आर्थिक बर्ष सुरुसँगै निक्षेप १६ अर्ब बाहिरियो

काठमाडौं, साउन १४
आर्थिक बर्षको अन्तिमतिर बढ्न थालेको बाणिज्य बैंहरुको निक्षेप नयाँ आर्थिक बर्ष लागेपछि घट्न थालेको छ। नयाँ आर्थिक बर्ष लागेपछि दुई सातामा बैंक निक्षेप १६ अर्ब रुपैयाँले घटेको छ।  
सरकारी खर्च बढेका कारण बैंकहरुले कुल निक्षेप १० खर्ब १७ अर्ब रुपैयाँसम्म पुर्‍याएका थिए। नयाँ आर्थिक बर्ष सुरु भएपछि सरकारी खर्च बन्दै भएको र ग्राहकहरुले पैसा झिक्न थालेका कारण निक्षेप घटेको हो। अहिले बाणिज्य बैंकसँग १० खर्ब १ अर्ब रुपैयाँ निक्षेप छ।
'बैंकका शाखा प्रबन्धकहरुले तोकिएको लक्ष्य पुरा गर्न असार अन्तिमतिर विभिन्न उपायहरु लगाएर ऋण र निक्षेप बढाएका हुन्छन्,' सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुवन दाहालेले सोमबार नागरिकसँग भने, 'अहिले त्यो पैसा झिकिएको हुने भएकाले ऋण र निक्षेप घटेको हुनसक्छ।' 
दाहालका अनुसार, मेगा बैंकको सेयरमा केही रकम ऋण लिएर लगानी गरिएका सेयर वाँडफाँडपछि त्यो रकम फिर्ता भएकाले पनि निक्षेप र कर्जा घटेको हो। 'कर प्रयोजका लागि भुक्तानी गरिएको चेक असारपछि मात्र बैंकमा साटिएकाले पनि निक्षेप घटेको देखिन्छ,' उनले भने।

बैंकहरुको निक्षेपसँगै कर्जा लगानी पनि घटेको छ। सामान्यतया साउन लागेपछि कर्जा विस्तार गर्दै आएका बैंकहरुले पछिल्लो दुई साता लगानी ७ अर्ब रुपैयाँले घटाएका छन्। बैंकहरुसँग मसान्तका दिन ७ खर्ब ५४ अर्ब रुपैयाँ ऋण भएकोमा साउनको दोस्रो सातासम्म आइपुग्दा घटेर ७ खर्ब ४७ अर्बमा झरेको छ। 
राष्ट्र बैंकले स्प्रेड दर ५ प्रतिशतभन्दा वढी हुन नहुने, अनिवार्य तरलता अनुपात, वैधानिक तरलता अनुपातहरु घटाएपछि ब्याज दर घट्ने आशमा ग्राहकले ऋणको माग नगरेको एक बैंकरले बताए। ब्याज दर घट्न थालेपछि ऋण लगानी विस्तार हुने ती बैंकरले बताए। उनले अहिले व्यापारिक कर्जा नियमित भएपनि अन्य कर्जा फाट्टफुट्ट मात्र गइरहेको जानकारी दिए। 
बैंकरहरुले एकदेखि दुई प्रतिशत विन्दुसम्म ब्याज दर कम हुने बताउन थालेका छन्। केही बैंकले घटाएर ब्याज दर प्रकाशित गर्न थालिसकेका छन्। ब्याज दर अन्य बैंकले पनि घटाउन थालेपछि ऋणको माग बढ्ने बैंकरहरु बताउँछन्।  
गत आर्थिक बर्षभरी १ खर्ब ४५ अर्ब रुपैयाँले बढेको वाणिज्य बैंकहरुको निक्षेपमध्ये ७५ अर्ब रुपैयाँ पछिल्लो ६  सातामा वृद्धि भएको थियो। सर्बसाधारणले बैंकबाट पैसा झिक्न थालेपछि असारको दोस्रो सातासम्म आइपुग्दा निक्षेप १६ अर्ब रुपैयाँले घटेको हो।
सरकारले असार अन्तिममा विकास निर्माणका लागि धमाधम भुक्तानी दिन थालेकाले निक्षेप वढेको थियो। पछिल्लो समय बैंकहरुले कर्जा–निक्षेप अनुपात साँघुरो भएका कारण निक्षेप वढेपनि थप लगानी गर्न सकेका थिएनन्।  
नोक्सानी व्यवस्थाका कारण असार अन्तिममा ऋण लगानी नगर्ने पुरानै परम्परा र यही बेला  अनिवार्य नगद अनुपात (सिआरआर) कायम गर्नु पर्ने दवावले पनि बैंकहरुले लगानी विस्तार गरेका थिएनन्। बैंकहरुले सेयरधितो कर्जा (मार्जिन लेन्डिङ) पुरै रोकेका थिए भने लामो अवधिका कर्जा पनि त्यति दिएका थिएनन्। व्यापारिक प्रयोजनाका छोटो अवधिको कर्जा मात्र लगानी भएको थियो।
बैंकहरुले एक सय रुपैयाँ निक्षेप उठाउँदा जम्मा ८० रुपैयाँ मात्र लगानी गर्न पाउँछन्। निक्षेप वढेपनि पहिले नै ऋण वढाएका कारण अहिले कर्जा–निक्षेप अनुपात कायम राख्न बैंकले लगानी विस्तार गर्न नसकेका हुन्।

No comments:

Post a Comment

thanks for comment