बैंकले ब्याज दर घटाउन थाले

सुदर्शन सापकोटा
काठमाडौं, साउन २२
लगानी योग्य पुँजी (तरलता) बढ्न थालेपछि बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको ब्याज घटाउन थालेका छन्। तरलता बढ्न थालेपछि बैंकहरुले सबैभन्दा वढी संस्थागत निक्षेपकर्तालाई दिने ब्याज घटाएका छन्।
ठूलो  निक्षेपको ब्याज घटेर लागत कम हुन थालेपछि कर्जाको ब्याज पनि क्रमशः घटाउन थालेका छन्। दुई महिनाअघि साढे १० प्रतिशत पुगेको संस्थागत निक्षेपकर्ताको ब्याज बैंकले साढे सात प्रतिशतको हाराहारीमा झारिसकेका छन्। अन्य निक्षेपको ब्याज पनि एकदेखि दुई प्रतिशत विन्दुले घटिसकेको छ।
'तरलता बढेका कारण ब्याज दर घटाउन बैंकहरुलाई दवाव परेको छ,' एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले नागरिकसँग भने, 'बैंकसँग अहिले अधिक तरलताको अवस्था छ। ब्याज दर घट्न थालिसकेको छ।'
बैंकहरुले कर्जाको ब्याज भने आधादेखि एक प्रतिशत विन्दुसम्म घटाउन थालेका छन्। थप ब्याज घटाउनका लागि बैंकहरुले मौद्रिक नीतिमा उल्लेख भएका कार्यक्रमहरुको निर्देशिका पर्खिएर बसेका छन्। 
'बैंकहरुको कर्जा–निक्षेप अनुपात कसिलो अवस्थामा नै छ, त्यही भएर बैंकहरुलाई ऋण बढाउन समस्या छ,' कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले मंगलबार नागरिकसँग भने, 'तरलता यथेस्ट भएका कारण बैंकहरुले कर्जा र निक्षेप दुवैको ब्याज घटाइरहेका छन्।'
राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको रकम ६० प्रतिशतभन्दा वढी राख्न नपाउने व्यवस्था गरेका कारण त्यो क्षेत्रको ब्याज ठूलो मात्रामा घटेको छ। कमर्ज एन्ड ट्रस्ट बैंकले संस्थागत र सर्वसाधारण निक्षेपकर्ताका लागि बेग्ला वेग्लै ब्याज दर नै प्रकाशित गरिसकेको छ। 
'संस्थागत निक्षेपकर्ताको ६० भन्दा वढी राख्न नपाइने भएपछि त्यो रकम घटाउन पनि ब्याज घटेको हो,' भट्टराईले भने, 'ठूलो रकमको ब्याज घटेका कारण सानाको ब्याज पनि घटेको छ। यसबाट लागतमा कमी आएकाले कर्जाको पनि घटाउन थालिएको हो।' बैंकहरुले गत बर्ष पनि यति बेलादेखि नै ब्याज दर कटौती गरेका थिए।

बैंकहरुले सबैभन्दा पहिले आवधिक तथा छोटो अवधिको कर्जाको ब्याज घटाइसकेका छन्। घर, गाडी तथा  लामो अवधिको कर्जा सामान्य मात्र घटेको छ। मौद्रिक नीतिले गरेको व्यवस्थाहरु निर्देशनका रुपमा आएपछि बैंकहरुले कर्जाको ब्याज दरका बारेमा थप निर्णय गर्ने तयारी गरेका छन्। 'निर्देशिका आएपछि ब्याज दर कतिसम्म घट्ने वा कुन दिशामा जाने भन्ने निर्क्यौल हुन्छ,' उनले भने, 'अहिले  निर्देशिका पर्खिएर बसेका छौं।' उनले पुनर्कर्जाको ब्याज दर घटेका कारण अन्य ब्याज दरमा पनि दवाव परेको जानकारी दिए। 
राष्ट्र बैंकले नीतिगत दरहरु घटाएकाले बजारमा तरलता बढेको हो। राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सिआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) को दर घटाएको छ। सरकारी बजेट खर्च बढेका कारण बैंक तथा वित्तीय संस्थासँग तरलतासमेत बढेको छ। 
केन्द्रीय बैंकले सिआरआर  १ प्रतिशत विन्दुले घटाएको छ। वाणिज्य बैंकका लागि ५ प्रतिशत, विकास बैंकका लागि ४.५ प्रतिशत र फाइनान्स कम्पनीका लागि ४ प्रतिशत सिआरआर तोकिएको छ। सिआरआर घटेपछि बजारमा तरलता प्रवाह बढेको छ।
राष्ट्र बैंकले स्प्रेड दर ५ प्रतिशतभन्दा वढी हुन नहुने व्यवस्था गरेका कारण यसको असर पनि ब्याज दरमा पर्नेछ। अहिले स्प्रेड ७.१ प्रतिशत छ। बैंकहरुलाई स्प्रेड दर कायम गर्नलाई पनि ब्याज दर घटाउन दवाव परेको हो। 
एक प्रतिशत विन्दु घटाइएको सिआरआरलाई छुट्याएको पैसामध्ये वाणिज्य बैंकहरुले करिव १० अर्ब रुपैयाँ चलाउन पाउँछन्। वित्तीय संस्थाहरुको पनि मनग्य पैसा बजारमा आउन थालेको छ। यो पैसा प्रत्यक्ष ऋण लगानी गर्न नपाए पनि लगानी औजारहरुमा प्रयोग गर्न पाइन्छ।  

No comments:

Post a Comment

thanks for comment