लागत घटेपनि ब्याज अन्तर फराकिलो

काठमाडौं, साउन ३०
बाणिज्य बैंकहरुको पुँजी लागत घटेपनि कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) फराकिलो बनाएका छन्। सञ्चालनमा रहेका ३१ वटै वाणिज्य बैंकको पुँजी लागत घटेको छ, तर अधिकांसले स्प्रेड दर फाराकिलो बनाएका छन्।
स्प्रेड फराकिलो भएकै कारण यि बैंकको नाफा बृद्धि भएको हो। पाँच वटा वाणिज्य बैंकको स्प्रेड दर ५ प्रतिशतभन्दा माथि छ। बाँकी बैंकले पनि पोहोरको तुलनामा स्प्रेड फराकिलो बनाएका छन्। प्राइम कमर्सियल, लक्ष्मी र सेन्चुरी कमर्सियल बैंक वाहेक सबै बैंकको स्प्रेड दर बढेको छ। 
बैंकहरुले तरलता अभाव भएका बेला लिएको महँगो दरको निक्षेप परिपक्क हुँदै गएको छ। पैसा वढेसँगै बैंकहरुले नयाँ निक्षेप सस्तोमा लिन थालेको र पुरानोसमेत परिपक्क भएपछि नवीकरण हुन थालेकाले लागत कम हुँदै गएको हो। 'निक्षेप बढ्ने र घट्ने क्रम तिब्र भएका कारण स्प्रेड केही फराकिलो देखिएको छ,' एक बैंकरले भने, 'यसमा अब विस्तारै सुधार हुँदै जान्छ। बैंकहरुले ब्याज दर घटाउन थालेकाले असोजसम्म स्प्रेड पुरानो स्तरमा आउँछ।'
पुराना बैंकहरुको पुँजी लागत साढे चार प्रतिशतको हाराहारीमा आइसकेको छ। बीचतिर खुलेका बैंकहरुको सात प्रतिशतको हाराहारीमा छ। ८ प्रतिशतभन्दा माथि कुनै पनि बैंकको पुँजी लागत छैन। सबैभन्दा कम पुँजी लागत स्टेन्डर्ड चार्टर्ड बैंक नेपालको छ। बैंकको पुँजी लागत ३.४४ प्रतिशतबाट घटेर २.३५ प्रतिशतमा झरेको छ।  यसअघि पुरानको पुँजी लागत ६ प्रतिशतभन्दा माथि, बीचतिर खुलेका बैंकहरुको नौं प्रतिशत हाराहारी र नयाँको साढे १० प्रतिशतभन्दा मथि थियो।

बैंकहरुको पुँजी लागत घटेपनि स्प्रेड फराकिलो बनेको छ। पाँच प्रतिशतभन्दा माथि स्प्रेड नबिल, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, लुम्बिनी र नेपाल बंगलादेश बैंक (एनबी) को छ। बैंकहरुको स्प्रेड फराकिलो भएको भन्दै राष्ट्र बैंकले यसमा सीमा तोक्ने भएको छ। राष्ट्र बैंकले स्प्रेड दर अधिकतम ५ प्रतिशतभन्दा वढी हुन नहुने मौद्रिक नीतिमा व्यवस्था गरेको छ। मौद्रिक नीति अनुसार निर्देशिका जारी भएपछि स्प्रेडको ब्यवस्था कार्यान्वयमा आउने छ। 
स्प्रेड फराकिलो भएकै कारण बैंकहरुको नाफा लगातार बृद्धि हुँदै आएको छ। गत आर्थिक बर्ष तीन बैंक बाहेक अधिकांसको नाफा बृद्धि भएको छ। गत असोजमा बैंकको नाफा ४१ प्रतिशत, पुसमा ५० प्रतिशत र चैतमा ४५ प्रतिशतले बढेको थियो। 
राष्ट्र बैंकका अनुसार, अहिले वाणिज्य बैंकहरुले निक्षेपमा औषत ५.२ प्रतिशत ब्याज दिइरहेको र कर्जामा औषत १२.३ प्रतिशत ब्याज लिइरहेका छन्। अहिले बैंकहरुको औषत स्पे्रड दर ७.१ प्रतिशत रहेको छ। 
राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशत ब्याजमा राम्रो नाफा कमाएर सञ्चालन हुन सक्छन्। राष्ट्र बंैकले ग्राहक र बैंक दुवैले जित्ने गरी स्प्रेड दर ५ प्रतिशत तोकेको जनाइसके छ।
सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार, बैंकहरुले निक्षेपकर्तालाई भुक्तानी गर्नु पर्ने व्याज खर्च रकम एक वर्षमा १०.४३ प्रतिशतले घटेको छ। तर आम्दानी भने ८.४६ प्रतिशतले वढेको छ। 
पराकिलो स्प्रेडका कारण बैंकको आम्दानी बृद्धि भएको हो। फराकिलो स्प्रेडका कारण बैंकहरुको खुद व्याज आम्दानी नै ४१ प्रतिशतले वढेको छ। राष्ट्र बैंकले गत असोजबाटै स्पे्रड दरलाई नजिकबाट अनुगमन गरिरहेको थियो। 
कतिपय ऋणको ब्याज र किस्ता नउठेर नोक्सानी व्यवस्थामा ठूलो रकम छुट्याउँदासमेत बैंकहरुले राम्रो नाफा देखाएका थिए।सञ्चालन नाफाबाट नोक्सानी व्यवस्थामा रकम छुट्याउनु पर्ने हुँदा खुद नाफा घट्छ। राजनीतिक अन्यौंल वढ्दै गएको, घरजग्गा कारोबारमा सुधार नआएको र नयाँ उद्योगधन्दा आउने अवस्था नभएका कारण बैंकहरुले स्प्रेड बढाएर  नाफा सुरक्षित गरेका हुन्।  

No comments:

Post a Comment

thanks for comment