लहडमा बैंक खोल्नेका लागि मर्जर उत्तम विकल्प : गभर्नर

काठमाडौं, असार ३० 
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले लहडमा बैंक खोलेर अहिले वाहिरिन खोज्नेहरुका लागि  मर्जर उत्तम विकल्प भएको बताएका छ। गभर्नरले मर्जरमा गएर प्रवर्द्धक सेयरधनीले लगानी सुरक्षित गर्न सक्ने बताए। 
'विगतमा आवेशमा, आवेगमा, जोसमा, रहरमा वित्तीय संस्था खोलिहेरौंन कस्तो हुँदो रहेछ भनेर खोल्दा सञ्चालन गर्ने ढंग नपुगेर समस्या भएको छ,' ग्लोबल आइएमइ, सोसियल डेभलपमेन्ट र गुल्मी विकास बैंक मर्जर भएर एकिकृत कारोबार सुभारम्भको उद्घाटन गर्दै गभर्नर खतिवडाले भने,'मर्जर एउटा रेस्क्यु र फेस सेभिङको अवशर हो। लाज नमानी मर्जरको अवशर उपयोग गर्नुस्।' 
गभर्नरले आफूले लगानी गरेको संस्थाबाट ऋण निकाल्न पाइदैन भन्ने नवुझीकनै बैंक खोल्न गरेको भन्दै मर्जरबाट त्यस्ता लगानीकर्ताले फाइदा लिनु पर्ने बताए। उनले मर्जर राष्ट्र बैंक, सरकार र दादृ निकायको एजेन्डा नभइ सबैको साझा एजेन्डा भएको बताए। उनले मर्जर पुँजी सुदृढीकरण, कारोबार सञ्जाल विस्तारका लागि आवश्यक भएको भन्दै यसबाट सञ्चालन लागतसमेत घटाउन सकिने बताए। 
'विकल्प र अवशरको कुरा यसमा भएपनि मूलत मर्जर संस्था वलियो बनाएर वित्तीय क्षेत्रलाई सुदृढ बनाउनका लागि नै गर्ने हो,' गभर्नरले भने,'व्यवसायिक दक्षता, पहुँच अभिवृद्धि हुने, लागत घट्ने र ग्राहकको आधार फराकिलो बनाएर आफूलाई बलियो बैंक बनाउने हो।'
खतिवडाले मर्जर पूर्व एक अर्काका बारेमा राम्रो जानकारी राख्नसमेत आग्रह गरे। उनले मर्जरपछि समस्या आउन नदिन एक अर्काको सवल पक्ष, दुर्वल पक्ष, संभावना र चुनौती सबैलाई राम्रोसँग हेरेर एकिकृत हुनु पर्ने बताए। 

'मर्ज भएपछि पहिलेको वित्तीय संस्थाको कतिपय  कारोबार हामीलाई थाहा नै भएन। कतिपय लगानी समस्यामा रहेछ हामीले वुझेनौं भन्नु राम्रो होइन,' गभर्नरले भने, 'पहिले कुरा वुझेर मर्जर गर्नुस्। समस्या लिएर राष्ट्र बैंक नआउनुस्, यो तपाईहरुलाई मेरो आग्रह हो।' 
खतिवडाले राष्ट्र बैंकले विगत तीन वर्षदेखि वित्तीय सुधारका आफ्नै  एजेन्डाहरु अघि सार्दै आएको भन्दै वित्तीय पहुँच अभिवृद्धि, वित्तीय संस्थाको पुँजी सुदृढीकरण गर्नतर्फ राष्ट्र बैंक लागेको बताए। …वित्तीय संस्थाहरुको जोखिम केन्द्रीत नियमन र सुपरिवेक्षण प्रणाली, केन्द्रीय बैंकको सुपरिवेक्षकीय क्षमतामा वृद्धि हाम्रो एजेन्डा हो,' उनले भने,'बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभेर भएपनि वित्तीय क्षेत्रलाई सवल बनाउन हामी लागेका छौं।' 
उनले दातृ निकायलाई सहमत गराउन सकेकै कारणले नेपालले वित्तीय क्षेत्रका लागि सहयोग पाउन  थालेको बताए। 'अप्ठेरो संक्रमणकालिन अवस्थामा पनि डेभलपमेन्ट पोलिसी क्रेडिटमा विश्व बैंकले बजेटरी सहयोग दिएको छ,' गभर्नरले भने, 'विगत तीन वर्षमा हामीले चालेका नीति र सुधारका प्रयासका आधारमा सहयोग प्राप्त भएको हो।'
गभर्नरले आगामी दिनमा ठूला वित्तीय संस्थाहरुको विस्तृत निरिक्षण विश्व बैंकको सहयोगमा गर्ने जानकारी दिए।'वित्तीय स्वास्थ्यको राम्रो निरिक्षण तथा परिक्षण गर्ने छौं, जसबमाट आएको प्रतिकृयाका आधारमा जोखिम मूल्यांकन गर्न सक्छौं,' गभर्नरले भने, 'जसबाट समस्या समाधान गर्न पहिले नै आवश्यक उपायहरु अवलम्बन गर्न सकिन्छ।' 
गभर्नरले आउँदो मौद्रिक नीतिमा वित्तीय पहुँच अभिवृद्धिको कार्यक्रमहरुलाई अगाडि वढाउँदै उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने आवश्यक नीति तर्जुमा गरिने जानकारी दिए। …अहिले हामीले ऊर्जाको कुरा गरिरहेका छौं। यसमा तपाईहरुको पर्याप्त जनशक्ति छैन भने अरुसँग मिलेर भएपनि ऊर्जामा लगानी अभिवृद्धि गर्नु होस्,' बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुसमेत उपस्थित रहेको कार्यक्रममा उनले भने, …उत्पादनमूलक क्षेत्र ऊर्जा, कृषिमा लगानीका कुरामा राष्ट्र बैंक लचिलो हुन कठिन मान्छ।' 
कार्यक्रमा मर्जरपछि ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि संस्थालाई थप सवल बनाउँदै लगिने जानकारी  दिए। ग्लोबल आइएमइसँग सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक आइतबार औपचारिक रुपमा गाभिएका हुन्। 
यसैगरी आइतबारै प्रभु फाइनान्ससँग वैभव फाइनान्स र समवृद्धि विकास बैंक पनि गाभिएका छन्। गाभिएपनि नयाँ संस्थाले प्रभु विकास बैंकका नामबाट औपचारिक कारोबार सुरु गरेको छ। 

No comments:

Post a Comment

thanks for comment