एभरेष्ट इन्स्यारेन्सको बिमा कारोबार बन्द

सुदर्शन सापकोटा
काठमाडौं, साउन १
एभरेष्ट इन्स्योरेन्स कम्पनीले सम्पूर्ण बिमा कारोबार बन्द गरेको छ। अग्नी बिमा कारोबारमा रोक लागेका कारण कम्पनीको नवीकरण नभएपछि एभरेष्टले नयाँ आर्थिक बर्ष सुरुसँगै बिमा कारोबार बन्द गरेको हो।
प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठले भने कम्पनीले बिमामा परेका दावीहरुको राफसाफ (क्लेम सेटलमेन्ट) र खातापाता मिलाउने काम भइरहेको बताए। 'राफसाफ र खातापातको काम भइरहेकाले कम्पनी बन्द भएको भन्न मिल्दैन,' उनले भने, 'बिमा ऐनले गरेको व्यवस्था अनुसार काम भइरहेको छ।'
कम्पनीका अन्य अधिकारीहरुले बिमा ऐन अनुसार कम्पनीको अस्तित्व नभएको भन्दै बिमा सम्वन्धि कारोबार बन्द गरेको जनाएका छन्। ती अधिकारीले गत आर्थिक वर्षको …क्लोजिङ' सकिएपछि आज (मंगलबार) बाट बिमा सम्वन्धि कारोबार गर्न छाडिएको छ।
बिमा ऐनमा बिमा सम्वन्धि कारोबार गर्न कम्पनीको नवीकरण अनिवार्य छ। आंशिक कारोबारमा रोक लागेका कम्पनीको कारवाही फुकुवा नहुन्जेल कम्पनी नवीकरण गर्न पाइँदैन। कम्पनी नवीकरण नभएपछि कारोबार गर्न पाइँदैन। हरेक वर्षको चैत मसान्तसम्म कम्पनी नवीकरण गर्नु पर्छ।  
'कम्पनी नवीकरण नभएका कारण अब हामीले विमा ब्यवसाय गर्न पाउने/नपाउने स्पष्ट छैन,' श्रेष्ठले भने,'एभरेष्ट इन्स्योरेन्सले अब के गर्छ भन्ने प्रश्नको जवाफ मसँग छैन।' 
समितिले भदौ १३ गते एभरेष्टले हिमालयन स्न्याक्सको दावीमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै बिमा रकम भुक्तानी गरेको भन्दै अग्नी बिमा कारोबारमा रोक लगाएको थियो। त्यसअघि कारोबारका हिसावले देशकै ठूलो एभरेष्टले व्यवसाय खुम्च्याउँदै आएको छ। अघिल्लो वर्ष ७४ करोडको कारोबार गरेको कम्पनीले असार मसान्तसम्म जम्मा ३४ करोडको कारोबार गरेको छ। कारोबार खुम्चिएका कारण कम्पनी घाटामा गएको छ। 

