बैंकका भन्दा लघुवित्तका ऋणी धेरै

सुदर्शन सापकोटा
काठमाडौं, साउन ८
लघुवित्त विकास बैंकहरुले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भन्दा वढी ग्राहकलाई ऋण लगानी गरेका छन्। गत आर्थिक बर्षसम्म लघुवित्त विकास बैंकहरुले  ८ लाख ४९ हजार जनालाई ऋण लगानी गरेका हुन्।
विपन्न वर्गमा लगानी गर्ने लघुवित्त विकास बैंकहरुले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भन्दा करिव ४ हजारभन्दा वढीलाई ऋण दिएका हुन्। लघुवित्त वाहेकका संस्थाहरुले ८ लाख ४५ हजार जनालाई ऋण दिएका छन्।
अहिले ३१ वाणिज्य बैंक, ८६ विकास बैंक र ५९ फाइनान्स कम्पनीहरु सञ्चालनमा छन्। जबकी लघुवित्त विकास बैंकहरुको संख्या ३१ वटा मात्र छ। सानो सानो मात्रामा ऋण लगानी गर्ने भएकाले लघुवित्त विकास बैंकहरुले ऋण दिनेको संख्या वढी भएको हो। यस वाहेक लघुवित्त विकास बैंकहरुले विपन्न वर्गलाई धितो नलिइकनै ऋण लगानी गर्छन्। 
'लघुवित्त विकास बैंकहरुले समूहमा लगानी गर्ने भएकाले उनीहरुको ऋणीको ग्राहक आधार बढी देखिएको हो,' राष्ट्र बैंकका प्रवक्ता मास्करमणि ज्ञवालीले मंगलबार नागरिकसँग भने, 'बाँकी संस्थाले ठूलो आकारको लगानी गर्ने भएकाले ऋण लिने ग्राहकको संख्या कम देखिएको हो।'

देशका ६८ जिल्लामा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु पुगेका छन्। १७६ वटा बैंक तथा वित्तीय संस्थाको शाखाहरु २ हजार ५ सय २ वटा पुगिसकेको छ। जबकी ३१ वटाको संख्यामा रहेका लघुवित्त विकास बैंकहरु देशको ६५ वटा जिल्लामा सञ्चालनमा छन्। यिनीहरुको शाखा संख्या ६ सय ३४ वटा मात्र छ। त्यही पनि यिनीहरुले वाणिज्य बैंक तथा वित्तीय संस्थाभन्दा वढीलाई ऋण लगानी गरेका छन्।
ज्ञवालीका अनुसार, लघुवित्त विकास बैंकहरुले न्युनतम ५ हजारदेखि अधिकतम १ लाख ५० हजार रुपैयाँसम्म लगानी गर्न पाउँछन्। वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले भने सजिलोका लागि ठूलो ऋण लगानी गर्ने भएकाले यिनीहरुको ग्राहक संख्या कम रहेको छ। कतिपय  …ख' वर्गका विकास बैंकहरुले भने लघुवित्तमा पनि लगानी विस्तार गरिरहेका छन्। 
वाणिज्य बैंकहरुले ५ लाखभन्दा कमको कर्जालाई अगाडि वढाउँदैनन्। विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ठूलो आकारको कर्जा ताक्ने गरेकाले ऋणीको संख्या नवढेको हो। 'दोहोर्‍याइ तेहेर्‍याइ ठूलालाई नै लगानी गर्ने कारणले वाणिज्य बैंक र विकास बैंकको ऋणी ग्राहक बढ्न नसकेको हो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'त्यही भएर यसपाली देखि स्थानीय स्तरबाट उठाएको निक्षेपमध्ये निश्चित प्रतिशत त्यही लगानी गर्नु पर्ने व्यवस्था गरिएको छ।'
वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले सानोतिनो ऋण तिर्न इच्छा नदेखाएको गुनासो राष्ट्र बैंकमा बारम्बार आउने गरेको ती अधिकारीले जानकारी दिए। …निक्षेप सानाबाट पनि उठाउने तर लगानी त्यही निक्षेप गर्ने ब्यक्तिलाई नदिएको गुनासो आइरहेको छ,' उनले भने, …यसलाई शंवोधन गर्नकै लागि यसपालीदेखि मौद्रिक नीतिमा स्थानीय स्तरमा लगानी गर्न वाध्य पारिएको छ।' उनले चालु वर्षदेखि ठूला वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुबाट साना लगानी बढ्ने जानकारी दिए।
बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले १ करोड  ११ लाख जनाबाट निक्षेप संकलन गरेका छन्। केही समय अगाडि मात्र निक्षेप संकलन गर्न स्वीकृति पाएका लघुवित्त विकास बैंकहरुले भने ११ लाख ६४ हजार जनाको निक्षेप खाता खोलेका छन्।  
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारका कारण बैंकिङ पहुँच अभिवृद्धि भएको जनाएको छ। ८ हजार ४ सय ७५ जना बराबर बैंक तथा वित्तीय संस्थाका एक शाखा रहेको छ। एक बर्षअघि ८ हजार ९ सय ६८ जना बराबर एक शाखा थियो। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त विकास बैंकको ६८ जिल्लामा ३ हजार १ सय २६ शाखा सञ्चालनमाछन्। 

No comments:

Post a Comment

thanks for comment