भारूसँगको विनिमय दर परिवर्तन नहुने

सुदर्शन सापकोटा
काठमाडौं, भदौ ५ 
एक अमेरिकी डलरको मूल्य १०२ रुपैयाँ पुगेर बजार भाउ चुलिँदै गए पनि केन्द्रीय बैंक तुरुन्तै यो अवस्था सुधार गर्नसक्ने स्थितिमा छैन।  
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन आयात–निर्यातको परिमाणले भन्दा भारतसँगको स्थिर सटही दरका कारण भएको हो। यो परिस्थितिबाट मुक्ति पाउन भारतीय मुद्रासँगको सटही दर परिवर्तन गर्नुपर्ने हुन्छ, जुन नेपालका लागि लाभदायक नभएको विज्ञहरू बताउँछन्। 
'अहिले जे छ त्यसलाई स्वीकार्नुबाहेक हामीसँग अर्को विकल्प छैन,' नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बुधबार नागरिकसँग भने, 'तैपनि हामी विनिमय दरबारे छलफल गरिरहेका छौं।' उनका अनुसार अहिल्यै परिवर्तनको गुन्जायस भने छैन। 
नेपाली मुद्राको क्रयशक्ति घट्दा आयात घट्ने र निर्यात बढ्ने सम्भावना हुन्छ। अहिले नेपालको निर्यात आयातभन्दा करिब आठ गुना कम भएकाले बढ्दो डलर भाउले निर्यातलाई सहयोग गर्ने अर्थविद्हरू बताउँछन्। 

'अहिले निर्यातभन्दा आयात बढी भएकाले तत्काल विनिमय दर परिवर्तन गर्दा नेपाललाई घाटा छ,' राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले भने, 'छोटो समयमा डलर माथि गएकाले बहस भएको हो, तर अहिले विनियम दर परिवर्तन गर्नतिर लागियो भने समस्या अझ ठूलो हुन्छ।'
नेपाली मुद्रा बलियो बनाउन भारु एक बराबर १ रुपैयाँ ५०–५५ पैसा गर्न सकिए पनि यसले नेपाललाई फाइदा नगर्ने मानन्धरले बताए। 'अहिल्यै नेपाली वस्तु तथा सेवाले भारतीयसँग प्रतिस्पर्धा गर्न सकेको छैन,' उनले भने, 'नेपाली रुपैयाँ महँगो पारियो भने हामी त्यसलाई थेग्न सक्दैनौं।' 
लामो समय राष्ट्र बैंकको विदेशी विनिमय विभागमा प्रमुख रहेका उनले अगाडि भने,'अहिले डलर बढ्यो भन्दैमा आकासै खस्यो भन्ने ठान्नु हुँदैन। नेपालको बाह्य व्यापार र राजनीति ठिक भएपछि विनिमय दरबारे सोच्नुपर्छ।'
गत वर्षको तथ्यांकअनुसार निर्यात ७६ अर्ब ९२ करोड रुपैयाँ र आयात ५ सय ५६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ४ सय ६१ अर्ब ६७ करोड रुपैयाँको सामान विदेशबाट आयात भएको थियो। निर्यातभन्दा आयात बढी भएकै कारण व्यापार घाटा ४ सय ७९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
तत्काल भारूसँगको विनिमय दर परिवर्तन नगर्ने मनस्थितिमा भए पनि राष्ट्र बैंकले यससम्बन्धी अध्ययन भने चार वर्षदेखि गर्दै आएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख मीनबहादुर श्रेष्ठ बताउँछन्। 'पुनर्विचार भनेको घटाउने वा बढाउने दुवै हुन सक्छ,' उनले भने। 
विदेशी र स्वदेशी संस्थाहरूले पनि यसबारे विभिन्न अध्ययन प्रतिवेदन निकालेका छन्। तीन वर्षअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अध्ययनले नेपाली मुद्रा भारतीयभन्दा १५ प्रतिशतले महँगो भएको तथ्य सार्वजनिक गरेको थियो। नेपाली राजनीति स्थिर नभएकाले विनिमय दर तत्काल परिवर्तन गर्न नहुने सुझाव दिँदै कोषले राजनीतिक स्थिरतापछि भने विनिमय दर परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएको थियो।
नेपाली संस्था साउथ एसिया वाच अन टे्रड इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती) ले एक वर्षअघि गरेको अध्ययनमा भने नेपाली मुद्रा भारतीयसँग २ प्रतिशतले अधिमूल्यन गर्नुपर्ने देखिएको थियो। 
नेपालले २०४९ फागुन १ गतेबाट प्रति एक रुपैयाँ नेपाली मुद्रा बराबर भारतीय १ रुपैयाँ ६० पैसाको स्थिर विनिमय दर कायम राखेको छ। त्यसअघि पनि अर्थतन्त्रको वस्तुस्थितिअनुसार विनिमय दर सातपटक परिवर्तन भएको थियो। पहिलोपटक विनिमय दर तोक्दा २०१७ वैशाख १ मा भारू १ बराबर नेपाली १ रुपैयाँ ६० पैसा नै तोकिएको थियो। 

