सानिमाको सामाजिक कार्यमा नाफाको २ प्रतिशत खर्च

काठमाडौं, साउन ३१
सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्ष खुद नाफाको २.०७ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुमा खर्च गर्ने भएको छ। बैंकले गरिव तथा विपन्न सर्वसाधारणको शिक्षा, स्वास्थ्य र स्वरोजगारमा यो रकम खर्च गर्ने भएको हो। बैंकले गत बर्ष पनि खुद नाफाको २ प्रतिशत (२५ लाख रुपैयाँ) रकम सामाजिक उत्तरदायित्व कार्यक्रममा खर्च गरेको थियो। बैंकले गत बर्ष ३० करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो। 
यसपाली बैंकले गत बर्षको नाफाको दुई प्रतिशत (६३ लाख रुपैयाँ) सामाजिक कार्यक्रमहरुमा खर्च गर्ने छ। सञ्चालनको दशौं बर्ष मनाइरहेको बैंकले काठमाडौं उपत्यकावाहिर रहेका प्रत्येक शाखाहरुबाट २ जना विद्यार्र्थीहरुलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च माध्यामिक तह (प्लस टु) शिक्षा हासिल गर्न छात्र वृत्ति प्रदान गर्दै आइरहेको छ। 
…सानिमाले सामाजिक योगदानलाई अगाडि बढाउन ६३ लाख खर्च गर्ने लक्ष्य लिएको छ,' बैंकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले भने, …निक्षेपकर्ताको पैसा सुरक्षित राखेर राष्ट्र निर्माणमा लगानी गर्नु हाम्रो पहिलो दायित्व हो। दोस्रो दायित्व समाजका लागि केही गर्नु हो।'

बैंकले गतवर्ष उपत्यका वाहिरका १४ शाखाबाट २८ जना विद्यार्र्थीलाई शैक्षिक संस्थामा लाग्ने सम्पूर्ण शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुबाहेक मासिक दुई हजार नगद वृत्ति उपलब्ध गराएको थियो। बैंकले यसका लागि बार्षिक प्रति विद्यार्र्थी औसतमा ४० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको थियो। यो कार्यक्रममा बैंकले गतवर्ष करिब १२ लाख रुपैया खर्च गरेको थियो। यो छात्रवृत्तिलाई चालु वर्ष पनि उपत्यकावाहिर रहेका १७ शाखाबाट निरन्त्तरता दिदै कुल ६२ जना विद्यार्र्थीहरुलाइ प्रदान गर्ने छ। 
बैंकले गतवर्ष उपत्यका वाहिरका शाखाबाट विपन्न वर्गका ३५ युवाहरुलाई २० हजार रुपैयाँका दरले खर्च गरेर स्वरोजगार तालिम प्रदान गरेको थियो। यो कार्यक्रममा बैंकले गत वर्ष करिब सात लाख रुपैया खर्च गरेको थियो । बैंकले गतवर्ष काठमाण्डौं बाहिरका सम्पूर्ण शाखाहरु भएको स्थानबाट ६७ जना आँखाका बिरामीहरुको निःशुल्क शल्यकृया गराएको थियो। यो कार्यक्रममा बैंकले गतवर्ष करिब ६ लाख रुपैया खर्च गरेको छ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले विपन्न वर्गमा लगानी गर्ने बैंकको पुरानो नीति रहेको जानकारी दिए। उनले स्वास्थ्य, शिक्षा र स्वरोजगार तालिम बाहेक बैंकले रत्तदान र सहयोग स्वरुप कम्प्युटर वितरणको कार्यहरु बैंकले जारी राख्ने बताए।
गत बर्षको वित्तीय विवरण प्रकाशित गरिसकेको बैंकको पुँजी कोष अनुपात १५ प्रतिशत रहेको छ। बैंकको खराव कर्जा अनुपात ०.०३ प्रतिशत छ भने कुल कर्जाको ५.९९ प्रतिशत मात्र रियलस्टेटमा लगानी छ। सानिमा डेढ बर्षअघि विकास बैंकबाट बाणिज्य बैंकमा स्तरोन्ति भएको थियो। बैंकसँग १७ अर्ब ७८ करोड निक्षेप र १५ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी छ। बैंकको कुल सम्पति २१ अर्ब ९७ करोड रुपैयाँ छ। 

No comments:

Post a Comment

thanks for comment