एभरेष्ट इन्स्योरेनस खुलाउन कर्मचारीको आन्दोलन

सुदर्शन सापकोटा
काठमाडौं, साउन ९
सञ्चालक समिति र व्यवस्थापन नियोजित रुपमा जसरी पनि कम्पनी बन्द गर्न लागिपरेको भन्दै एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरुले खुलाउन आन्दोलन सुरु गरेका छन्। कर्मचारीहरुले बुधबारबाट कार्यालय अवधिभर धर्ना कार्यक्रम सुरु गरेका छन्। 
कर्मचारीहरुका अनुसार, सञ्चलक र व्यवस्थापनले कम्पनी नवीकरण र कारोबार सुचारु गर्न कुनै पहल गरेका छैनन्। व्यवस्थापनले चाहेमा कारोबार सुचारु गर्न कुनै कठिनाइ नभएको भन्दै सञ्चालकहरुको 'इगो' का कारण कम्पनी बन्द भएको कर्मचारीहरुको आरोप छ।
अग्नी बिमा कारोबारमा बिमा समितिले रोक लागाएका कारण कम्पनीको नवीकरण नभएर कारोबार सञ्चालन गर्न नसकिएको व्यवस्थापनको भनाइ छ। समितिले भदौ १३ गते एभरेष्टले हिमालयन स्न्याक्सको दावीमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै बिमा रकम भुक्तानी गरेको भन्दै अग्नी बिमा कारोबारमा रोक लगाएको थियो। 
'रोक लगाइएको बिमालेख बाहेक बाँकी कारोबार गर्न सकिन्छ, तर व्यवस्थापनले सबै बिमालेख जारी गर्न बन्द गरेको छ,' एभरेष्ट इन्स्योरेन्स कर्मचारी युनियनका अध्यक्ष शम्शेर रोक्काले बुधबार नागरिकसँग भने, 'व्यवस्थापन जसरी पनि कम्पनी बन्द गराउने पक्षमा लागेको छ।' उनले अग्नी बिमा लेखमाथि लागेको रोक हटाउन व्यवस्थापनले कुनै पहल नगरेको पनि जानकारी दिए।
'समितिले पैसा फिर्ता ल्याउन व्यवस्थापनको प्रतिवद्धता मागेको छ, प्रतिवद्धता पत्र पठाउने वित्तिकै अग्नी कारोबार पनि फुकुवा हुने अवस्था छ,' रोक्काले भने, 'व्यवस्थापनले कम्पनी सञ्चालन नगर्ने अड्डी कसेका कारण कर्मचारीहरुलाई अप्ठेरो परेको छ।'

