बैंकका कर्मचारीको पनि तलव बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, साउन २८
सरकारी कर्मचारीहरुको तलव सुविधा बृद्धिसँगै निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलव बढेको छ। बैंक तथा वित्तीय संस्थाले नीयमित तालिका तथा कर्मचारी युनियनको दवावमा तलब सुविधा बृद्धि गरेका हुन्। 
तलव बृद्धि वाणिज्य बैंकहरुमा बढी भएको छ। विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि तलव बढाएका छन्। बैंक तथा वित्तीय संस्थाहरुमा २० देखि ४५ प्रतिशतसम्म तलव बृद्धि भएको छ। बढ्दो मुल्य बृद्धिका कारण कतिपय बैंक सञ्चालक समिति आफैले तलव बढाएका छन् भने कतिपयमा भने कर्मचारी युनियनले नै दवाव दिनु परेको छ।
कर्मचारी युनियन सक्रिय भएका बैंक तथा वित्तीय संस्थामा वढी तलव बृद्धि भएको छ। युनियन नभएको बैंकहरुमा भने मूल्य बृद्धिका आधारमा तलव बृद्धि गरिएको छ। युनियनहरुले तलव बृद्धि गर्न कालोपट्टी नै बाध्नु परेको थियो। केही बैंकहरुमा अझै पनि युनियन र उच्च व्यवस्थापनको तलव कति बढाउने भनेर छलफल चलिरहेको छ। 
बैंकरहरुले वार्षिक मूल्य बृद्धिका आधारमा तलव बृद्धि गर्नु आवश्यक भएको बताएका छन्। उनीहरुले संस्थाको क्षमताभन्दा वढी तलव वृद्धिको माग पनि बढ्दै गएको जानकारी दिए। 'मूल्य बृद्धि अनुसार तलव बृद्धि नगरे भएको तलवको मूल्य घट्छ,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नागरिकसँग भने, 'दीर्घकालिन रुपमा भार पर्ने गरी तलव बृद्धि गर्दा संस्थालाई अप्ठेरो पर्ने सम्भावना रहन्छ।'
सरकारले चालु बर्षको बजेट मार्फत निजामति कर्मचारी, प्रहरी, सेना, शिक्षकलगायतका तलव १८ प्रतिशत र भक्ता एक हजार रुपैयाँले बृद्धि गरेको थियो। कतिपय संस्थामा सरकारी कर्मचारीको तलव बढेर मुल्य बृद्धिमा चाप परेको भन्दै कर्मचारीले आफ्नो तलव बढाउन दवाव दिएका थिए।

सबैभन्दा वढी तलव बृद्धि एभरेष्ट बैंकका कर्मचारीहरुको भएको छ। एभरेष्टका कर्मचारीको तलव कम्तिमा २० प्रतिशतले बढेको छ। कर्मचारीको स्तर अनुसार बैंकले अधिकतम ४५ प्रतिशतसम्म तलव बढाएको छ। कर्मचारी युनियनको दवावमा एभरेष्ट बैंकका कर्मचारीको तलव बढेको हो।
'प्रत्येक दुई बर्षमा तलव बढाउने बैंकको नीति नै छ,' बैंकका नायव महाप्रबन्धक हुमनाथ गुरुङले भने,'कर्मचारी तलब र भक्ता गरेर सुविधा बृद्धि भएको हो। अधिकतम ४५ प्रतिशतसम्म तलव भक्ता बढेको छ।'
नबिल, एभरेष्ट, नेपाल एसबिआइ, हिमालयनलगायतका बैंकमा तलव बृद्धिका लागि कर्मचारी युनियनहरुले सामूहिक विरोधका कार्यक्रमहरु नै अगाडि बढाएका थिए। कालोपट्टी वाँध्ने, एक घण्टा काम रोक्ने जस्ता कार्यक्रम गरेपछि उच्च व्यवस्थापन र सञ्चालक समितिले तलब तथा भत्ता बृद्धिको माग स्वीकार गरेको थियो। यि बैंकमा तलव बढाउन युनियन सक्रिय भएपछि अन्य संस्थामा पनि कर्मचारीहरुले सामूहिक रुपमा दवाव दिएका छन्। 
'कर्मचारी युनियनले दवाव नदिएसम्म बैंक उच्च व्यवस्थापनले तलव सुविधा बृद्धिमा ध्यान दिँदैन,' एक बैंकका कर्मचारी युनियन संयोजकले भने, 'काम तोकिएको समयभन्दा वढी लगाउन पछि नपर्ने तर सुविधा दिने बेलामा कन्जुस्याँइ गरेपछि युनियन दवाव दिन वाध्य हुन्छ।' कर्मचारीहरुले तलव तथा भक्ता बृद्धिमा दवाव दिन्छन् भनेरै कतिपय बैंक तथा वित्तीय संस्थाहरुले नयाँ कर्मचारी राख्दा युनियन गठन तथा गतिविधिमा संलग्न हुन नपाउने लिखित सर्त नै राखेको हुने ती कर्मचारीले जानकारी दिए।
नबिल बैंक लिमिटेडले औषत ३० प्रतिशतको हाराहारीमा तलव भक्ता बृद्धि गरेको छ। हिमालयन बैंकमा पनि औषत ३० प्रतिशतको हाराहारीमा नै तलव भक्ता बढेको छ। नेपाल एसबिआइ बैंकले पनि तलव भक्ता बढाएको छ। ग्रान्ड बैंक नेपालले २० प्रतिशतको हाराहारीमा तलव सुविधा बृद्धि गरेको छ। 

No comments:

Post a Comment

thanks for comment