वैदेशिक रोजगारीमा गएकालाई बचतपत्र निस्कासन

काठमाडौं, असार २२
नेपाल राष्ट्र बैंकले असार ३० गतेबाट वैदेशिक रोजगार बचत पत्र विक्री खुला गरेको छ। आगामी पाँच वर्षमा परिपक्क हुने बचतपत्रमा राष्ट्र बैंकले साढे १० प्रतिशत ब्याज दर तोकेको छ। 
राष्ट्र बैंकले पछिल्लो तीन वर्षदेखि वैदेशिक रोजगारमा गएकाहरुलाई लक्षित गर्दै बचत पत्र निस्कासन गर्दै आएको छ। राष्ट्र बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो। 
'वैदेशिक रोजगारीमा गएकाहरुको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले बचतपत्र ल्याइएको हो,' राष्ट्र बैंक राष्ट्र ऋण विभागका कामु कार्यकारी निर्देशक नरवहादुर थापाले नागरिकसँग भने,'धेरैभन्दा धेरै रोजगारीमा गएकाहरु सहभागी हुन् भनेर यसपाली ब्याज दर पनि वढाएका छौं।' 
राष्ट्र बैंकले गत तीन वर्षदेखि बचतपत्र निस्कासन गरेपनि लक्ष्यको धेरै कम मामत्र विक्री भएको छ। पहिलो पटक आर्थिक वर्ष २०६६/६७ बाट निस्कासन सुरु गरिएको बचतपत्रमा ४० लाख रुपैयाँ बराबरको आवेदन परेको थियो। त्यो वर्ष १ अर्बको बचतपत्र निस्कासन गरिएको थियो। 
आर्थिक वर्ष २०६७/६८ मा ५ अर्बको निस्कासन गरिएकोमा ३३ लाख ८० हजार रुपैयाँको आवेदन परेको थियो। गत आर्थिक वर्ष १ अर्ब निस्कासन गरिएकोमा ८६ लाख ६० हजारको आवेदन परेको थियो। सरकारले वर्षभरीको खर्च सञ्चालन गर्ने क्रममा आन्तरिक ऋण उठाउन ऋणपत्र जारी गर्छ। 
'विगतमा प्रचार प्रसार तथा ब्याज दर कम भएका कारणले पनि कम आवेदन परेको हुन सक्छ,' थापाले भने, 'यसपाली हामीले ब्याज दर वढाउँदै प्रचार प्रसारमा पनि ध्यान दिएका छौं।'

सरकारका लागि राष्ट्र बैंकले जारी गरेको वैदेशिक रोजगार बचतपत्र गैरआवासीय नेपाली र भारतमा रहेका नेपाली कामदारले समेत किन्न पाउँछन्। ऋणपत्रका लागि न्यूनतम ५ हजार रुपैयाँको आवेदन दिन सकिन्छ। राष्ट्र बैंकले ऋणपत्र किनेका लागि प्रत्येक ६ महिनामा ब्याज भुक्तानी गर्ने जनाएको छ। 
विदेशमा बसेका नेपालीले ऋणपत्र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ), प्रभु मनि ट्रान्सफर, प्रभू फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सेन्चुरी कमर्सियल बैंक र सेवा  एक्सप्रेसमार्फत किन्न पाउने छन। नेपाल राष्ट्र बैंकले निस्कासन गर्ने वैदेशिक रोजगार बचतपत्र गैरआवासीय नेपाली र भारतमा रहेका नेपाली कामदारले समेत किन्न पाउने ब्यवस्था मिलाएको छ। विगतमा बचतपत्र दक्षिण कोरिया, मलेसिया, युएई, साउदी अरेबिया र कतारमा गएका नेपालीले मात्र किन्न पाउनेमा यसपालीदेखि जहाँसुकैका नेपालीले पनि किन्न पाउने छन्। भारतमा रहेका नेपाली कामदार र एनआरएनका लागि पनि बचतपत्र खुला गरिएको छ। 
कामको सिलसिलामा विदेश गएका नेपाली कामदारले आर्जन गरेको रकमबाट राष्ट्र निर्माणका लागि पुँजी परिचालन गरी पूर्वाधार निर्माणमा खर्च गर्ने उद्देश्यले बचत पत्र निष्कासन गरिएको थापाले जानकारी दिए। 
'विदेशमा काम गर्ने नेपालीले लगानीको राम्रो अवसरसँगै बचत गर्न सकुन् भनेर बचतपत्र निष्कासन गरिएको हो,' थापाले भने,'उनीहरुको रकमलाई एकीकृत गरी विकास निर्माणमा लगाउन बचतपत्र अवधारणा ल्याइएको हो।' केन्द्रीय तथ्यांक विभागका अनुसार रेमिटेन्सका रुपमा भित्रिएको कुल रकममध्ये ९४ प्रतिशतभन्दा बढी उपभोगमा खर्च हुने गरेको छ।
बचतपत्र नेपाली रुपैयाँमा समेत खरीद गर्न पाइने छ। विदेशी रोजगारीमा गएर तीन महिना नेपाल बसेका कामदारले पनि बचतपत्र किन्न पाउने छन्। बचत पत्र विक्री गर्ने एजेन्टहरुले त्यस वापत कमिसन पाउँछन्। एक सय रुपैयाँ बराबरको बचतपत्र बेच्नेलाई ६५ पैसा कमिसन दिइने छ। 
बचत पत्र बैदेशिक रोजगारीमा गएको नेपालीले आफु तथा आमाबाबु, श्रीमती तथा छोराछोरीको नाममा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। पाँच वर्ष अवधि भएको बचत पत्र रोजगारीमा गएको व्यक्तिले नाबालकको तर्फबाट समेत संरक्षक भई खरिद गर्न सक्नेछन्। दुई व्यक्तिले पनि संयुक्त नाममा बचत पत्र खरिद गर्न सक्ने छन्। 

No comments:

Post a Comment

thanks for comment