ठूला लगानीकर्ताले मूल्य बढाएर सेयर बेच्न थाले

सुदर्शन सापकोटा
काठमाडौं, भदौ २
नियामक निकाय बिमा समितिले जीवन बिमा कम्पनीहरुले सम्पति बढाउनु पर्ने निर्देशन दिएपछि नगद लाभांस नपाइने भन्दै ठूला लगानीकर्ताले धमाधम सेयर विक्री गर्न थालेका छन्। पछिल्लो एक साता यता प्रत्येक दिन जीवन बिमा कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बृद्धि भएर किनबेच भइरहेको छ।
समितिले साउन १ गतेबाटै कार्यान्वयमा ल्याइसकेको व्यवस्थालाई सार्वजनिक गरिसकेको छैन। अन्य निर्देशन तथा परिपत्रहरु आफ्नो आफ्नो वेव साइटमा राख्दै आएको समितिले यो निर्देशन भने वेव साइटमा राखेको छैन। यसैको फाइदा पहुँचवाला लगानीकर्ताले उठाइरहेका छन्।
समितिले जीवन बिमा कम्पनीहरुलाई कुल दायित्वको १.५ गुणा सम्पति हुनु पर्ने भन्दै निर्देशन दिएको छ। समितिको निर्देशनपछि जीवन बिमा कम्पनीहरुले नाफाको ठूलो हिस्सा सम्पति बृद्धिका लागि जगेडा कोषमा राख्नु पर्छ। जसले गर्दा गत आर्थिक बर्ष उच्च नाफा कमाएका बिमा कम्पनीहरुले लगानीकर्ताहरुलाई मुस्किलले लाभांस वाँड्न पाउँछन्।
'दायित्वलाई पुर्ति गर्न कम्पनीहरु सक्षम हुनु पर्छ भन्ने मान्यता अनुसार निर्देशन दिएका हौं,' समितिका अध्यक्ष फत्तवहादुर केसीले आइतबार नागरिकसँग भने, 'निर्देशनपछि बिमा कम्पनीहरुले आफ्नो सम्पति बृद्धि गर्न जगेडा कोषलाई बलियो बनाउनु पर्छ।' 

उनले जगेडा कोषलाई बलियो बनाउन नाफाको प्रयोग अधिक हुने भएकाले कम्पनीहरुले नगद लाभांस वाँड्ने अवस्था कम भएको जानकारी दिए। 'वोनस सेयरबाट बृद्धि हुने पुँजीले पनि दायित्व सिर्जना हुने भएकाले वोनस सेयर वितरण गर्न पनि निकै बिचार पुर्‍याउनु पर्छ,' केसीले भने,'वोनस सेयर वितरण गर्छु भनेर कम्पनी आए भने पनि समितिले विस्तृत रुपमा नहेरी स्वीकृति दिँदैन।'
सम्वन्धित बिमा कम्पनीको टेवलमा निर्देशन गएकाले पहुँचवालाहरुले यसको फाइदा उठाउँदै धमाधम सेयर विक्री गर्न थालेका हुन्। गत बर्ष गरेको नाफाबाट प्रतिफल नपाउने भएपछि बिमा कम्पनीका सञ्चालक, प्रबर्द्धक, पहुँचवाला सेयरधनीहरुले मूल्य बढाएर धमाधम सेयर विक्री गरिरहेका छन्। सेयर बजारमा भने समितिले पुँजी बृद्धि योजना ल्याउन लागेकाले मूल्य बढेको हल्ला फिजाइएको छ। 
'बिमा कम्पनीहरुको सेयर किनबेच साबिकभन्दा वढी भइरहेको छ,' सेयर ब्रोकर कम्पनी कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध सञ्चालक भरत रानाभाटले आइतबार नागरिकसँग भने, 'अहिले हाम्रो बढी जसो कामै बिमा कम्पनीको किनबेचमा हुने गरेको छ।' उनले एक महिनायता बिमा कम्पनीको सेयरमा आकर्षण देखिएको भन्दै एक सातायता प्रत्येक दिन मूल्य १० प्रतिशत वढीले बृद्धि भएर किनबेच भइरहेको जानकारी दिए।
जीवन बिमा कम्पनीहरुको मूल्य बढ्न थालेपछि गैरजीवन बिमा कम्पनीहरुको सेयरमा पनि आकर्षण देखिएको छ।  'सेयर विक्री गर्नेमा अहिले ठूला लगानीकर्ता बढी छन्,' रानाभाटले भने, 'सानो सानो कित्ता कारोबार गरेर १० प्रतिशत मूल्य बढाइन्छ, अनि एकैचोटी ठूलो कित्ता सेयर बजारमा फ्याकेर बढेको मूल्यमा किनबेच भइरहेको छ।' उनले पहिले खासै कारोबार नहुने सेयरको मूल्य पनि अहिले बढ्न थालेको जानकारी दिए। 
'सेयर बजारमा समितिले पुँजी बृद्धि गर्दैछ भन्ने हल्ला छ, किन के कारणले बढेको भन्ने थाहा छैन,' रानाभाटले भने,'नियामक निकाय बलियो बन्दै गएकाले पनि लगानीकर्ताको विश्वास बढेर कारोबार भएको हुन सक्छ।' आइतबार मात्र बिमा कम्पनीहरुको उपसुचक ५५.२७ अंक अर्थात ४.७ प्रतिशतले बढेको छ। 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २२ बिमा कम्पनीहरु सुचिकृत छन्। सुचिकृत कम्पनीमा पनि बढी कारोबार जीवन बिमा कम्पनीहरुको भइरहेको छ। गत साता मात्र बिमा कम्पनीहरुको सेयर मूल्य ४५.४३ अंकले बढेको थियो। गत साताभरी वढी कारोबार गर्ने पाँच कम्पनीमध्ये दुई बिमा कम्पनी छन्। 




No comments:

Post a Comment

thanks for comment