लेखापरीक्षणमा एक व्यक्ति एक पेसा कार्यान्वयनको माग

काठमाडौं, असार २०
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (एक्यान) ले एक ब्यक्ति एक पेसालाई अनिवार्य रुपमा कार्यान्वयन गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ। नियावलीमा उल्लेख भएअनुसार लेखा परीक्षकले कि जागिर कि लेखा परिक्षणमध्ये एक मात्र गर्नु पर्ने भन्दै आन्दोलन थालेको हो।
दर्तावाल लेखापरीक्षकहरुले एक व्यक्ति एक पेसा मान्न नसकिने भन्दै आन्दोलन थालेपछि एक्यानले दवावमा परेर नियमक पछाडि नफर्कियोस् भन्दै उसले पनि आन्दोलन थालेको हो। एक्यानले आन्दोलन गर्नुको औचित्यका बारेमा बिहीबार पत्रकार सम्मेलन गर्दै नियमावलीमा उल्लेख भए अनुसार एउटा व्यक्ति दोहोरो पेसामा हुन नहुने जनाएको छ।
नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाले जारी गरेको नियमावलीमा आउँदो साउन १ गतेबाट एउटा व्यक्तिले एउटा पेसा मात्र अँगाल्नु पर्ने उल्लेख छ। दुई वर्ष तत्कालै एक व्यक्ति एक पेशा हुँदा समस्या हुने भन्दै २०७० साउन १ बाट पूर्ण पालना गर्न दर्तावाला लेखा परीक्षक तयार भएका थिए।
साउन १ गतेबाट सरकार तथा विभिन्न निकायहरुमा जागिर खाएकाहरुले लेखा परीक्षण गर्न नपाउने भएपछि उनीहरुले पुनः आन्दोलन थालेका हुन्। अघिल्लो पटक पनि आन्दोलनका कारण उनीहरुको माग पुरा भएको थियो। यसपाली नाजायज माग पुरा हुन हुन्न भन्दै एक्यानले आन्दोलन गर्नु परेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

एक्यानका अध्यक्ष नवराज वुर्लाकोटीले कानुनमा उल्लेख भएको कुरा पालना हुनु पर्‍यो भन्ने मागसहित आन्दोलन थालिएको बताए। 'हामी कसैको पक्ष वा विपक्षमा आन्दोलनमा ओर्लिएका होइनौं,' पत्रकार सम्मेलनमा उनले भने, 'लेखा परीक्षण भनेको सवैलाई पारदर्शी बनाउने विषय हो। जागिर खानेले लेखा परीक्षण गर्दा त्यसको विश्वासनीयता हुँदैन। त्यो रोकिनु पर्छ भन्ने हाम्रो माग हो।'
दर्तावाल लेखापरीक्षकहरुले भने एक व्यक्ति एक पेसा हुँदा सबै संस्थाको लेखापरिक्षण गर्न सम्भव नहुने भएकाले यसको अवधि थप्नु पर्ने माग गरेका छन्। उनीहरुले केही दिनअघि प्रेष विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा लेखा परिक्षण गर्नु पर्ने संस्था धेरै भएको तर लेखा परिक्षक कम भएकाले एक व्यक्ति एक पेसा हुँदा धेरै संस्थाको परिक्षण नहुने जनाएका छन्।
एक्यानले भने अहिले ३ हजार लेखा परीक्षकहरु रहेको भन्दै एउटाले सय वटा संस्थ्ााको परिक्षण गर्न सक्ने कानुनी प्रावधान भएकाले संख्या कम नहुने  जनाएको छ। 'पारदर्शी र जवाफदेही बनाउन एक व्यक्ति एक पेसाको कुरा कानुनमा राखिएको हो,' वुर्लाकोटीले भने,'पारदर्शी हुने कुुरामा सम्झौता गर्न हुँदैन। बरु एउटा लेखा परिक्षण फर्मले सयभन्दा वढी संस्थाको लेखा परिक्षण गर्न पाउने भनेर विकल्पमा जान सकिन्छ।'
अहिले एउटै व्यक्तिले जागिर पनि खाने र लेखा परिक्षण पनि गर्ने हुँदा पदिय दुरुपयोग भएर भ्रष्टाचार मौलाएको एक्यानको  दावी छ। वुर्लाकोटीका अनुसार, जिल्ला विकास समितिको जागिरेले पदिय प्रभावमा गाउँ विकास समितिहरुको लेखा परिक्षण गरिरहेकेा छ। जिल्ला शिक्षा कार्यालयको जागिरेले त्यसभन्दा तल्ला शिक्षा निकायको परिक्षण गरिरहेको छ। …एउटा व्यक्तिले जागिर पनि खाने र लेखा परिक्षण पनि गर्ने हुँदा भ्रष्टाचार गर्न सहयोग पुग्छ,' उनले भने, …यसलाई रोक्न पनि एक व्यक्ति एक पेसा आवश्यक छ।'
एक्यालने संस्थाको प्राङगणमा सान्तिपूर्ण आन्दोलन थाल्ने जनाएको छ। उनले धर्ना तथा विरोधका कार्यक्रमहरु रहेको जानकारी दिए। 

No comments:

Post a Comment

thanks for comment