बैंकको नाफा ४३ प्रतिशतले बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, भदौ १ 
बाणिज्य बैंकहरुले एक बर्षमा नाफा ४३ प्रतिशतले बढाएका छन्। लिने र दिने ब्याजको अन्तर फराकिलो पारेका कारण गत आर्थिक बर्षको सुरुवातदेखि नै बैंकहरुले उच्च नाफा कमाउँदै आएका हुन्। 
सञ्चालनमा रहेका ३१ बाणिज्य बैंकमध्ये ३० वटाले सार्वजनिक गरेको वासलात (ब्यालेन्सिट) अनुसार, नाफा १९ अर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष नाफा १३ अर्ब ३६ करोड रुपैयाँ गरेका थिए। यो बर्ष दुई बैंकले नाफा दुई अर्ब रुपैयाँ नघाएका छन्। कृषि विकास बैंक र नबिल बैंक लिमिटेडको नाफा दुई अर्ब रुपैयाँ नाघेको हो।
नबिल बैंकले २ अर्ब २३ करोड र कृषि विकास बैंकले दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ नाफा गरेको छ। यसपछि उच्च नाफा नेपाल इन्भेष्टेमेन्ट बैंकले गरेको छ। बैंकले एक अर्ब ९९ करोड रुपैयाँ नाफा गरेको छ। एक अर्ब रुपैयाँ नाफा एभरेष्ट बैंक, राष्ट्रिय बाणिज्य बैंक र स्ट्यार्न्डर्ड चार्टर्ड बैंक नेपालले कटाएका छन्। अघिल्लो बर्ष एक अर्ब रुपैयाँ नाफा कटाएको हिमालयन बैंकले अझैसम्म वासलात सार्वजनिक गरिसकेको छैन। 
घरजग्गा ऋणका कारण नाफा प्रभावित हुन्छ भन्ने चर्चा चलिरहँदा बैंकहरुको नाफा भने बढ्दै गएको हो। गत आर्थिक बर्षको पहिलो त्रैमास असोज मसान्तमा वाणिज्य बैंकको नाफा ४१ प्रतिशतले बढेको थियो। दोस्रो त्रैमास पुसमा ५० प्रतिशत र तेस्रो त्रैमास त्रैत मसान्तमा नाफा ४५ प्रतिशतले बढेको थियो। चौथो त्रैमासमा पनि नाफा ४० प्रतिशतभन्दा माथि छ। 
'यसपाली विदेशी मुद्रा किनबेच, छुट तथा कमिसनमा आधारित आम्दानी बैंकहरुको बढेको छ,' एक बैंकरले भने, 'कर्जामा लिने र निक्षेपमा दिने ब्याज अन्तर फराकिलो भएका कारण बैंकको नाफामा सुधार आएको हो।'
गत आर्थिक बर्ष दुई बैंकको नाफा घटेको छ भने एक बैंक घाटामा गएको छ। लुम्बिनी बैंक र नेपाल बंगलादेश (एनबी) बैंकको नाफा घटेको छ। किस्ट बैंक घाटामा गएको छ। तर बैंकको सञ्चालन मुनाफा भने उच्च छ। बैंकले केही ऋणको ब्याज नउठेर नोक्शानी व्यवस्थामा ठूलो  रकम छुट्याएकाले खुद नाफा प्रभावित बनेको हो। 

बैंकहरुले गत आर्थिक बर्ष धमाधम धितो सम्पति लिलाम गरेर पैसा उठाएका छन्। कर्जा–निक्षेप अनुपात साँघुरो भएका कारण बर्षको अन्तिममा खासै ऋण विस्तार नभएपनि बैंकले पुरानो ऋण उठाएर नाफा बढाएका हुन्। 
यससँगै ब्याज र किस्ता नउठेर बढेको नोक्सानी व्यवस्थाको रकम फराकिलो स्प्रेड दरका कारण बैंकहरुले रहजै व्यवस्थापन गर्न सकेका छन्। सार्वजनिक भएका वासलात मध्ये अधिकांस बैंकको पुँजी लागत घटेको छ, तर स्प्रेड भने बढेर गएको छ। कम पैसामा निक्षेप राख्ने र वढी ब्याज लिएर कर्जा लगानी गर्दा बैंकको नाफा ह्वात्तै बढेको हो। 
सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकहरुले गरेको सञ्चालन मुनाफा बढेको अनुपातमा भने खुद नाफा बृद्धि भने भएको छैन। 'गत बर्षको भन्दा खुद नाफा बढेको देखिन्छ,' एक बैंकरले भने, 'तर सञ्चालन नाफाको अनुपातमा भने खुद नाफा कमै छ।' बैंकहरुले कतिपय ठूला कर्जाहरु नउठेका कारण ठूलै रकम नोक्सानी व्यवस्था गर्नु परेकाले खुद नाफा अपेक्षाभन्दा कमै छ। 
'शंका लागेका कर्जाहरुमा पनि बैंकहरुले नोक्शानी व्यवस्था गरेका छन्,' ती बैंकरले भने,'नोक्शानी व्यवस्थामा यथेस्ठ रकम राख्दा पनि लाभांस गत बर्षको भन्दा नघट्ने भएकाले बैंकहरुले जोखिम लिएका छैनन्।' राष्ट्र बैंक स्रोतका अनुसार, अधिकांस बैंकको सञ्चालन मुनाफा बढेपनि एकाध बैंकको यस्तो नाफा घटेको देखिएको छ।  

No comments:

Post a Comment

thanks for comment