कहिले–कहिले परिवर्तन भएको थियो विनिमय दर 
वर्ष (सन्) भारु एक बराबर नेपाली रुपैयाँ 
१९६०  १.६०
१९६६–१९६७  १.०१
१९६८–७१ १.३५
१९७२–७७ १.३९
१९७८–८५ १.४२
१९८६ १.७०
१९८६–९० १.६८
१९९१–९२ १.६५
१९९३ १.६०

सन् १९६० 
नेपालले भारतीय मुद्रासँग पहिलोपटक एक रुपैयाँ बराबर एक रुपैयाँ ६० पैसा हुने गरी विनिमय दर निर्धारण गरेको थियो। त्यसअघि आवश्यकताअनुसार नेपाली र भारतीय मुद्राको मूल्य निर्धारण हुन्थ्यो। तत्काल आवश्यक पर्नेले बढी मूल्य हालेर भारू किन्ने गर्थे। एक भारू बराबर नेपाली यति नै भन्ने तोकिएको थिएन। 
सन् १९६६–१९६७
भारतमा सुख्खा परेर अर्थतन्त्र समस्यामा परेपछि भारतीय मुद्राको अवमूल्यन भयो। यसले डलरको मूल्य बढ्यो। भारू कमजोर भयो भन्दैमा हामी किन पछि लाग्ने भन्दै नेपालले २०२३ जेठ २४ मा विनिमय दरलाई एक भारू बराबर १.०१ रुपैयाँमा कायम गर्‍यो। यसले नेपालमा भारतीय सामानको मूल्य सस्तो भयो। नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सकेन। भारतीय सामानको आयात बढेर केन्द्रीय बैंकको ढुकुटीमा रहेको भारू रित्तिने अवस्था आयो। पहिलो वर्ष भारू मौज्दात ५६ प्रतिशत र दोस्रो वर्ष ३७ प्रतिशत घट्यो। भारू सकिने अवस्था आएपछि २०२४ मंसिर २२ मा राष्ट्र बैंकले एक भारू बराबर नेपाली १ रुपैयाँ ३५ पैसा विनिमय दर तोक्यो। 
सन् १९७२–८५ 
यो अवधिमा विनिमय दर सामान्य परितर्वन भए। त्यसबेला निर्यातकर्तालाई दिइने बोनस दर समायोजन गर्न विनिमय दर परिवर्तन भएको थियो। त्यसपछि आयात र निर्यातको अनुपात मिलाउन पनि विनिमय दर परिवर्तन भएको थियो। समायोजनका क्रममा भारू १ बराबर नेपाली १ रुपैयाँ ३५ पैसा, १ रुपैयाँ ३९ पैसा हुँदै १ रुपैयाँ ४२ पैसासम्म पुग्यो। 
सन् १९८६
नेपालको व्यापार घाटा बढेको र लगातार तीन वर्ष नेपालको शोधनान्तर घाटा बढेपछि सरकारले भारू १ बराबर नेपाली १ रुपैयाँ ७० पैसा बनायो। २०४२ मंसिर १६ गते १ रुपैयाँ ७० पैसा पुर्‍याइएको नेपाली मुद्राको विनिमय दर १ रुपैयाँ ६८ पैसा हुँदै १ रुपैयाँ ६५ पैसामा समायोजन गरियो। 
सन् १९९३
एक भारू बराबर १ रुपैयाँ ६५ पैसा नेपालीको विनिमय दरलाई चालु खाता पूर्ण परिवर्त्य मुद्रामा परिणत गरिएपछि विनिमय दर फेरि १ रुपैयाँ ६० पैसामा समायोजन गरिएको हो। त्यसयता विनिमय दर परिवर्तन गरिएको छैन। 

No comments:

Post a Comment

thanks for comment