्जामा १५ प्रतिशतसम्म ब्याज तोकेका छन्। बचत खाताको ब्याज दर ६ प्रतिशतको हाराहारीमा छ। कर्जाको ब्याज पहिलो चरणमा १ प्रतिशत विन्दुले घट्ने छ। त्यसपछि मुद्दति निक्षेपका ब्याजहरु क्रमशः घटेर कर्जाको ब्याज थप चल्ने एक बैंकले जानकारी दिए। 
राष्ट्र बैंकले स्प्रेड दर ५ प्रतिशतभन्दा वढी हुन नहुने व्यवस्था गरेका कारण यसको असर पनि ब्याज दरमा पर्नेछ। अहिले स्प्रेड ७.१ प्रतिशत छ। बैंकहरुलाई स्प्रेड दर कायम गर्नलाई पनि ब्याज दर घटाउन दवाव परेको छ। 

१ प्रतिशत विन्दु घटाइएको सिआरआरलाई छुट्याएको पैसामध्ये वाणिज्य बैंकहरुले करिव १० अर्ब रुपैयाँ चलाउन पाउँछन्। वित्तीय संस्थाहरुको पनि मनग्य पैसा बजारमा आउँछ। यो पैसा प्रत्यक्ष ऋण लगानी गर्न नपाइ पनि लगानी औजारहरुमा प्रयोग गर्न पाइन्छ।  
'सिआरआर र एसएलआरको सोझो असर ब्याज दरमा तत्कालै परिनहाले पनि यसको प्रभावले बैंकलाई निक्षेप र कर्जाको ब्याज दुवै घटाउन दवाव दिने छ,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नागरिकसँग भने। 
बैंकहरुले गत बर्षयति बेला पनि ब्याज दर कटौती गरेका थिए। बजारमा पोहोरको तुलनामा केही बढी पैसा आएकाले ब्याज दर घट्ने शिलशिला केही साताबाटै सुरु हुने बैंकरको भनाइ छ।  राष्ट्र बैंकले पुनर्कर्जाको दरहरु समेत घटाएका कारण उत्पादनमूलक क्षेत्रमा लगानी गर्न चाहनेले सस्तोमै ऋण पाउने छन्। 
राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न पुनर्कर्जाका दरहरु घटाएको छ। कृषि, जलविद्युत, पशुपंक्षी र मत्स्यपालन व्यवसायलाई दिइने पुनर्कर्जाको दर ६ प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ। राष्ट्र बैंकबाट ५ प्रतिशतमा लगेको रकम बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई वढीमा ९ प्रतिशतसम्ममा मात्र लगानी गर्नु पर्ने हुन्छ।
रुग्ण उद्योग, घरेलु तथा साना उद्योग, निर्यातमूलक व्यवसाय, महिलाद्वारा सञ्चालित व्यवसाय, वैदेशिक रोजगारीका लागि तोकिएका समुदायले सञ्चालन गर्ने विशेष पुनर्कर्जाको दर १ प्रतिशतमा सीमित गरिएको छ। यो पुनर्कर्जाको दर १.५ प्रतिशत थियो। यो पुनर्कर्जा ग्राहकले ४.५ प्रतिशतमै पाउने छन्। 


No comments:

Post a Comment

thanks for comment