कम्पनीको नविकरण नभएका कारण एभरेष्टले गत असार मसान्तसम्म वृद्धि गर्नु पर्ने पुँजी पनि वढाएको छैन। १० करोड चुक्ता पुँजी रहेको कम्पनीले असार मसान्तसम्म बढाएर २५ करोड पुर्‍याउनु पर्ने थियो। 
'बिमा गर्ने नै स्पष्ट नभएपछि बिमा समितिको निर्देशन मान्न जरुरी छैन। बिमा इजाजत नवीकरण भएको भए सेयर जारी गर्नु पर्थियो,' कम्पनीका एक सञ्चालकले भने 'बिमा समितिको नियमन भित्र रहेर काम गर्नु पर्ने वाध्यता हुन्थ्यो। नवीकरण नभएकाले अब त्यो अवस्था भएन। त्यही भएर पुँजी वृद्धितिर लागेनौं।' ती सञ्चालकका अनुसार, एभरेष्ट अब कम्पनी ऐन अनुसार मा जिवित छ। 
कम्पनीका अधिकारीहरुले असारअघि विभिन्न कर्पोरेट क्षेत्रमा 'बिजिनेस' माग्न जाँदा उनीहरुले दिन नमानेको बताए। 'कम्पनीको अवस्था स्पष्ट नभएका कारण व्यापार माग्न जाँदा ग्राहकले दिन मानेनन्,' ती सञ्चालकले भने, 'अब त माग्ने कानुनी हैसियत पनि सकिएको छ।'
एभरेष्टको कुल कारोबारमा अग्नी बिमाको हिस्सा २० प्रतिशत हुन्छ। समितिले १० महिनादेखि अग्नी बिमामा रोक लगाएको छ। 'हामीले समितिले मागेजति सबै कागजात पुर्‍याएका छौं। कानुनी रुपमा कारवाही गर्नु पर्ने आधार सकिएको छ,' एभरेष्टका एक उच्च व्यवस्थापकले भने, 'तर समितिले किन कारवाही फुकुवा नगरेको भन्ने वुझ्न सकिएन।' 
समिति र एभरेष्टका अधिकारीहरु यो मामलामा औपचारिक रुपमा वोल्न चाहेनन्। कारवाहीका कारण एभरेष्ट र समितिबीचको विवादले 'ठूलो' रुप लिएको भन्दै दुवै पक्षका उच्च  अधिकारीहरु आधिकारिक रुपमा वोल्न मान्दैनन्। 
समिति स्रोतका अनुसार, एभरेष्टले सर्वेयरको पूर्ण प्रतिवेदन आउनु पूर्व भुक्तानी गरेको चार करोड रुपैयाँ  फिर्ता नल्याएसम्म कारवाही फुकुवा हुँदैन। समितिको स्थलगत निरिक्षण प्रतिवेदनमा एभरेष्टले तीन पटक गरेर मायोज चाउचाउ उत्पदान गर्ने हिमालयन स्न्याक्सलाई चार करोड रुपैयाँ गैरकानुनी रुपमा भुक्तानी गरेको उल्लेख छ। प्रतिवेदनका आधारमा समितिले एभरेष्टलाई कारवाही गरेको थियो। 
समितिले देखाएको कमजोरीहरु ३५ दिनभित्र सुधार गर्न  निर्देशन दिँदै कारवाही गरेको हो। एभरेष्टका अधिकारीहरु भने सम्पूर्ण कमजोरीहरु सच्याएर प्रत्येक पटक कारवाही फुकुवा माग गर्न जाँदा समितिले अनेक वाहाना बनाएर कारवाही फूकुवा नगरिदिएको बताउँछन्।
'समितिले त्यसबेला देखाएको सबै कमजोरीहरु हामीले सुधार गरिसकेका छौं,' एभरेष्ट स्रोतले भन्यो,'प्रत्येक चोटी कुनै न कुनै वाहानावाजीमा समितिले कारवाही फुकुवा गर्दिदैन।' कारवाही फुकुवा नगर्दिने र यसको वाहानामा लाइसेन्स नवीकरण नगरिदिएर समिति नियोजित रुपमा कम्पनी बन्द गर्न अग्रसर भएको एभरेष्टका अधिकारीहरुको आरोप छ।
कारवाहीको केही महिनापछि समितिले सबै बिमा कम्पनीहरुलाई जारी गरेको …संस्थागत सुशासन निर्देशिका' पालना गर्न नसकिने भन्दै एभरेष्टले सम्पूर्ण कारोबार रोकेपछि समिति–एभरेष्टबीच विवाद अझ चर्किएको थियो। समितिको हस्तक्षेपपछि नयाँ कारोबार रोकेको नौं दिनपछि एभरेष्टले कारोबार सुचारु गरेको थियो। विवादकै बीच कम्पनीका अध्यक्ष राजेन्द्र खेतानले सञ्चालक समितिबाट राजिनामा गरेका थिए।

No comments:

Post a Comment

thanks for comment