कोषले दीर्घकालीन आयोजनामा लगानी गर्ने

काठमाडौं, भदौ १९- नागरिक लगानी कोषले नीति परिवर्तन गरेर दीर्घकालीन परियोजनामा पनि लगानी गर्ने भएको छ। कोषले आफ्नो व्यवस्थापन निर्देशिका शंसोधन गरेर दीर्घकालीन परियोजनामा लगानी गर्न लागेको हो।
आवधिकरुपमा ऋण दिएर नवीकरण गर्दै लगानी गरिरहेको कोषले कर्मचारी सञ्चय कोषजस्तै दीर्घकालिन लगानीको तयारी गरेको हो। 'दुई साताभित्र निर्देशिका परिवर्तन शंशोधन गरेर लगानीका लागि बाटो खुला गर्ने छौं,' कोषका कार्यकारी निर्देशक ऋषिराम गौतमले सोमबार नागरिकसँग भने, 'त्यसपछि परियोजना ऋण लगानी गर्न हामीलाई समस्या पर्दैन।'
कोषसँग भएको अधिकांस रकमहरु बैंक तथा वित्तीय संस्थाको खातामा राख्ने गरेको छ। बैंकको ब्याज घटेपछि कोषको पनि आम्दानीमा गिरावट आउँछ। लगानीबाट उचित प्रतिफल लिनका लागि कोषले नयाँ रणनीतिसहित दीर्घकालिन परियोजनामा लगानी गर्न लागेको हो।
ब्याज दर वढेका बेला साढे १२ प्रतिशतसम्म बैंकबाट ब्याज लिँदै आएको कोषले अहिले जम्मा ६ प्रतिशतमा चित्त वुझाउनु परेको छ। कोषले अहिले पनि अढाइ अर्ब रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको छ। 'लगानी नीति प्रस्ट नभएका कारण हामी दीर्घकालिन परियोजनामा जान सकिरहेका छैनौं,' गौतमले भने,'बैंकमा पैसा राख्दा ब्याज घटेर आम्दानी पनि झर्दो छ।' कोषले विकास आयोजनामा हात हालेर अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्य अनुरुप लगानी नीति प्रस्ट पार्न खोजेको उनले जानकारी दिए।
कोषले अहिले आवधिक रुपमा माथिल्लो तामाकोशीमा लगानी गरेको छ। यस वाहेक नेपाल आयल निगमलाई तेल किन्न ऋण उपलब्ध गराएको छ। आवधिक रुपमा दिइएको ऋण दीर्घकालिन हुँदैन। निश्‍चित अवधिका लागि दिइने यो ऋण नवीकरण गरिरहनु पर्छ। तर दीर्घकालीन प्रकृतिको ऋण बीचबीचमा नवीकरण गरिरहनु पर्दैन।
'नीतिगत परिवर्तनपछि हामी लजविद्युत तथा ठूला भौतिक पूर्वाधार परियोजनामा २५ प्रतिशतसम्म लगानी गर्न सक्छौं,' गौतमले भने, 'अहिले हामीले आवधिक ऋणका रुपमा २० प्रतिशतका हाराहारीमा लगानी गरिरहेका छौं।'
कोषले सर्वसाधारणमा सेयर जारी गरेको वा गर्ने तयारी गरिरहेको (पब्लिक लिमिटेड) कम्पनीमा लगानी गर्ने छ। 'निजी कम्पनीहरुमा लगानी गर्न अझै पनि समस्याहरु धेरै छन्,' उनले भने, 'त्यही भएर कोषले पब्लिक लिमिटेड कम्पनीहरुमा लगानी गर्ने छौं। उनले कोषसँग अहिले ८ अर्ब रुपैयाँसम्म लगानी गर्ने रकम छ।
उनले लगानीका लागि कोषमा धेरै परियोजनाहरु आएको जानकारी दिए। दीर्घकालिन परियोजनाहरु आएकाले नीतिगत कठिनाइले लगानी गर्न समस्या भएको छ। यही कठिनाइलाई फुकाउने कोषले निर्णय गरेको हो। कोषमा अहिले जलविद्युत्, मेडिकल कलेज, फर्मास्युटिकल्स तथा अन्य उद्योगमा लगानीका लागि प्रस्ताव आएको गौतमले जानकारी दिए। कोषले साढे २ अर्ब रुपैयाँ बराबरको विभिन्न आयोजनाका प्रस्तावहरुमा लगानी गर्ने प्रतिवद्धतासमेत जनाइसकेको छ।
कोषले विभिन्न किसिमको अवकास योजना, सरकारी कर्मचारीहरुको बिमा कोष, शिक्षक बिमा कोष, पेन्सन कोषलगायत परिचालन गर्छ। यही पैसाबाट कोषले लगानी गर्ने हो। कोषले सेयर निस्कासन तथा विक्री प्रबन्धक, ऋणपत्रको प्रत्याभुती, सेयर खरीद ऋणलगायतका सेवाहरुसमेत दिँदै आएको छ।
कोषमा सरकार, राष्ट्रिय बिमा संस्थान, बैंक तथा वित्तीय संस्थाहरु, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज र सर्वसाधारणको सेयर लगानी छ। कोषमा सरकारको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी छ।

No comments:

Post a Comment

thanks for comment