कम्पनीका प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठले कम्पनी नवीकरण नभएकाले पुनर्बिमा गर्न नपाएर कारोबार हुन नसकेको बताए। 'व्यवस्थापनका कारणले कारोबार बन्द भएको होइन, कम्पनी नबीकरण नभएपछि पुनर्बिमा हुन सकेको छैन,' उनले भने, 'कारवाही फुकुवा नभएसम्म कम्पनी नवीकरण हुन सक्दैन। त्यही भएर कर्मचारीले लगाएको आरोप तर्क संगत छैन।'
मायोज चाउचाउ उत्पादन गर्ने हिमालनय स्न्याक्स व्यवशायी राजेन्द्र खेतानको कम्पनी हो। समितिका अनुसार हिमालयन स्न्याक्सले सर्वेयरको पूर्ण प्रतिवेदन नआउँदै ४ करोड रुपैयाँ एभरेष्ट इन्स्योरेन्सबाट लगेका थिए। उनी त्यसबेला एभरेष्ट इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष पनि थिए।
कारोबारका हिसावले देशकै ठूलो एभरेष्टले व्यवसाय खुम्च्याउँदै आएको छ। अघिल्लो वर्ष ७४ करोडको कारोबार गरेको कम्पनीले असार मसान्तसम्म जम्मा ३४ करोडको कारोबार गरेको छ। कारोबार खुम्चिएका कारण कम्पनी घाटामा गएको छ। 
रोक्काका अनुसार, पूर्वअध्यक्ष खेतालने लगेको ४ करोड रुपैयाँमध्ये २ करोड १४ लाख रुपैयाँ क्षतिपुर्ति पुनर्बिमा कम्पनीले भुक्तानी दिइसकेको छ। वाँकी १ करोड ८६ लाख रुपैयाँ अर्को एक बिमा कम्पनीले भुक्तानी दिन वाँकी छ। …यो पैसा भुक्तानी लिनका लागि व्यवस्थापनले कुनै पहलनै गरेको छैन,' रोक्काले भने, …यो व्यवस्थापनकै कमजोरी हो।'
बिमा कम्पनीलाई  ठूलो व्यवसायमा निश्चित रकमभन्दा वढीको व्यापार गर्न गाह्रो हुन्छ। यस्तोमा अर्को बिमा कम्पनीलाई साथमा लिनु पर्ने हुन्छ। एभरेष्टले १ करोड ८६ लाख रुपैयाँ नेपाल इन्स्योरेन्समार्फत फ्याकेल्टेटिभ रिइन्स्योरेन्स गरेको थियो। यो रकम नेपाल इन्स्योरेन्सले भुक्तानी नगरेका कारण कारवाही फुकुवा हुन नसकेको व्यवस्थापनको भनाइ छ।
'हामीले रकम उठाउन पहल गरिदिन समितिलाई लिखित आग्रह गरिसकेका छौं, तर सहयोग प्राप्त भएको छैन,' श्रेष्ठले भने, 'समितिले चार करोड रुपैयाँ भुक्तानी नभएसम्म कारवाही फुकुवा नगर्ने जनाएको छ।' 
कम्पनीको नविकरण नभएका कारण एभरेष्टले गत असार मसान्तसम्म वृद्धि गर्नु पर्ने पुँजी पनि वढाएको छैन। १० करोड चुक्ता पुँजी रहेको कम्पनीले असार मसान्तसम्म बढाएर २५ करोड पुर्‍याउनु पर्ने थियो। 
कम्पनीका अन्य अधिकारीहरुले बिमा ऐन अनुसार कम्पनीको अस्तित्व नभएको भन्दै बिमा सम्वन्धि कारोबार बन्द गरेको जनाएका छन्। बिमा ऐनमा बिमा सम्वन्धि कारोबार गर्न कम्पनीको नवीकरण अनिवार्य छ। आंशिक कारोबारमा रोक लागेका कम्पनीको कारवाही फुकुवा नहुन्जेल कम्पनी नवीकरण गर्न पाइँदैन। कम्पनी नवीकरण नभएपछि कारोबार गर्न पाइँदैन। हरेक वर्षको चैत मसान्तसम्म कम्पनी नवीकरण गर्नु पर्छ।  
एभरेष्टको कुल कारोबारमा अग्नी बिमाको हिस्सा २० प्रतिशत हुन्छ। समितिले १० महिनादेखि अग्नी बिमामा रोक लगाएको छ। कारवाहीको केही महिनापछि समितिले सबै बिमा कम्पनीहरुलाई जारी गरेको …संस्थागत सुशासन निर्देशिका' पालना गर्न नसकिने भन्दै एभरेष्टले सम्पूर्ण कारोबार रोकेपछि समिति–एभरेष्टबीच विवाद अझ चर्किएको थियो। समितिको हस्तक्षेपपछि नयाँ कारोबार रोकेको नौं दिनपछि एभरेष्टले कारोबार सुचारु गरेको थियो। त्यही विवादका कारण अध्यक्ष खेतानले सञ्चालक समितिबाट राजिनामा गरेका थिए।

No comments:

Post a Comment

thanks for comment