कम्पनीहरुले लाभांस घोषणा गर्न थाले

काठमाडौं, भदौ ८
बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीहरुले नाफा बृद्धि गरेपछि लगानीकर्तालाई दिने लाभांस घोषणा गर्न थालेका छन्। एक उत्पादनमूलक, एक जलविद्युत कम्पनीसहित सात कम्पनीहरुले गत बर्षको नाफाबाट लाभांस घोषणा गरिसकेका छन्। 
बाणिज्य बैंकहरुले भने सार्वजनिक रुपमा घोषणा नगरेपनि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्न थालेका छन्। एभरेष्ट, सिटिजन्स्लगायतका बैंकले राष्ट्र बैंकसँग लाभांस स्वीकृतिका लागि माग गरेका छन्। नाफा ४० प्रतिशतभन्दा बढी भएका कारण बाणिज्य बैंकहरुको लाभांस बृद्धि भएको छ।
गत बर्षको नाफाबाट सबैभन्दा पहिले लाभांस अरुण भ्याली जलविद्युत विकास कम्पनीले वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले १५ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांस वितरण गर्ने जनाएको छ। उत्पादनमूलक कम्पनी युनिलिभर नेपाल लिमिटेडले ७६० प्रतिशत नगद लाभांस घोषणा गरेको छ। गत बर्ष पनि उच्च लाभांस युनिलिभरले घोषणा गरेको थियो।
यसपछि महालक्ष्मी फाइनान्सले १३ प्रतिशत नगद लभांस घोषणा गरिसकेको छ। युनिक फाइनान्सले १२ प्रतिशत, युनाइटेड फाइनान्सले १२.५ प्रतिशत नगद लाभांस घोषणा गरेका छन्। मितेरी डेभलपमेन्ट बैंकले २० प्रतिशत वोनस सेयर र पाँच प्रतिशत नगद लभांस घोषणा गरिसकेको छ भने सिटी डेभलपमेन्ट बैंकले २१.३८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.१२ प्रतिशत नगद लाभांस घोषणा गरेको छ। 
बाणिज्य बैंकहरुको लाभांस पनि यस पटक आकर्षक हुने छ। बैंकिङ क्षेत्रको औषत नाफा ४० प्रतिशतले बृद्धि भएकाले अधिकांस बैंकको  लाभांस बढ्ने छ। यसपाली दुई बैंकले नाफा दुई अर्ब कटाएका छन् भने सात बैंकको नाफा एक अर्ब रुपैयाँ कटेको छ। चुक्ता पुँजी र पुँजी कोष बृद्धि गर्नु पर्ने कारणले केही बैंकको वोनस सेयर बढ्ने छ। अधिकांस बैंकले नगद र वोनस सेयर मिसाएर लाभांस दिने छन्। 
नाफामा गएका विकास बैंक र फाइनान्स कम्पनीले पनि लाभांस दिने छन्। अधिकांस लघुवित्त विकास बैंकको नाफा उच्च रहेकाले लाभांस पोहोरको भन्दा बृद्धि हुने छ। 

सबैभन्दा वढी लाभांस घोषणा गरेको युनिलिभरले १९ करोड ८५ लाख रुपैयाँ नाफा गरेको छ। कम्पनीले बर्षभरी एक अर्ब ३१ करोडको कुल आम्दानी गरेको थियो। कम्पनीको चुक्ता पुँजी नौं करोड २१ लाख रुपैयाँ छ। 
लाभांस घोषणा गरेको अरुण भ्यालीले गत आर्थिक बर्ष पाँच करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ। कम्पनीको चुक्ता पुँजी ३० करोड ४९ लाख रुपैयाँ छ। कम्पनीको प्रति सेयर आम्दानी १८ रुपैयाँ ८६ पैसा छ भने प्रति सेयर नेटवर्थ १२२ रुपैयाँभन्दा वढी रहेको छ।
महालक्ष्मी फाइनान्सले गत आर्थिक बर्ष सात करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ १७ पैसा छ भने चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ। बैंकले ऋण लगानी गरेर खुद ब्याज आम्दानी १२ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ। 
युनिक फाइनान्सले गत आर्थिक बर्ष तीक करोड चार लाख रुपैयाँ गरेको छ। फाइनान्सले अघिल्लो बर्ष दुई करोड २१ लाख नाफा गरेको थियो। प्रति सेयर आम्दानी १५ रुपैयाँ २४ पैसा रहेको कम्पनीले खुद ब्याज आम्दानी चार करोड रुपैयाँ माथि गरेको छ।
मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्ष तीन करोड २९ लाख रुपैयाँ नाफा गरेको छ। चुक्ता पुँजी १० करोड ८३ लाख रुपैयाँ रहेको बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ ४१ पैसा छ। बैंकको खुद ब्याज आम्दानी ६ करोड रुपैयाँ आर्जन गरेको छ। 
सिटी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्ष सात करोड २४ लाख रुपैयाँ नाफा गरेको छ। चुक्ता पुँजी २५ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ ५५ पैसा छ। बैंकले खुद ब्याज आम्दानी १४ करोड ५३ लाख रुपैयाँ गरेको छ। 
युनाइटेड फाइनान्सले गत आर्थिक बर्ष पाँच करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष कम्पनीको नाफा तीन करोड ७९ लाख रुपैयाँ थियो। कम्पनीको प्रति सेयर आम्दानी १५ रुपैयाँ ७३ पैसा छ। कम्पनीले खुद ब्याज आम्दानी १३ करोड ८६ लाख रुपैयाँ गरेको छ। 

No comments:

Post a Comment

thanks for comment